भाषणभन्दा काम गरेरै विश्‍वास जित्‍ने दाबी

|
आफूले लगाएको तरकारीबारी देखाउँदै वडा अध्यक्ष कविराज आचार्य

नवलपरासी : उमेरले ३७ वर्ष, जिम्मेवारी एक वडा अध्यक्षको हैसियतमा आम नागरिकको सेवा। फुर्तिलो युवा जोस समाज सेवामै समर्पित गर्दै समाज रूपान्तरणका लागि निरन्तर खटाइसँगै आत्मनिर्भरताका लागि कृषिकर्म उनको रोजाइको क्षेत्र बनेको छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको समयमा वडाभित्रका हरेक नागरिकको चुलो बाल्न र आम नागरिकका गुनासो सुन्दै त्यसको समाधानमा तल्लीन छन्। समय निकालेर आफ्नै मिहिनेतले लहरिएका काँक्रा, घिरौँला, टमाटर लगायतका तरकारी टिप्दै रमाउन पनि भ्याएकै छन्।

उनी हुन् पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कविराज आचार्य। उनीसँगैका साथीहरू अहिले कोही वैदेशिक रोजगारमा छन्, कोही आफ्नै व्यवसायमा त कोहि सरकारी जागिरमा छन्। तर, आचार्यले भने समाजसेवामा समर्पित हुनमै आफ्नो खुसी ठाने।

आचार्यले आफूले प्रतिनिधित्व गरेको वडाका नागरिकको जीवनस्तर अन्य वडाको भन्दा कम छ। अधिकांश दलित बस्ती भएकोले पनि हरेक हिसाबले पछाडि रहेका दलित समुदायलाई अग्रपंक्तिमा ल्याउनुपर्ने मुख्य चुनौती उनीसँग छ।

आत्मनिर्भर बन्‍न केही न केही गर्नैपर्छ

वडावासीको जीवनस्तर उकास्‍नका लागि समय समयमा सीपमूलक तालिम विभिन्‍न विकास निर्माणका योजनाहरू सञ्‍चालन त भएकै छन्। तर, गरिबीको रेखामुनि रहेकाहरूलाई उकास्दै सामाजिक रूपमा समेत रूपान्तरण गर्न सके मात्र आफूले वडाको प्रतिनिधित्व गरेको सार्थक हुने उनी बताउँछन्।

सरकारीस्तरबाट आएका सहयोग र योजनाले मात्र व्यक्तिको जीवनस्तर उकास्‍न नसक्ने भएकोले आफ्नो तर्फबाट आत्मनिभर बन्‍नका लागि केही न केही गर्नैपर्ने उनको बुझाइ छ। वडा नम्बर ८ मा अधिकांश भूमि कृषियोग्य रहेको र समृद्धि प्राप्तिका लाग कृषि क्रान्ति नै मुख्य आधार भएको भन्दै वडालाई पनि कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उनको सपना छ।

आचार्य भन्छन्, 'अरूलाई यसो गर्नुस् उसो गर्नुस् भनेर भन्‍नुभन्दा पनि आफैँले काम गरेर देखाए अरूले बल्ल विश्वास गर्ने वातावरण बन्‍छ। मेरो स्वभाव बोलेरभन्दा काम गरेरै देखाउने खालको छ अहिले मैले तरकारी खेती सुरु गरेसँगै अन्यले पनि विस्तारै यसमा रुचि देखाउन थालेका छन्। जुन मेरा लागि खुसीको कुरा हो।'

तरकारी खेतीमा रमाउँदै युवा

आचार्यले सुरु गरेको तरकारी खेतीमा खट्ने उनी मात्र एक्ला भने छैनन्। उनलाई साथ दिन उत्तिकै सक्रिय भएर लागेका छन्,अरू चार युवा। होटल व्यवसाय गरेका गोविन्द आचार्य, शिक्षण पेसामा रहेका तिलक आचार्य, व्‍यवसायी राजु अर्याल र ध्रुव पाण्डे वडा अध्यक्ष आचार्यसँगै तरकारी खेतीमा होमिएका छन्।

उनीहरू आफूहरूले गरिरहेको पेसा व्यवसाय सँगसँगै तरकारी खेतीतर्फ आकर्षित भएका हुन्। अहिले उनीहरू आफूले गरिरहेको पेसा व्यवसायभन्दा फरक अनुभव संगालिरहेका छन्। अहिले लकडाउनका कारण अन्य क्षेत्रमा कुनै काम नभएको समयमा कृषि कर्ममा खट्नका लागि भने उनीहरूलाई मौका मिलेको छ। वडा नम्बर ८ को सूर्यपुरा भानुनगरमा झण्डै साढे २ बिघा क्षेत्रफल जग्गामा उनीहरूले सामूहिक रूपमा तरकारी खेती सुरु गरेका हुन्।

अहिले पहिलोपटक टमाटर, काँक्रो, मुला, सिमी, बोडी, भिण्डी , फर्सी, घिरौँला, करेला, खरभुजा, आलु, भान्टा लगायतका तरकारी लगाएका छन्। आफूहरूले विषादिरहित तरकारी उत्पादनमा जोड दिएको र सुरुवाती चरणमा भएकोले पनि सोचेजति राम्रो नभए पनि अहिलेको उतपादन निराश भइहाल्नुपर्ने अवस्था नरहेको गोविन्दले बताए।
'अर्गानिक बनाउनका लागि विषादी प्रयोग नगर्दा केही समस्या त छ नै हामी प्रांगारिक पद्धतिबाटै उत्पादनमा खट्नेछौँ जसले आम उपभोक्ताले स्वस्थकर तरकारी उपभोग गर्न पाउनेछन्', गोविन्दले भने।

