|

बागलुङ: जारी लकडाउनका कारण बिक्री हुन छाडेपछि बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडास्थित धौलागिरी रामतोला नमूना कृषि फर्मका सबै उत्पादन अहिले त्यहीँ थन्किएका छन्‌। 

एक महिना अघिदेखि लकडाउनले सवारी साधन गुड्न छाडेपछि उनीहरुको कृषि फर्मका सबै उत्पादन अलपत्र परेका हुन्‌।  समयमा खपत नभएपछि उत्पादन बिग्रेर जान थालेका छन्। सामान्यतया: अण्डा उत्पादन भएको २१ देखि २८ दिनभित्र उपभोग गरिसक्नुपर्छ। लामो समयसम्म राखिएका अण्डा बिग्रने र कुहिने खतरा हुन्छ। 

यो फर्ममा १० जना युवाले १० लाख रुपैयाँको दरले एक करोड लगानी गरेका छन्। यहाँ एक हजार पाँच सय वटा लेयर्स कुखुरा पालिएको छ। ६० बाख्रा, ५० टर्की, तीन हजार सुन्तलाका बिरुवा र तरकारीसमेत लगाइएको छ। बाख्रा पालनमा अहिले खासै समस्या छैन। तर अण्डा भने सबै खेर गएका छन्। यो फार्ममा दैनिक एक हजार दुई सयदेखि एक हजार चार सय गोटा अण्डा उत्पादन हुने गरेको छ।

उत्पादित अण्डा महिना दिनभन्दा बढी समयसम्म राखिएका कारण बिग्रन थालेको फर्मका सदस्य बिष्णु पौडेलले बताए। ‘दैनिक हजारबढी अण्डा खाडल खनेर पुर्नुपर्ने अवस्था आएपछि किसान मर्कामा परेका छौं’ उनले भने, ‘करोडौं लगानी खेर गैरहेको छ।’ बजारमा दूध र माछामासुको खपत तुलनात्मक घटेपछि चाहेको बेलामा यी उपभोग्य सामग्री नपाउने समस्या पनि छ। तराईबाट दैनिक ट्रकमा सामान आएपनि ग्रामीण क्षेत्रबाट कृषिउपज ल्याउन सकिएको छैन।

कोरोना भाइरससँग लड्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन पोसिलो खानपानको मात्रा बढाउनुपर्ने भनिएपनि किसानको बारीमा फलेका फलफूलदेखि अण्डा र मासुजन्य उत्पादनले बजार पाएको छैन। ‘पोसिलो कुरा खानुपर्छ भन्ने सन्देश र किसानको फर्मको उत्पादन बजारमा ल्याउने वातावरण चाहियो,’ फर्म संचालक समितिका अध्यक्ष दलबहादुर केसीले भने, ‘किसानको उत्पादनले बजार पाउँदा उपभोक्ताले पनि ताजा तरकारी र पौष्टिक आहार समेत पाउने थिए।’

भौगोलिक कठिनाइका कारण गाउँपालिकाको केन्द्रसम्म आउने-जाने सडकसमेत अप्ठ्यारो छ। बस्तीमा बेच्ने वातावरण बनाउन खोजेपनि गाउँमा राम्रो मूल्य पाउन नसकिएको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए। ‘लगानी गरेकाहरुलाई समस्या भएको छ, बजार व्यवस्थापनबारे नगरपालिकामा पनि कुरा गरेको छु,’ गौतमले भने, ‘ठूलो लगानी गरेका किसानलाई ब्याजमा छुट र अनुदान चाहिन्छ भनिएपनि कार्यान्वयन भएको छैन।’ जैमिनी लगायतका स्थानीय पालिकाले अनुदानमा आधारित कृषि ऋणलगायतका कार्यक्रम ल्याएपनि आफूहरु सो सुविधा पाउनबाट बञ्चित भएको केसीले बताए। बजारीकरणमा नगरपालिकाले साथ दिनुपर्ने किसानहरूको माग छ।

नगरपालिकाले ढुवानीमा सहज बनाउने वा दैनिक गाडी-आउने जाने व्यवस्था गरिदिएमा उत्पादित सागपात र अन्य ताजा तरकारी सहजै बजार पठाउन सकिने किसानरू बताउँछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.