एक दशकमा एक अर्ब १० करोड क्षति

|

ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीबाट सातवटा घर जलेको छ। करिब १० बजेदेखि सुरु भएको आगलागीबाट सातवटा घरमा रहेका ११ वटा पसल जलेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए। क्षति विस्तृत विवरण आउन बाँकी रहेको छ। 

आगलागी करिब १२ बजेदेखि आगो नियन्त्रणमा आउन सुरु भएको हो। ‘मान्छे नभएको खाली घरबाट आगलागी सुरु भयो भन्ने छ, कहाँ र के कारणले आगलागी भयो यकिन छैन,’ निरौलाले भने, ‘सबै मान्छेहरु आतिइरहेकाले हामी तथ्यमा पुग्न सकिरहेका छैनौं।’ 

आगो पूर्ण नियन्त्रणमा लिन बिहानसम्म पनि स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका थिए। दमकलबाट पटक÷पटक पानी ओसारेर लगाइएको थियो। जस्तापाताका छाना भएको घरबाट सुरु भएको आगलागीले खेम केसीको चारतले पक्की घर पूर्णरुपमा जलको छ। चन्द्रप्रसाद निरौलाको पाँच तले पक्की घर आधा जलेको प्रशासनले बताएको छ। आगलागीबाछ नेत्र कार्की, भट्टराई बन्धुका दुईघर, टेकबहादुर लेछर्बोका घर जलेका छन्। 

जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रजिअ निरौलाले आगलागी पीडितहरुलाई राहत कसरी उपलब्ध गराउने भन्ने सन्दर्भ बिहान बैठकको आयोजना गरिएको छ। 

दोहोरिरहन्छ आगलागी

यसअघि सदरमुकामको वीरेन्द्र चोक, सदरमुकामको प्रवेशद्वार तोक्मे क्षेत्र, शेर्पाटोल र टुक्रेमा आगलागी भएको थियो। एक दशकमा एक अर्ब १० करोडको क्षति भएको हो। 

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार सबै आगलागी हिउँद याममै भएका हुन्। प्रहरीको तथ्यांकअनुसार आगलागीबाट सबैभन्दा बढी क्षति २०६० चैत १५ गते साँझ वीरन्द्र चोकको आगलागीमा भएको थियो। त्यसबेला ४५ घर जल्दा ५१ करोड क्षति भएको थियो।

२०७३ चैत ९ मा तोक्मे क्षेत्रमा भएको आगलागीमा ४४ घर जले। ४१ करोड रुपैयाँ बराबरको क्षति भएको थियो। २०६८ मा शेर्पाटोल र २०६९ सालमा टुक्रे बजारमा आगलागी  भएको थियो। शेर्पाटोलमा आठ करोड ५० लाख र टुक्रेमा पाँच करोड रुपैयाँ क्षति भएको उद्योग बाणिज्य संघले जनाएको छ। आगलागीबाट नौ र पाँच घर जलेका थिए। वीरेन्द्र चोकको आगलागी टुकी बत्तीबाट भएको थियो। तोक्मेमा होटलमा रक्सी झान्दा सुरुभएको थियो भने र टुक्रेमा रोटी पकाउँदा र शेर्पाटोलमा विद्युत् सर्ट भएर आगलागी भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.