नेकपाकै सांसदहरुले भने : सरकार निरंकुश बन्यो

|
फाइल फोटो

काठमाडौं : कोरोनाको महामारीका काण तत्काल एक लाख २७ हजार नेपाली विदेशबाट घर फर्किनैपर्ने अवस्थामा पुगेका छन्। खाडीसहितका मुलुकमा कोरोनाको संकट चुलिँदै जाँदा त्यतिका संख्याका नेपाली तत्काल घर फर्किन तयार रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा मन्त्रालयको तर्फबाट प्रस्तुत गरिएको विवरणमा कोरोनाकै कारण अहिलेसम्म २ लाखजना नेपालीले रोजनागरी गुमाइसकेको उल्लेख छ। 

खाडीसहितका मुलुकमा कोरोनाका कारण रोजगारी गुमाएका नेपालीको संख्या २ लाख ८ हजार पुगेको हो। त्यस्तै भिसा म्याद सकिएका र आममाफी पाएका १ लाख २७ हजार नागरिक फर्किन चाहेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ। 

यस्तोमा बुधबार बसेको समितिको बैठकमा सांसदहरुले विदेशमा रहेका नेपाल नागरिकलाई स्वदेश फर्काउनु पहिले स्वास्थ्य पूर्वाधार चुस्त राख्‍न सरकारसँग माग गरेका छन्। 

उनीहरुले कोरोना भाइरसका कारण लाखौ नेपाल स्वदेश फर्किन चाहेको अवस्थामा स्वास्थ्य पूर्वाधार चुस्त राखेर स्वदेश फर्काउने व्यवस्था गर्न सांसदहरुले माग गरेका हुन्।

संसद अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा सांसदहरुले भारतीय सीमा क्षेत्रमा डेढ महिनादेखि नागरिकहरु बसिरहे पनि सरकारले प्रवेश निषेध गरेको भन्दै असन्तुष्टि जनाएका छन्। 

सत्तारुढ नेकपाका सांसद माधवकुमार नेपालले स्वदेश फर्किन चाहने विदेशमा रहेका नेपाली नागरिकलाई ल्याउनुपर्नेमा जोड दिएका छन्। लामो समय क्‍वारेन्टाइनमा बसेर समस्या परेका नागरिकहरुलाई नेपाल ल्याउन सकिए राम्रो हुने उनको भनाई छ।

नेकपाकै अर्का सांसद भीम रावलले सीमा क्षेत्रमा अलपत्र नागरिकलाई नेपाल ल्याउन नसक्नु अलोकतन्त्रिक र निरङ्कुस चरित्र भएको भएको बताए। डेढ महिनासम्म सीमा क्षेत्रका नागरिकहरुको स्वास्थ्य जाँच गरी नेपाल ल्याउनुपर्ने उनले बताए। 

'सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई के कारणले रोक्नुपर्‍यो ? यस्तो खालको अन्तर्राष्ट्रिय मर्यादा विपरीतको काम बन्द गरियोस। भारतमा रहेका व्यक्तिहरुलाई त्यतिकै ल्याउनुहोस् कसैले भनेको छैन। जुन व्यक्तिमा संक्रमण छैन, उसलाई ल्याउनुहोस्', उनले भने, 'यहाँ ल्याएर क्वारेन्टाइनमा राख्नुहोस्। अन्य देशले ग्रीन कार्ड र पिआरधारीलाई फर्काइरहेका छन्। हाम्रो देशले ४५ दिनसम्म आफ्ना नागरिक ल्याउन नसक्नु निरङ्कुश र अलोकतान्त्रिक चरित्र हो।'

नेपाली कांग्रेसकी सांसद पुष्पा भूसालले रेमिट्यान्सबाट तलब भत्ता खाने तर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न नसक्ने भन्दै प्रश्‍न गरिन्। 

स्वदेश फर्किन चाहने नागरिकहरुलाई सुरक्षित रुपमा भित्र्याउन सरकारी पूँजी खर्च गर्न सरकार हुनुपर्ने उनको भनाई छ। 'हामी विदेशी रेमिट्यान्सबाट तलब, भत्ता खाने तर तिनै नागरिकहरुलाई नेपाल भित्र्याउन नसक्ने?', उनले सोधिन्, 'उनीहरुलाई सुरक्षीत नेपाल भित्र्याउन सरकारी पूँजीलाई स्वास्थ्य क्षेत्रमा खर्च गर्न सरकार तयार छ की छैन?'

सांसद दिव्यमणि राजभण्डारीले विदेशमा रगत पसिना बगाएर रेमिट्यान्स पठाउने नागरिकलाई स्वदेश ल्याउन नसक्ने के सरकार भन्दै प्रश्‍न गरे। 'द्वन्द्वका कारण वर्षौँसम्म हामी रेमिट्यान्समा बाँचिरहेका छौँ। त्यही हाम्रा दाजुभाइ दिदी बहिनीले रगत, पसिना बगाएर कमाएको पैसाबाट बाँचिरहेका छौँ', उनले भने, 'उनीहरुलाई नेपाल आउने व्यवस्था गर्न नसक्ने के सरकार? जनपक्ष र समाजवादको कुरा गर्ने तर आवश्यकता परेको बेला जनतालाई सेवा दिन नसक्ने के सरकार?'
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.