अस्पतालले भन्यो: दोषीलाई कारबाही गर्छौँ

|

इटहरी : गत बुधबार उदयपुर गाईघाटकी एक महिला नोबेल मेडिकल कलेजबाट एक्कासि निकालिइन्। प्रसूति व्यथा लागेर उपचारको लागि गएकी २९ वर्षीय रौनियार अप्रेसनका लागि गएकी थिइन्। उदयपुर घर भएकी रौनियारको जब अस्पतालले ठेगाना चाल पायो त्यसैबेला उनीलाई ज्वरो आएको बहानामा रेफर गर्‍यो।

नोबेलले आफूले उपचार गर्न नसकेर हैन कोरोना संक्रमित बिरामी हुनसक्ने भन्दै कोसी अस्पताल रेफर गरेको थियो। बुधबार बिहान उदयपुर गाईघाट घर भएकी महिलालाई अप्रेसन थिएटरबाट निकालेर कोसी अस्पताल रेफर गरेको हो।

प्रसूति गराउन आएकाले लाई मात्र हैन, शुक्रबार पनि उदयपुर त्रियुगा नगरपालिकाका १६ वर्षीय भीमबहादुर खत्रीलाई अपरेसन थिएटरबाटै रेफर गरेको छ। कोरोना सङ्क्रमण महामारीको बेला विराटनगरको नोबेल मेडिकल कलेजले एकपछि अर्को बदमासी गर्दै आएको भेटिएको हो।

उदयपुर ठेगाना भएका बिरामी लाई अपरेसन थिएटर बाट निकालेर रेफर गर्ने गरेको हो। बिहीबार देब्रे हात भाँच्चिएर उपचार गराउन आएका उनी डाक्टरको सल्लाहअनुसार नै अपरेसन गराउन राजी भए पनि ज्वरो आएको बहानामा १६ वर्षीय खत्रीलाई अस्पतालले निकालेको हो।

शुक्रबार बिहान अपरेसन गर्ने तयारी भएको र सबै प्रक्रिया पूरा भएपछि अप्रेसनका लागि ३२ हजार रुपैयाँ जम्मा गरिसकेका थिए। भीमका काका शमशेरबहादुर खत्रीका अनुसार अप्रेसन थिएटरमा लगेपछि उदयपुरको भन्दै बाहिर निकालेर डाक्टरले रेफर पुर्जी थमाइदिएका थिए।

रेफर गरिएका दुवै बिरामी उदयपुरका भएकै कारण नोबेलले सरकारी अस्पतालमा पठाएको उल्लेख गरेको छ। रेफर गरिएको कारण रिपोर्टमा लेखिएको छ 'द पेसेन्ट इन फ्रम उदयपुर'।
यसअघि नोबेलका सञ्चालक डा. सुनिल शर्माले आफ्नो अस्पताल कोभिड–१९ का संक्रमितको लागि उपचारका लागि दिने घोषणा गरे पनि सामान्य बिरामीलाई समेत अहिले सोही अस्पतालबाट रेफर हुनु परेको छ।

तर, बिहीबार मात्रै नोबेल मेडिकल कलेजले उदयपुरबाट ल्याईएकी गर्भवती महिलालाई कोरोना संक्रमण फैलिएको जिल्लाबाट बिरामी ल्याइएको भन्दै रेफर गर्‍यो।

बिहीबार नै सुनसरीका रवीन्द्र यादवलाई ज्वरो आएको भन्दै विराटनगरका कुनै पनि अस्पतालले भर्ना गर्न नमान्दा उनको निधन भयो। ती युवालाई भेन्टिलेटरमा राख्नुपर्ने भन्दै कोसी अस्पतालले नोबलेमा पठाएको थियो।

कोसी अस्पतालमा भने प्रसूति र हात भाँचिएका दुवै बिरामीको उपचार भएको छ। नोबेलले ज्वरोसमेत आएर रेफर गरेको बताइरहँदा कोशी अस्पतालले भने ज्वरो नदेखिएको बताएको छ।

कोसी अस्पतालकी निर्देशक डाक्टर सङ्गीता मिश्रले दुवै बिरामी लाई कोभिड १९ को कुनै लक्षण नभएको बताइन्। रौनियारको बिहीबार नै अपरेसन भएको र अर्को बिरामीको आइतबार अपरेसन हुने उनको भनाइ छ। अहिले कोभिड १९ को संक्रमणको डरले निजी मेडिकल कलेजले बिरामी रेफर गर्न थालेको उनको भनाइ छ।

दोषीलाई कारबाही गर्छौँ : अस्पताल

यता, अस्पताल प्रसासनले भने रेफर गर्ने डाक्टरहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको बताएको छ। ' उदयपुर ठेगाना भएकै कारण अस्पतालबाट निकालिएको भन्ने विषयमा हाम्रो ध्यानाकर्षण भएको छ' अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले भने, ' रेफर गर्ने डाक्टरहरुलाई अहिले हामीले कारबाहीको प्रक्रिया अघि बढाइसकेका छौँ।'  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.