परराष्ट्रमन्त्री भन्छन् : जोखिम व्यस्थापन गर्न तयार छौं

|
फाइल फोटो

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरुको व्यवस्थापनका लागि सरकार गम्भीर रहेको बताएका छन्।

वैदेशिक रोजगारीमा गएकाहरुमध्ये १० देखि ३० प्रतिशतले रोजगारी गुमाउन सक्ने बताउँदै उनले त्यसबाट उत्पन्‍न हुने चुनौतीलाई व्यवस्थापन गर्न सरकारले योजना बनाइराखेको जानकारी दिए। 

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा मन्त्री ज्ञवालीले कोरोना भाइरस (कोभिड-१९)को कारण देश भित्रै उत्पन्‍न हुने बेरोजगारी र बाहिरबाट फर्कनेको व्यवस्थापन चुनौतीपूर्ण भएपनि सरकारले योजनाबद्ध काम थालेको उल्लेख गरे।

‘कोभिड १९ का असरहरु श्रम बजारमा कति गहिरो पर्ने हो भन्ने कुराको यकिन भन्‍न सकिँदैन। तर हामी १० देखि ३० प्रतिशतको स्थितिमा हामीले वैदेशिक श्रम बजार गुमाउँछौं', उनले भने, 'त्यसको एकैचोटी दुई खालको असर पर्छ। एउटा त्यहाँ गएकाले ठूलो संख्यामा रोजगारी गुमाएर आउनुहुन्छ। दोस्रो यहाँ प्रतिवर्ष तयार हुने झण्डै पाँच लाखका दरले नेपाली श्रम बजारमा आउने युवाशक्तिमध्ये साढे ३ लाख ४ लाखको सहज गन्तब्य पनि साँघुरिन्छ।'

ज्ञवालीले देशभित्रै बेरोजगारी बढ्ने अवस्थामा बाहिरबाट फर्किनेको संख्या झन् बढ्ने उल्लेख गरे। 'यो बेरोजगारीको व्यवस्थापन हाम्रो निम्ति आउँदो दिनहरुमा असाध्यै ठूलो चुनौतीका रुपमा रहने कुरा सरकारले गम्भीरतापूर्वक लिएको छ', उनले भने, 'त्यसका निम्ति विभिन्‍न खालका योजनाहरुको तयार पनि गरिराखेका छौं।’

कोभिड १९ बाट सिर्जना भएको समस्याका लागि विदेशमा रहेका नेपाली दूतावासहरु नियमित जानकारी लिने र सम्बन्धित सरकारसँग पनि पहल भइराखेको मन्त्री ज्ञवालीले बताए। 

उनले खाडी देशहरुमा बढ्दै गएको कोरोना संक्रमणबाट नेपालीहरुलाई समस्या परेको सम्बन्धमा दुतावासमा निरन्तर सम्पर्क गरी समस्याको समाधान गर्ने र आर्थिक समस्यामा पर्नेहरुका लागि राहतको व्यवस्था गर्ने काम भइराखेको बताए।

यस्तै सबै मुलुकमा प्रधानमन्त्री स्तरबाट र मन्त्रालय स्तरबाट समेत पनि छलफल र उद्दारका लागि पहल भइराखेको उनले जानकारी दिएका छन्। 

विदेशमा रहेका संक्रमित नेपालीहरुको निःशुल्क उपचार भइराखेको तर देशभर संक्रमण धेरै भएपछि सामान्य अवस्थामा रहेकालाई अस्पतालले घरमै बसेर आराम गर्न आग्रह गर्दा नेपालीहरुमा मनोवैज्ञानिक अप्ठेरो परेको उनले बताए। 

ज्ञवालीले कोरोना भाइरसको कारण लकडाउन हुने र हवाई उडान बन्द हुँदा विदेशमा रहेका नेपालीहरुको भिजा अवधि सकिने, श्रमिकहरुको करार अवधि सकिने र अवैध भई कानूनी समस्या आउने समस्या देखापरेको बताए। 

उनले थुप्रै देशहरुले कामदारहरु कटौती गर्ने र रजिस्ट्रेसन सुरु गरेको अवस्थामा खर्चको अभाव हुने समस्या आएकोसमेत जानकारी दिए। तर अधिकांश देशहरुले भिजाको अवधि तीन महिना थपेकाले भने कुनै समस्या नहुने र सरकारले पनि त्यसमा पहल गरिराख्ने पनि उनले बताए।

नेपालबाट श्रमका लागि भारत, साउदी अरेयिबा, युएई, कतार, मलेसिया, दक्षिण कोरिया, जापान, साइप्रस, इजरायल लगायतका देशहरुमा गएका छन्। यसबाहेक अन्य धेरै मुलुकमा अध्ययन, तालिम, श्रम गर्न तथा घुम्‍न नेपाली पुगेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.