|

काठमाडौं : कोभिड-१९ का कारण विश्‍वभर गरिएको लकडाउनका कारण विदेशमा रहेका नेपाली संकटमा पर्दै गएका छन्। विश्‍वका विभिन्‍न देशमा अलपत्र कयौँ नेपालीको अवस्था नाजुक बन्दै गएको छ।

खासगरी खाडी मुलुकमा रहेका लाखौं नेपालीको अवस्था दयनीय बनेको छ। लकडाउनका कारण कम्पनीहरुले काममा नलगाई बेतलबी बिदामा राख्‍दा नेपालीहरुको बिजोग हुन थालेको हो। खाडी र मलेसियासहितका देशबाट करिब १ लाख ३० हजार नेपालीले तत्कालै फिर्न खोजेका छन्। तर  नेपालमा पनि लकडाउन रहेकाले उनीहरु समस्यामा परेका हुन्। 

कयौँ बिरामी परेका नेपाली पनि प्रवासमै अड्किएका छन्। बिरामी परेर उपचार नपाएपछि घर फर्किन चाहेका नेपालीले लकडाउनका कारण झनै स्वास्थ्य समस्या झेल्नु परेको छ। यस्तै स्वास्थ्य समस्यासँग जुधेर एकजना नेपालीले कुवेतमा हालै ज्यान गुमाएका छन्। 

कपिलवस्तुको बुद्दभूमि नगरपालिका-२ गोरुसिंङ्‍गे निवासी ४१ वर्षीय बिष्णुप्रसाद न्यौपाने बिरामी परेपछि नेपाल फर्किन चहान्थे। उनले नेपाल फर्किनका लागि त्यहाँस्थित दूतावासदेखि गैरआवासीय नेपाली संघसँग पनि गुहार लगाए। तर उनको कुराको कतैबाट सुनुवाइ भएन। 

गम्भीर बिरामी परेका उनले आफ्नो बुताले भ्याएसम्म नेपाल फर्किन बल गरे। तर लकडाउनमा फसेका उनको केही लागेन। यही बुधबार बिहान कुवेतको आदान अस्पतालमा उपचारकै क्रममा बिष्णुले ज्यान गुमाए।

कुवेतको महाबुल्लामा लकडाउनमा अड्किएकै बेला ६ दिनअघि श्‍वास-प्रश्‍वासमा समस्याभए पछि विष्णुलाई महाबुल्लाकै अस्पताल लगिएको थियो। त्यहाँबाट त्यही दिन उनलाई आदान अस्पताल रिफर गरिएको थियो। सर्जिकल वार्डको आईसियुमा राखिएका उनको त्यहीँ ज्यान गएको हो। 

नेपाली राजदूतावासका द्वितीय सचिव श्रीकृष्ण सिलवालले ग्लोबल मोर्डन फ्यासिलिटी मेनेज्मेन्ट कम्पनीमा कार्यरत न्यौपानेको मृत्यु भएको पुष्टि गरेका थिए। सिलवालले विष्णुको राहदानीसहित कम्पनीले दूतावासमा सम्पर्क गरिसकेकाले कानुनी प्रक्रिया थालिएको बताएका छन्। 

३ वर्षदेखि कुवेतमा कार्यरत बिष्णुकी श्रीमती चन्द्रकला पनि त्यही कम्पनीमा कार्यरत छिन्। उनीहरुका २ छोरा काठमाडौंमा रहेको खुलेको छ।

बिष्णुसहित ११ जना नेपालीको भिसा जुलाई ५ मा सकिँदै थियो। भिसा नवीकरणका लागि प्रतिब्यक्ति ४१० केडी कम्पनीले मागेको खुलेको छ। उनीहरुले त्यो खर्च तिर्न नस्कने बताएपछि सबैलाई दुई महिनादेखि कोठामै राखिएको थियो।

त्यहीकारण कम्पनीले उनीहरुको भिसा रद्द गरेको खुलेको छ। विष्णुसहित ११ जनाले आफ्नो समस्याबारे लिखित निवेदन नै दूतावासमा दिए पनि सुनुवाइए नभएको खुलेको छ। 'मासिक १०० देखि १३० केडीसम्म पारिश्रमिक लिइरहेका हामीले भिसा नवीकरणका लागि कसरी ४१० केडी बुझाउन सक्थ्यौँ', विष्णुका एक सहकर्मीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.