|

दमक (झापा) : कोरोना भाइरसको महामारीका कारण विश्वभरनै धेरैको रोजगारी संकटमा परेको छ। नेपालबाट रोजगारीका लागि विभिन्न देश पुगेका युवाहरु प्नि अहिले रोजगारीको संकट भोगिरहेका छन्। नेपालमा पनि कयौंको रोजगारी गुमेको छ भने कतिको संकटमा परेको छ। तर, वैदेशिक रोजगारीको हण्डर खेपेर स्वदेश फर्किई आत्मनिर्भर बनेका युवाहरु भने अहिले संकटका बेला पनि पौरख गरिरहेका छन्। कृषि तथा पशुपालनमा लगानी गरेका युवाहरु अहिले भनिरहेका छन्, विदेश नगएकै जाती भयो।

लामो समय दुबई तथा मलेसियमा काम गरेर फर्किएका कमल गाउँपालिका–६ का गणेश बस्नेत अहिले आफ्नै शंखडुब्बा एग्रो प्रालिमा व्यस्त हुन्छन्। वैदेशिक रोजगारीमा लामो समय बिताएर फर्किएका उनी अहिलेको संकटमा आफ्नै फार्ममा बाख्रा स्याहार सुसारमा व्यस्त छन्। उनले भने, ‘अहिले हेर्दा त विदेश नगएकै जाती भयो। अहिले आफ्नै फार्ममा काम गर्न पाइया छ।’ उनले फर्ममा बोयर, विटल जातका बाख्रा पालेका छन्। स्थानीय जातका कुखुरा पनि छन्। बजार खोज्ने हैरानी पनि छैन। पाठा पाठी र चल्लाको माग धान्ननै कठिन भएको उनले सुनाए।

उनीसँगै फार्ममा व्यस्त हुन्छन् राम कार्की। अहिले शुरुवाती समयमा पनि राम्रो नतिजा पाइएको उनको अनुभव छ। राम पनि वैदेशिक रोजगारीबाट फर्किएका हुन्। तर, विदेशको कमाई छोटो अवधिमा केही बढी हुने भए पनि त्यो दिगो नहुने महसुस गरे पनि स्वदेशमा नै गरिखाने विकल्प अपनाएको उनको भनाइ छ।

स्वदेशमै दिगो

उनीहरु जस्तै डोलेश्वर पराजुलीलाई पनि अहिले कोरोनाका कारण रोजगारी गुमाई हाल्नु पर्ला कि भन्ने चिन्ता छैन। खोरभरि बाख्रा छन्, गोठभरि गाई। उत्पादन भएका उपज बिग्रिन्छ कि भन्ने पीर पनि छैन। 

विदेशबाट आउने आम्दानीभन्दा स्वदेशकै मेहनतले दिगो रुपमा ईलमी बनाउने उनको अनुभव छ। विदेशको जति मेहनत गर्दा नेपालमा नै आम्दानी गर्न सकिने र परिवारबाट टाढा पनि हुन नपर्ने फाइदाले उनलाई आफ्नै ठाउँमा मेहनत गर्न प्रोत्साहित गरिरहेको छ। बजारमा खसी तथा उन्नत पाठापाठीको माग बढ्दो क्रममा रहेकाले बजारको चिन्ता पनि छैन। स्थानीय जातका कुखुराको माग त धान्नै गाह्रो परेको उनको भनाइ छ।

डोलेश्वरको भनाइमा गणेश पनि सहमत छन्। नेपालमा व्यवसायकि कृषिप्रति आकर्षण बढ्दो क्रममा रहेकाले निरन्तरता दिन सके स्वदेशकै मेहनत दिगो हुने उनी बताउँछन्। उन्नत जात र नश्ल, प्रविधिको उपयोग, प्राविधिक सल्लाहजस्ता विषयमा ध्यान दिन सके अझै पनि बाख्रा पालन व्यवसाय गरिखानेहरुका लागि राम्रो विकल्प बन्न सक्ने उनको सुझाव छ।

तरकारी खेतीमा भने समस्या

कडाउनका कारण व्यावसायिक तरकारी खेती गरेकाहरुलाई भने समस्या छ। हरियो तरकारी धेरै दिन राख्न नसकिने र हाल लकडाउनका कारण बिक्री गर्न समस्या भएको कमल–६ का मदन आचार्यले बताए। 

उनी एक दशकभन्दा लामो वैदेशिक रोजगारीको क्रममा विट मार्दै व्यावसायिक तरकारी खेतीमा लागेका हुन्। ‘विदेश नगएको त जाती नै भयो,’ उनले भने, ‘तर यस्तो बेलामा सरकारबाट बजार व्यवस्थापन हुन नसक्दा दुःख लागिरहेको छ। कृषि उपजको बजारीकरणका लागि लकडाउनमा मात्र नभई सधैजसो समस्या हुने भएकाले किसानलाई यही पेशामा टिकाइराख्न दिगो रुपमा बजार व्यवस्थापनको काम सरकारबाट हुनुपर्छ।’

उत्पादित उपजले लगानी र सीमित मुनाफासहित बजार पाउने हो विदेशमा भएका धेरै युवा स्वदेशमानै फर्किएर कृषिमा लगानी गर्न तयार रहेको उनी बताउँछन्। तर, किसानलाई लगानी गर भन्ने अनि बजारको बन्दोवस्त सरकारले गर्न नसक्ने हो भने स्वदेशमानै लगानी गरेका किसानले पनि लगानीबाट हात झिक्नु पर्न अवस्था आएको प्रति उनको चिन्ता छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.