|

म्याग्दी :  अहिले विश्वभरका मानिसहरू  हतास र निराश मनस्थितिमा छन्। तर,प्रकृति भने प्रफुल्लित छ। उदात्त हाँसो हाँसिरहे जस्तो लाग्छ प्रकृति यतिबेला।

तर मानिसले प्रकृतिको यो सुन्दरतालाई हेर्न र आनन्दको अनुभूति गर्न पाएको छैन। प्रकृतिमा सुन्दरताको चाङ लागेको छ। मानिस भने कोरोनाको ह्याङले अतास्सिईरहेको छ। अत्यन्त चित्ताकर्षक सुन्दरता छाएको छ यतिबेला मुस्ताङमा। विविधता र सौन्दर्यताले युक्त हिमालपारीको जिल्ला मुस्ताङको इतिहास प्रकृति र धार्मिक सम्पदाहरुको मिश्रणले सिंगारिएको छ।

प्राचिन कालमा नुन र ऊनको ठाउँ भनेर चिनिने मुस्ताङ अहिले प्राकृतिक सुन्दरता र धार्मिक विश्वासका कारण सुनफल्ने ठाउँको रुपमा विकसित भएको छ। प्राचिन समयको एक कालखण्डमा  तिव्बतीहरुले शासन गरेको मानिने मुस्ताङको अहिले कायापलट भएको छ। खम्पा विद्रोहदेखि लिएर अहिले चीन र भारतको रणनीतिक दाउपेचको माध्यम बनेको मुस्ताङ सुन्दर प्रकृति र विविधतायुक्त धार्मिक सम्पदाकै कारण विश्वभर चर्चामा छ।

मुस्ताङ प्रकृतिको सुन्दर रचना हो। प्रकृतिको यही सुन्दर रचनामा धार्मिक सम्पदाहरुको मिश्रण भएपछि पर्यटन व्यवसाय फस्टाउँदै गएको हो। प्राकृतिक दृश्यावलोकन र तीर्थस्थल दर्शनका लागि मुस्ताङमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्छन्।यस अर्थमा मुस्ताङ प्रकृति र अध्यात्मको फ्यूजन रुप हो।

प्राकृतिक तथा धार्मिक दृष्टिकोणबाट निकै महत्वपूर्ण स्थलका रूपमा रहेको मुस्ताङ दुई उच्च हिमश्रृङ्खला धौलागिरि र नीलगिरी हिमालको बीचमा अवस्थित छ।लामो समय तिब्बतीहरूको शासन रहेको मानिने मुस्ताङमा रीतिरिवाज र धार्मिक संस्कृतिहरू तिब्बतिसंग मिल्दोजुल्दो छ। समयअनुसार फरक स्वरूपमा देखिने मुस्ताङमा माथिल्लो भागहरूमा हिउँ पर्न सुरु गर्दा तल्लो भूभागमा जाडो सुरु भइसकेको हुन्छ ।

मुस्ताङ नेपाल र तिब्बतमा परापूर्वकालमा व्यापारिक नाकाका रूपमा रहेको थियो। अन्नपूर्ण हिमशृंखलाको उत्तरमा पर्ने भएकाले मुस्ताङमा अन्य ठाउँको तुलनामा कम वर्षा हुने गरेको छ।

थुम्का थुम्कामा देउताको वास छ

मुस्ताङको प्रकृति संसारलाई नै लोभ्याउने खालको छ। थुम्का थुम्कामा देवता भेटिने, ढुङ्गा चढाए पाप मेटिने, पानीलाई छोएमात्रै पनि तीर्खा मेटिने संसारमा कुनै ठाउँ छ भने त्यो ठाउँ मुस्ताङनै भएको धार्मिक अनुसन्धाताहरुले बताएका छन्।

मुस्ताङको जल,जमिन र जंगल तिनै चीज मानिसहरुका लागि अत्यन्त उपयोगि भएका मुस्ताङलाई राम्रोसंग चिनेका पं रंगराज शास्त्रीले बताए। थाक समुदायको उदगम स्थलका रूपमा रहेको मुस्ताङको वर्णन सबैले आ–आफ्नो तरिकाले गर्न सक्छन्। हिन्दुहरूको पवित्र स्थलका रूपमा रहेको मुक्तिनाथदेखि प्रसिद्ध दामोदर कुण्ड, कागबेनीलगायतका स्थानहरूको विशेष महत्व छ।यहाँको प्रकृतिले नलोभ्याउने संसारका कुनै पनि पर्यटक नभएका मुस्ताङका नरप्रसाद तुलाचनले बताए।

