|

म्याग्दी : कुनै समय गाउँघर, सहर–बजारमा बाक्लै देखिने सहकालका प्रतीक परेवा र गौथली अहिले गाउँघरमा समेत देखिन छाडेका छन्। घरका दलिन, छानालगायत सुरक्षित स्थानमा आकर्षक गुँड बनाएर बस्ने गौथली र घरका कुनामा गञ्ज बनाएर राखिने परेवाका ‘चिरिबिर’ र ‘माकुरकुर’ अब इतिहासजस्तै बनिसकेको छ। 

मानबस्तीको विस्तार, पक्की घरको निर्माण, चरनक्षेत्रको अभाव लगाएत विभिन्न कारण यिनीहरुले विस्तारै बासस्थान परिवर्तन गरेका वातावरणका अध्येता चन्द्रमणि सापकोटा बताउँछन्। ‘बासस्थान र चरणक्षेत्र प्रमुख कारण हो। भौतिक संरचना पनि परेवा र गौथलीमैत्री छैन’, सापकोटाले भने ।

धार्मिक र परम्परागत मान्यताअनुसार गौथली मार्दा पाप लाग्छ। तर पछिल्ला वर्ष औषधि हुने भन्दै घरेलु हतियार प्रयोग गरी यिनीहरुको सिकार गरिँदै छ। यसप्रति वातावरण संरक्षण अभियानमा लागेकाहरु चिन्तित बनेका छन्। 

म्याग्दी सदरमुकाम बेनीबजार, गलेश्वर, दरबाङ लगायत क्षेत्रमा एक दशक अघिसम्म घरैपिच्चे परेवा र गौथलीका बथान देखिन्थे। ‘पहिला पहिला गौँथलीले गुँड लगाएको घर र परेवा पालिएको घरमा अलच्छिन लाग्दैन, अनिकाल हुँदैन भन्थे,’ बेनी नगरपालिका २ का वातावरण संरक्षण अभियन्ता चन्द्रबहादुर कार्की भन्छन्, ‘अहिले ती कुरा मिथक बनिसकेका छन्, युवा पुस्ता विश्वासै गर्दैनन्।’

गौथलीलाई संरक्षण गर्ने र परेवा पाल्ने चलन अहिले हराउँदै गएको छ। कालो, खैरो र छिर्केमिर्के रङका साना गौँथलीले पर्यटकहरुलाई आकर्षित गरे पनि स्थानीयस्तरका मानिसमा भने यो ज्ञान नभएको वातावरण संरक्षण अभियन्ताहरु बताउने गर्छन्। 

प्राकृतिक चिकित्सालयको रुपमा ख्याति कमाएको बेनी नगरपालिका–४ तातोपानी कुण्डमा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक गौथलीप्रति आर्कषित हुन थालेपछि तातोपानी कुण्ड व्यवस्थापन समिति र होटल व्यवसायीहरुले गौथली जोगाऊँ अभियान थालेका छन्। 

‘विगतभन्दा कम देखिन थालेका छन्, हामीले गौथलीलाई संरक्षणका लागि आवश्यक क्षेत्रमा ध्यान दिएका छौ’, तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले भने। म्याग्दीका अन्य क्षेत्रको तुलनामा तातोपानीमा गौथली देखिने गरेका छन्। 

मानवकै लापरवाहीका कारण लोप हुन लागेको गौथलीलाई संरक्षणका लागि गुँड नजिक अर्को गुँड बनाउने, आवतजावन गर्ने मार्गमा कुनै अवरोध नगर्ने, घरमा किरा मार्ने विषादी प्रयोग नगर्ने, हिलो भएको ठाउँमा अन्य फोहोर नफाल्ने गरेमा संरक्षण गर्न सकिने म्याग्दीका वातावरणविद् सापकोटा बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.