|

मुगु : कोराना भाइरस कोभिड १९ रोकथाम,नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि यसको असर यार्सा संकलनमा पनि परेको छ।

प्रत्येक वर्ष वैशाख महिनाबाट यहाँका विभिन्न पाटन क्षेत्रहरुमा पाइने यार्सागुम्बा संकलन गरिने भए पनि यो वर्ष कारेना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थानीय सरकारले यार्सागुम्बा संकलन,पाटन तथा वनक्षेत्रमा प्रवेश निषेध गरेको छ।

मुगु जिल्लाका चारवटा स्थानीय तहमध्ये मुगुम कार्मारोङ्ग गाउँपालिकाका वडा १, २ र ७ नम्बर  वडाका २ दर्जन बढी पाटन क्षेत्रहरूमा यार्सागुम्बा पाइने गर्थ्यो।  यो वर्ष संकलनमा गाउँपालिकाले रोक लगाएकोले संकलक तथा खरिदकर्ताहरू गाउँपालिकामा नआउन भन्दै शुक्रबार गाउँपालिकाले सूचना सार्वजनिक गरेको हो।

यार्सागुम्बा संकलन गर्न खरिद गर्न देशभित्रका विभिन्न जिल्लाहरु र छिमेकी भारत तथा चीनको तिब्बत क्षेत्रबाट संकलन तथा खरिदकर्ताहरु हजारौँको संख्यामा गाउँपालिका क्षेत्रमा आउने गर्थे।

सरकारले ठूला जमघट भेला नगर्न  दिएको आदेश स्वीकार गर्दै यो  वर्ष गाउँपालिकाले यार्सागुम्वा संकलनमा रोक लगाइएको मुगुम कार्मारोङ्ग  गाँउपालिकाका निमित्ति प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए।

घर खर्चको चिन्ता

यो वर्ष यार्सा संकलन गर्न नपाइने भएपछि यार्सा संकलनबाटै वर्षभरको खर्च जोहो गदै आएका यहाँका स्थानीय चिन्तित छन्। छायाँनाथ रारा नगरपालिका वडा नं १० तल्लेखका अंकबहादुर बुढा आफ्ना गाउँमा मात्र बर्सेनि ८० देखि ९० लाख यार्सा विक्रीबाटै गाउँलेहरुले आम्दानी गर्थे।

एकजनाले कम्तीमा ३ लाखसम्म कमाएर ल्याउथे। 'कोरोनाले यार्सा टिप्न पनि रोकियो विकास निमार्णका काम पनि शुरु भएका छैनन्।  यो वर्ष गाउँमा भोकमरी हुने भयो' उनले चिन्ता व्‍यक्त गरे।

केजीको ४० लाखसम्म

एउटा यार्साको प्रतिपिसको १ हजारसम्म पर्ने र एक केजी यार्साको ४० लाखसम्म मूल्‍य पर्छ। यार्सालाई ए, बी र सी ग्रेडिङ गरेर व्यापारीहरुले संकलकहरुबाट यार्सा खरिद गर्ने गर्दछन्। 'ए' को १०००, बी को ५०० र सी गुणस्तरको एउटा बुटीको ३०० सम्म मूल्य पर्ने गरेको छ।

एक केजी 'ए' गुणस्तरको यार्सा पुग्न ३७०० बुटी पुग्नुपर्छ भने केजीको ३८ देखि ४० लाखसम्म व्यापारीहरुले दिने गरेका छन्।

मुगुका जनता मात्र होइन यार्सा संकलन गर्न छिमेकी जिल्लाहरु जुम्ला, हुम्ला, कालीकोट, बाजुरालगायत देशभरबाट वर्षेनी २० हजार बढी सर्वसाधरणहरु मुगु आउने गदर्थे।

गाउँपालिकाले पाटन प्रवेश शुल्कबापत संकलकहरुबाट लाखौँ स्थानीय राजस्‍व उठाउने गर्थ्यो। कोरोनाको असरले सर्वसाधारणहरुको रोजीरोटी, वर्षभरको आम्दानी, खर्च र गाउँपालिकाको आम्दानी यो वर्ष रोकिने भएको छ।

एक करोड बढीको राजस्व

गत वर्ष यार्सा संकलन गर्न मुगुमा २० हजार बढी संकलकहरु पाटन क्षेत्रमा प्रवेश गरेका थिए। जहाँ १ करोडभन्दा बढी स्थानीय राजस्‍व आम्दानी गरेको गाउँपालिकाले जनाएको छ।

यसरी संकलकहरुले संकलन गरेका यार्सागुम्बा केही पाटनमै पुगेका व्यापारीहरुलाई बिक्री गर्थे। केही संकलन र व्यापारी साउन महिनामा मुगु र चीनको सिमानाभन्दा पर चीनको ह्याजिमारमा लाग्ने १ महिने हाटबजारमा चिनियाँ व्यापारीहरुलाई बिक्री गर्दथे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.