|

म्याग्दी :  म्याग्दीका एक व्यक्तिले गाउँमा व्यावसायिक रुपमा बाख्रा पालन गरेर वार्षिक १५ लाख रुपैयाँ कमाइ गर्दै आएका छन्। २१ वर्षसम्म काठमाडौंको एक निजी कम्पनीमा काम गरेका बेनी नगरपालिका-९ तोरीपानीका आनन्द रिजालले जागिर त्यागेर व्यावसायिक बाख्रापालन सुरु गरेपछि अहिले वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका हुन्।

काठमाडौंको शर्मा एण्ड कम्पनीमा सुपरभाइजर पदमा कार्यरत रिजालले २०७० सालमा जागिर छाडेपछि ०७१ सालबाट बाख्रापालन सुरु गरेका थिए।

सुरुमा ८ वटा स्थानीय जातका बाख्राबाट व्यवसाय सुरु   गरेका रिजालले व्यावसायिक रुप दिएपछि अहिले ७२ वटा बाख्रा पालेको बताए। उनले आधुनिक खोर निर्माण गरी बोयर (उन्नत) जातका बाख्रा पालन गरेका छन्।

धौलागिरि व्यावसायिक बाख्रापालन बोयर मोडेल फर्म नै दर्ता गरी व्यवसाय सुरु गरेका रिजालको खोरमा हाल सबै उन्नत जातका बाख्रा छन्।

रिजालले चालु आर्थिक वर्षको माघ महिनासम्म बाख्रा बिक्री गरेर साढे १५ लाख रुपैयाँ आम्दानी गरेको बताए।

 कृषक रिजालले बोयर जातको एउटा बोकाको मूल्य न्यूनतम १८ हजारदेखि तीनलाख रुपैयाँसम्म पर्ने जानकारी दिए। बोयर जातको बाख्रा पालेका उनले अहिलेसम्म बोयरको एउटा बोकालाई तीनलाख रुपैयाँमा बिक्री गरेको बताउँदै उक्त बोको ९६ केजीको रहेको सुनाए।

निजी कम्पनीमा कति काम गर्ने भन्दै जागिर छाडेर व्यावसायिक बाख्रापालनमा लागेका कृषक रिजालको गोठमा देशका विभिन्न जिल्लाहरुबाट व्यापारीहरु बाख्रा खरिद गर्न आउने गरेका छन्।

व्यावसायिक बाख्रापालनको थालनी गरेका रिजालले बाख्राको घाँसका लागि ३६ रोपनीको जग्गामा घाँस खेती लगाएका छन्। उनले खेतबारीमा खन्यु, रायखन्यु, निमारो, चुलेत्रो, दुधिलो, टाँकी, बेडुलो, सुपरनेपियर र सेतरिया जातको डालेघाँसका विरुवा लगाएका छन्।

बाख्रापालन व्यवसायमा सक्रिय रिजाल सामाजिक क्षेत्रमा पनि क्रियाशील छन्। जिल्ला बाख्रापालन व्यवसायी संघका उपाध्यक्ष रहेका रिजाल स्थानीय भूमे आधारभूत विद्यालय काफलबोटको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र निलोपहरा सामुदायिक वन समूहका सदस्यसमेत हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.