विविधतामय भूगोल,सेता र शुभ्र हिमश्रृङखला,कलकल बगेको कालीगण्डकी,भेडा,च्याङ्ग्रा,चौंरीगाई र याकको बथान,लहरै लागेर उकाली ओराली चढ्दै र झर्दै गरेका पर्यटकको ताँती,खच्चड र घोडाको बथान,तल्लो भेगमा स्याउ,उवा, साग र आलुको आग्र्यानिक खेती, गुम्वा,पहाडमा खोपिए जस्ता देखिने ओढार आदिले पर्यटकको मन खिच्न सफल भएका स्थानीय व्यवसायी धनवहादुर गौचनले बताए।

आधुनिकता र परम्पराको फ्यूजन

मुस्ताङ अव आधुनिकतातर्फ उन्मूख भैरहेको छ। माटोका घरहरु विस्थापित हुने क्रममा छन्। कंक्रिटका ठूल्ठूला भवनहरु ठडिएका छन्। मुस्ताङीहरुको आर्थिक स्थिति अव काठमाण्डौं,पोखरा लगाएतका ठूला सहरका प्रख्यात व्यापारी व्यावसायीहरुको भन्दा कम छैन। तरपनि मुस्ताङीहरुले आफ्नो परम्परागत संस्कृतिलाई अझैसम्म पनि उस्तै गरी संरक्षण गरेका छन्।

मुस्ताङको उत्तरी भेग तिब्बतियन संस्कृतिबाट प्रभावित छ भने दक्षिणी भेगमा छिमेकी जिल्लाको पनि केही प्रभाव परेको छ। बौद्ध धर्म बढी मान्ने हुनाले घ्याङ र गुम्बामा पूजाआजा गर्ने लामा, झुमा बस्ने परम्परा कायमै छ। छोर्तेन, माने निर्माण गर्ने चलन पनि रहेको छ। घरको र गाउँको रक्षार्थ मूल ढोकामा याक, भेडाको टाउको झुन्ड्याउने, गाउँको वरपर ढुंगाको धार्मिक ग्रन्थका मन्त्रहरू लेख्ने, परम्परागत माने निर्माण गर्ने र हिँड्दाखेरि मानेलाई दाहिने पारेर हिँड्ने चलन रहेको छ।

जिल्लामा बौद्धमार्गीहरू पनि प्रशस्त भएकाले बौद्ध धर्मअनुसार प्रत्येक बौद्ध धर्मावलम्बीहरूले आफ्नो परिवारको माहिलो छोरोलाई लामा र माइली छोरीलाई झुमाका रूपमा गुम्बामा चढाउनुपर्ने अनिवार्य प्रावधान रहेको छ। तर, पछिल्लो समय अनिवार्य प्रावधान स्वैच्छिकजस्तै बन्न पुगेको छ। जसका लागि हजारौं श्रद्धालुहरू लामो यात्रा तय गर्दै मुस्ताङ पुग्ने गर्छन्। सांस्कृतिक पहिचानमा अब्बल रहेको मुस्ताङको छिनछिनमै हुने प्रकृतिको परिवर्तित रूप निकै लोभलाग्दो रहने गरेको छ।

यसरी रह्यो नामः मुस्ताङ

मुस्ताङलाई तिब्बतको एक भागका रूपमा उभ्याइने गरेको जनविश्वास अहिले पनि रहेको छ। मुस्ताङ जिल्लाको नामनै तिब्बती भाषाबाट भएकाले पनि जनविश्वासलाई आधार मान्न सकिन्छ। तिब्बतियन भाषामा मन भनेको औषधि र थाङ भनेको चौरबाट ‘मनथाङ’ औषधि पाउने चौरका रूपमा यसको नाम विस्तार भएको र बिस्तारै ‘मनथाङ’ बाट अपभ्रंश हुँदै मुस्ताङ भएको विश्वास गरिन्छ।

जहाँ पाइन्छन् संजिबनी बुटी

मुस्ताङ धार्मिक र पर्यटकीय दृष्टिकोणले मात्रै होइन आर्युवेदिक महत्वले पनि निकै सम्भावना रहेको जिल्ला हो। यहाँका पाटनहरुमा बहुमूल्य जडिबुटीहरु पाइने र ती जडिबुटी औषधीय गुणले युक्त रहेका मुस्ताङ भ्रमणमा आएका आयुर्वेदिक चिकित्साका ज्ञाता डा. भूषणराज गौतमले बताए।

औषधिका लागि अझै पनि मुस्ताङको अधिकांश स्थान चर्चित छन्। विश्मा नै मूल्यवान् मानिने च्याउदेखि ठूला–ठूला पाटनमा यार्सागुम्बा सम्म खोजविहीन गर्ने मानिसहरू अझै पनि लाग्ने गरेका स्थानीय तीर्थ शेरचनले बताए।

यहाँका जडिबुटीमा मात्रै होइन खाद्यान्नमा समेत औषधीय गुण रहेको जानकारहरु बताउँछन्। फापर,मुस्ताङी रायोको साग,आलु,ओखर,जौ लगाएतका चिजहरु आर्युवेदिक दृष्टिकोणले समेत निकै महत्वपूर्ण रहेका डा. गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.