|

सिन्धुली : निर्माणधीन पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा लिइएको मदन भण्डारी लोकमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा) आयोजनाको निर्माण कार्य फेरि सुरु भएको छ। 

फैलँदो कोरोना भाइरस संक्रमणबाट सावधानी अपनाउँदै निर्माणको काम फेरि थालिएको हो। सडक निर्माण कार्य लकडाउनका कारण केही समयअघि रोकिएको थियो। हाल पूर्वीखण्डअन्तर्गत सिन्धुली जिल्लाभित्र मात्रै सडक निर्माणको काम सुरु भएको आयोजना पूर्वीखण्डका इन्जिनियर मनिष पोख्रेलले जानकारी दिए।

वर्षायामका कारण हुने क्षति कम गर्न भए पनि थालिएको उनले बताए। ‘गत चैत ११ गतेदेखि रोकिएको काम दुई दिनअघि देखि मात्रै सुरु गरेका छौं,’ उनले भने, ‘सानो स्केलमा श्रमिकहरु खटाएर काम सुरु गरेका छौं।’

लकडाउनका कारण निर्माण सामग्री र कामदारको भने अभावमा भएको पोख्रलले बताए। ‘सिमेन्ट, रडलगायत निर्माण सामाग्री पनि अभाव छ। श्रमिक पनि काम गर्न आउन मानेका छैनन्, करिब एक सय जना मात्रै कामदार छन्’, उनले बताए। पूर्वीखण्डमा सडकतर्फ ७५ र पुलतर्फ ९२ प्रतिशत काम सकिएको उनले जानकारी दिए। कोरोना भाइरसका कारण सम्झौता अवधिमा काम सम्पन्न हुन मस्किल रहेको उनले बताए। 

लोकमार्गको पूर्वी उदयपुर खण्डमा भने काम सुरु हुन सकेको छैन। सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुर जिल्लाका भित्री भागलाई लोकमार्गले जोड्छ। कुल २ सय ५० किलोमिटर भागलाई दुई खण्डमा विभाजन गरी निर्माण कार्य भइरहेको थियो। 

सिन्धुलीको भिमानदेखि हेटौंडा उपमहानगरपालिका–६ चौघडासम्म १ सय १५ किलोमिटर र उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानसम्म १ सय ३५ किलोमिटरलाई पूर्वीखण्डमा बाँडेर काम भइरहेको थियो। आयोजनाको पश्चिमी खण्डमा भने केही दिनपछि मात्रै काम सुरु हुने पश्चिमी खण्डका इन्जिनियर गागल भण्डारीले जानकारी दिए।

‘पश्चिम खण्डमा काम सुरु गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट पास भर्खर प्राप्त भएको छ। अबको केही दिनमा काम सुरु हुन्छ। अहिले बागमती नदीको पुल निर्माणको मात्रै काम भइरहेको छ,’ भण्डारीले बताए।  

भण्डारीका अनुसार पश्चिम खण्डमा करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ। पश्चिम खण्डमा ३४ वटा पुलमध्ये २८ वटा निर्माण सम्पन्न भएका र बाँकी निर्माणको चरणमा रहेका उनले बताए। 

०७३ कात्तिकमा सम्झौता भई निर्माण सुरु गरिएको उक्त लोकमार्ग ०७७ भदौमा सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको छ । तर देश नै लकडाउन भएपछि समयमा सक्न मुस्किल देखिएको आयोजनाले बताएको हो। लोकमार्ग निर्माणको जिम्मा पूर्वीखण्डतर्फ जेट आइइसी शर्मा एन्ड लामा जेभी र पश्चिम खण्डतर्फ कालिका, स्वच्छन्द, राकेन जेभीले लिएका छन् । 

पहिलो लेयर ११ मिटर चौडाइ र दोस्रो लेयरमा त्यसमाथि ७ मिटर चौडाइमा कालोपत्रे गरिने आयोजनाले जनाएको छ । उक्त लोकमार्गको चौडाइ ३० मिटर रहनेछ । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.