द्यःयात सिन्हाँ स्वाँ
मयेजु यात ह्याँगु स्वाँ
भाजु यात गुनकेरा स्वाँ
मृगुराम श्रेष्ठको स्वर र हरिबहादुर रञ्जितको लय र लेखन रहेको उल्लेखित चर्चित नेवारी गीतले फूलको महत्वलाई झल्काउँछ। गीतले देवतालाई नारायणपाती फूल चढाउने, राम्री युवतीलाई रातो गुलाफ दिने र ज्वाईंलाई गुनकेरा अर्थात गुनकेशरी फूल भन्ने भाव प्रस्तुत गरेको छ।
नेपाली कला संस्कृतिमा फूलको आफ्नै महत्व र विशेषता रहेको छ। तिहारमा लक्ष्मी पुजा गर्न सयपत्री र कमल, भाईटिका गर्न मखमली र गोदावरी फूल नभई नहुने परम्परा रहेको छ। दुवोलाई पनि नेपाली संस्कृतिमा फूल नै मानिन्छ। विवाहमा दुवोको माला अनिवार्य छ। स्वस्थानीको व्रतको लागि वेलीपुष्प चाहिन्छ। महादेवलाई वेलपत्र चढाइन्छ। नेवारी संस्कृति अनुसार बिवाहमा दुलाहाले अनिर्वायरुपमा ‘गुनकेरा स्वाँ’ सिउरिनु पर्ने प्रचलन रहेको छ।
त्यसैगरी नेवारी संस्कृतिमा विशिष्ठ स्थान बोकेको अर्को फूल हो ‘मुस्वाँ’। यो एक बासनादार फूल हो। बैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीयादेखी सुरू हुने नेवार समूदायको दिगुपुजा अर्थात कुलपुजामा नभई नहुने फूल हो ‘मुस्वाँ’। भक्तपुरका केही समुहले भने बैशाख ३ गते दिगुपुजा गर्ने चलन छ।
‘यो मुःस्वाँ आउँदो सिठीनखाःसम्म राख्नुपर्छ, सल्लाघारीस्थित बारीमा मुःस्वाँ गोडमेल गर्दै गरेका एक कृषकले भने। अक्षय तृतीया पछिको पहिलो आइतवार वा बिहिवारलाई भक्तपुरका नेवारी समुदायले तःदिँ अर्थात ठूलो दिनकोरुपमा दिगुपुजा गर्ने प्रचलन रहेको छ। यस अनुसार यसवर्ष बैशाख १८ गते तःदिँ परेको छ।
‘बैशाखको ३ गतेदेखि दिगुपुजा सुरु भैसक्यो, अब अक्षय तृतियादेखि झन् दिगुपुजा गर्नेको लर्को लाग्छ। दिगुपुजाको लागि मुःस्वा नभई नहुने भएकाले यसलाई तयार गर्न गोडमेल गरी पानी दिएको,' उनले भने।
तर यसवर्ष कोरोना भाइरसका कारण दिगुपुजा अनिश्चित भएपछि कृषकलाई मुस्वाँ जोगाउने चिन्ता परेको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि सरकारले लकडाउन जारी गरेपछि सर्वसाधारण घरभित्रै बस्न बाध्य छन। यस्तो अवस्थामा दिगुपुजा सहज तरिकाले गर्न सम्भव छैन। भक्तपुर नगरपालिकाले पनि दिगुपुजा उपयुक्त समयमा गर्न आग्रह गरेको छ। यस्तो अवस्थामा बैशाख १८ गते बिहिवार भक्तपुरका नेवार समूदायले दिगुपुजा गर्ने स्थिती नभएको स्थानीयको भनाई छ।
नेवार समुदायमै सीमित कृषकहरुले मात्र मुस्वाँको खेती गर्दछन भने भक्तपुर नगरका सीमित स्थानमा मात्र मुस्वाँ पाइन्छ। यो खेती अर्थाेपाजन भन्दा पनि धर्मप्रतिको आस्थाले गर्ने फूल खेती हो। दिगुपुजामा दिगुद्यः (कुलदेवता)लाई दिगुद्यःको पिठमा लैजाँदा मुस्वाँ बिच्छ्याएर त्यसमाथी देवता राखेर लैजाने प्रचलन रहेको छ।
कुलदेवतालाई चढाउने प्रमुख फूल भएकै कारण यसलाई मुस्वाँ अर्थात मुख्य फूल भनिएको संस्कृतिविदहरु बताउँछन। मुस्वाँ घरमा रोप्न नहुने परम्परा रहेको छ। घरमा मुःस्वाँ रोपे घरपरिवारलाई नराम्रो हुने, अपशकुन हुने जनविश्वास रहेको छ।
कुलदेवता विशेषगरी नगरबाहिर कुल र नगरको रक्षाको लागि राखिने भएकाले कुलदेवताको प्रिय फूल मुस्वाँ पनि घरबाहिर खेतमा रोप्ने प्रचलन रहेको संस्कृतिविद एवम् ईतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताए। ‘कुलदेवता भनेको नगरबाहिर हुन्छ, त्यसैले मुस्वाँ पनि घर बाहिर बारीमा रोप्ने गरिन्छ, कुलदेवता नगरबाहिर राखिनुको एउटै मात्र उद्देश्य छ, त्यो हो देशमा सुखशान्ति होस, सहकाल आओस, सबैको भलो होस भन्ने अर्थ लाग्छ,’ उनले भने।
नेवार समुदायमा दिगुपुजामा चढाएको मुस्वाँ प्रसादकोरुपमा झिकेर राखी धानको बीऊ छर्ने बेला व्याडमा राख्ने प्रचलन पनि रहेको छ। यसो गर्दा धान उत्पादन बृद्धि हुने, फसल राम्रो लाग्ने विश्वास रहेको छ। मुस्वाँ सत्यनारायणको पुजा, अष्ट महालक्ष्मीको पुजा, सगुन जात्रामा पनि देवीदेवतालाई चढाइन्छ।
मुस्वाँले नेवार संस्कृतिको पहिचान बाकेको संस्कृतिविद एवम् इतिहासविद् प्रा. डा. श्रेष्ठले बताए। कुलदेवतासँग जोडिएको फूल भएकाले मुस्वाँले धार्मिक र सांस्कृतिक महत्व बोकेको उनको भनाई छ।
अर्का संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले मुस्वाँलाई मारुट पुष्पका रुपमा लिन सकिने बताए। विशेषगरी मुस्वाँ वायुतत्वसँग सम्बन्धित र कुलपुजामा बासन्तीका देवीको आव्हान गर्न मुस्वाँ चढाउने गरेको उनले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।