खेतमा तयार भएका काँक्रा घिरौँला, भिण्डी, मुला, टमाटर र करेला टिपेर उपभोक्ताको घर-घरमा लैजान व्यस्त तिलकले उत्पादित तरकारीलाई अहिले बजारको अभाव नभएको बताए। तर, अहिले लकडाउनको समयमा पनि भारतबाट आउने तरकारीसँग मूल्यमा प्रतिस्पर्धा गर्न भने समस्या हुनेगरेको उनी बताउँछन्।

'अहिले कतिपय उपभोक्ता सचेत भइसक्नुभएको छ जसले अर्गानिक रूपमा उत्पादन भएको तरकारी केही महँगो परे पनि खरिद गर्ने गर्छन् भने कतिपयले सस्तो हुने वहानामा विषादियुक्त तरकारीनै उपभोग गर्ने गर्छन्', तिलकले भने।

विषादी प्रयोग गरेका तरकारी देख्दा सर्लक्क परेका हुने तर अर्गानिकरूपमा उत्पादन भएका तरकारी खासै राम्रो नदेखिने भएकोले पनि कतिपयले खरिद गर्न नमान्‍ने गरेको अनुभव पनि तिलकसँग छ। पछिल्लो समय उपभोक्ताहरू पनि आफ्नो स्वास्थ्यको विषयमा गम्भीर हुँदै गएकोले पनि विषादीरहित तरकारी खोज्‍ने क्रम भने बढ्दै गएको उनले बताए।

नगरभित्रै कोल्ड स्टोरको आस

लामो समयदेखि व्यवसाय गर्दै आइरहेका राजु अर्याल पनि अहिले कम्मर कसेरै तरकारी खेतमै पसिना बगाइरहेका छन्। उनी भन्छन्, 'स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि नगरभित्र एउटा कोल्ड स्टोर बनाउन सके र तरकारी बजारको व्यवस्थापन गर्न सके किसानहरूलाई सहज हुने थियो।'

अहिले कोरोना भाइरसको संक्रमण फैलन सक्ने उच्च जोखिम भएकोले पनि तरकारी खेतमा काम गर्दा पनि सामाजिक दूरी कायम गर्ने र आवश्यक सुरक्षाका उपाय अवलम्बन गर्ने गरेको अर्यालले बताए।

गाउँमा तरकारीको उत्पादन बढाउन सके बाहिरका व्यापारी खेतमै आएर खरिद गर्ने भए पनि अहिले उत्पादन कम भएकोले आफैँहरूले बजार खोज्दै बिक्री गर्नुपर्ने अवस्था रहेको अर्यालको भनाइ छ।

खेती विस्तार गर्ने योजनामा वडा अध्यक्ष

वडा अध्यक्ष आचार्य आगामी दिनमा अझै बढी क्षेत्रफलमा तरकारी खेती विस्तार गर्ने योजनामा रहेका छन्। सम्बन्धित निकायबाट कम्तीमा ५० प्रतिशत अनुदान पाए २५ देखि ३० लाख लगानी गरी पूर्णरूपमा स्थायी टनेल निर्माण गरी थोपा सिँचाइ प्रविधि प्रयोग गरी तरकारी उत्पादनमा खट्न सकिने उनले बताएका छन्।

अहिले किसानहरूलाई तालिमको पनि उत्तिकै आवश्यकता छ। सरकारीस्तरबाट यस्ता तालिमको व्यवस्था भए व्‍यावसायिक कृषिमा लाग्‍नेको संख्यामा वृद्धि हुने र वैदेशिक रोजगारमा जानेको संख्यामा कमी आउने उनको बुझाइ छ।

हातमा काँका बोकेर जम्मा गर्दै वडा अध्यक्ष आचार्य

वडा नम्बर ८ मा सिँचाइको लागि समस्या रहेकोले वडाको बजेटले नभेट्ने भएकोले नगर र प्रदेशबाट सिँचाइको योजना परेमा सहज हुनेसमेत अध्यक्ष आचार्यले बताए। वडा नम्बर ८ का हरेक नागरिकलाई कुनै न कुनै प्रकारको कृषि कर्ममा जोडेर सबैको जीवनस्तर उकास्‍नका लागि आफू प्रयत्‍नशील रहेको उनले बताए।

'म जनताको प्रतिनिधि तथा सेवक हो, त्यसैले पनि मेरो पहिलो प्राथमिकता आफ्ना जनतालाई आत्मनिर्भर बनाउनु हो। म भाषण र बोलीमा भन्दा काममा खटिए मात्र परिणाम निस्कने कुरामा म विस्वास गरेर आफैँ तरकारी खेतीमा हुमिएको छु', उनले भने, 'अब वडावासीलाई पनि आवश्यक सहयोग गर्दै उत्पादनको क्षेत्रमा जोडेर अगाडि बढ्नेछु।'

काम गरेर कोही सानो हुँदैन अरूलाई अह्राउनेले आफैँले पनि गरेर देखाउनुपर्छ भन्‍ने बुझाइ छ उनको। 'म पहिला आफू कृषि क्षेत्रमा लागेँ। अब मेरो सफलतासँगै सबै वडावासीहरू पनि सँगसँगै यस क्षेत्रमा जोडिनेछन् र केही वर्षमै बर्दघाट नगरपालिकाको वडा नम्बर ८ कृषि गाउँको रूपमा चिनिनेछ', उनले भने।
तराईको माटो यसै पनि मलिलो हुने र उत्पादन अधिक हुने भएकोले बाँझो जग्गालाई पनि खनखोत गरेर उत्पादनमा लाग्‍न उनले सबैलाई आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.