शुक्रबार डिस्चार्ज गरिने

|

धनकुटा : विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत उदयपुरको भुल्केका थप आठ जना संक्रमितहरु निको भएका छन। गत सोमबारदेखि लगातार तीनपटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई शुक्रबार डिस्चार्ज गरिने भएको छ।

गत बुधबार उक्त अस्पतालमा उपचाररत ६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका थिए। अस्पतालको आइसोलेसनमा रहेका थप आठ जना कोरोनामुक्त पुष्टि भएकोले शुक्रबार डिस्चार्ज गरिने प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए। कोशी अस्पतालमा उपचाररत भारतीय जमाती एक जना, विराटनगर १७ का दुई जना र एक महिलासहित भुल्केका स्थानीय पाँच जनाले कारोनालाई परास्त गरेका हुन।

उनीहरुमा वैशाख ८, ९ र १० गते संक्रमण पुष्टि भएपछि उपचार केन्द्रमा ल्याइएको थियो। अस्पतालको आइसोलेसनमा राखिएको भएपनि उनीहरु कसैलाई पनि औषधि भने दिन नपरेको अस्पतालले जनाएको छ। चिकित्स्कीय निगरानीमा रहेका उनीहरुले आफ्नै रोग प्रतिरोध क्षमताले कोरोना परास्त गरेका हुन।

अस्पतालको आइसोलेसनमा रहेका भुल्केका बाँकी सात जनाको रिपोर्ट पोजिटिभ नै आएको अस्पतालले जनाएको छ। प्रदेशमा कोरोना संक्रमित देखिएका उदयपुरका २८, झापाका दुई र भोजपुरका एक जना अस्पतालमा राखिएको थियो। उनीहरुमध्ये ६ जना डिस्चार्ज भइसकेको र आठ जना शुक्रबार डिस्चार्ज भएपछि बाँकी १७ जना रहने भएका छन।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन्‌। अस्पतालमा रहेकाहरुलाई कोरोनाको लक्षणसमेत देखिएको छैन। अस्पतालबाट कोरोनामुक्त भएकाहरुलाई केही समय क्वारेन्टाइनमा राखिने भएको छ। यसअघि डिस्चार्ज भएका ६ जनालाई विराटनगरस्थित रानी मरकजमा क्वारेन्टाइनमा राखिएको छ।

प्रदेश एक मा पिसिआरबाट हालसम्म एक हजार सात सय ८९ जनाको कोरोनाा परीक्षण गरिएको छ। त्यस्तै आरडिटिबाट ६ हजार आठ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.