सरकारी अधिकारी भन्छन् : श्रमिकहरुको सम्पर्कमै छौं

|

काठमाडौंः कोरोनाभारइस सङ्क्रमणको विश्‍वव्यापी महामारी रोकथाम तथा नियन्त्रण गर्न विभिन्‍न देशले लकडाउनसहितका उपाय अवलम्बन गरिरहेका छन्।

लकडाउनको सबैभन्दा बढी असर विदेशमा रहेका नेपाली कामदारहरुमाथि परेको छ। यतिखेर मलेसियादेखि मध्यपूर्वी राष्ट्रमा कार्यरत कयौं नेपाली कामदारको रोजगारी जोखिममा परेको छ। केही ले त रोजगारी नै गुमाइसकेका छन्।

कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) र मलसियामा लाखौंको सङ्ख्यामा नेपाली कामदारहरु रहेका छन्। कोरोना भाइरसका कारण लकडाउन गरिँदा  रोजगारी गुमेका नेपालीले यतिबेला घर फर्किन पाएका छैनन्। कतिपय कामदार बेतलबी बिदामा बसिरहेका छन्। केहीले भोकभोकै बस्नु परेको छ। केहीलाई महिनाको १५ दिन मात्रै काम दिइएको छ।

स्वदेश फर्कनेलाई रोजगार : श्रम मन्त्रालय

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा रहेका नेपाली कामदारको लागत संकलन गरिरहेको छ। नेपाली कामदारको अवस्था कस्तो छ? कुन देशबाट कति कामदार नेपाल फर्कन चाहन्छन्? त्यसको अध्ययन भइरहेको श्रम मन्त्रालयले जनाएको छ।

विदेशमा रहेका नेपाली कामदारको विदेशस्थित दूतावासमार्फत नेपाली कामदारको संख्या संकलन गरिरहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए। कामदार कति वर्ष बसेका छन? त्यसको पनि संकलन गरिरहेको उनले जानकारी दिए। उनका अनुसार ४ वर्ष वा त्योभन्दा धेरै बसेका नेपाली कामदारको विवरण संकलन भइरहेको छ।

विदेशमा रहेका कामदारलाई स्वदेश फर्काउन कार्ययोजना अगाडि बढिरहेको उनले स्पष्ट पारे। 'स्वदेश फर्काउने अवस्था आयो भने पनि लकडाउन नखुलेसम्म ल्याउने प्रक्रिया अगाडि बढदैन,' थाहाखबरसँग उनले भने,' विदेशको पनि वातावरण पनि सहज हुनुपर्‍यो तब मात्र अगाडि बढ्ने छ।'

कस्ता कामदारलाई पहिलो प्राथमिकतामा राखेर ल्याउनेबारे छलफल भइरहेको छ,' उनले भने, 'कामदारको स्वास्थ्य परीक्षण गरिन्छ। नेपालमा ल्याएर पनि काठमाडौंको क्‍वारेन्टाइनमा राख्ने वा स्थानीय सरकारले निर्माण गरेको राख्ने? ती सबैको व्यवस्थानप भएपछि मात्र ल्याउने प्रक्रिया अगाडि बढछ।'

युएई सरकारको व्यापारिक प्रक्रिया पनि अगाडि बढिसकेको उनले जानकारी दिए। रोजगारी गुमाएका कामदारलाई वैकल्पिक कामको खोजी गरेर काम दिनलाई युएईस्थित दूतावासले समन्वय गरिरहेको प्रवक्ता घिमिरेले बताए।

स्वदेश फर्किने नेपाली कामदारलाई स्वदेशमा रोजगार दिने वातावरण पनि मिलाइरहेको घिमिरेले बताए। कृषि क्षेत्र र विकास निर्मणको काममा लगाउनलाई योजना तर्जुमा गरिरहेको उनले जानकारी दिए।

'फर्कने कामदारलाई नेपालमा काम गर्ने वातावरण मिलाउछौँ,' उनले भने,' अतिविपन्‍न परिवारको एक सदस्यलाई रोजगार दिने व्यवस्था गर्छौ।' अनुभवका आधारमा वैदेशिक रोजगारमा गएर आएका कामदारलाई स्वदेशमै काम गर्ने वातावरण मिलाउने उनले बताए।

कृषि क्षेत्र र स्वरोजगारको कामलाई पहिलो प्राथमिकतामा राख्‍ने उनले बताए। प्रत्येक मन्त्रालयले कार्ययोजना बनाउँदा विदेशबाट आएका कामदारलाई लक्षित गरिने उनले बताए।

कामदारको स्वास्थ्य सुरक्षाको ख्याल : परराष्ट्र मन्त्रालय

अलपत्र कामदारको सुरक्षाबारेमा परराष्ट्र मन्त्रालयकोतर्फबाट विदेशस्थित दूतावासलाई ध्यान दिन आग्रह गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता डा. भरतराज पौडेलले बताए। उनका अनुसार फर्कने चाहने नेपाली कामदारलाई स्थानीय सरकार र दूतावासको समन्वयमा संरक्षण पहल भइरहेको छ। स्वदेश फर्काउन नेपाल सरकारले लकडाउन खुलेपछि गृहकार्य गर्न सक्ने उनले बताए।

'सम्बन्धित देशका दूतावासले नेपाली कामदारको अवस्थाबारे त्यसको अध्ययन गरिरहेका छन्,' पौडेलले भने।

कामदारको स्वास्थ्योपचारमा पनि परराष्ट्र मन्त्रालयकोतर्फबाट सम्बन्धित मुलुकको सरकारलाई ध्यान दिनलाई आग्रह गरिसकेको उनले जानकारी दिए। कागजपत्रको सहजीकरणको लागि दूतावासलाई आग्रह गरिएको प्रवक्ता पौडेलले जानकारी दिए।

कामदारसँग सम्पर्कमा छौः व्यावसायी

व्यावसायीको तर्फबाट विभिन्‍न माध्यमबाट विदेशमा रहेका कामदारसँग प्रत्यक्ष सम्पर्कमा रहेको वैदेशिक रोजगार व्यावसायिक महासंघका अध्यक्ष विष्णु गैरे बताउँछन्। विदेशमा रहेका एनआरएनएमार्फत कम्पनीमा गएर कामदारको अवस्था बुझिरहेको उनले बताए।

'कामदारको वर्गीकरण गरेर कामदारको लागत संकलन गर्नलाई सुझाव दिएका छौँ',उनले भने, 'अति आवश्यक परेको र उद्बार गरिहाल्नुपर्ने कामदारलाई नेपाल आउने पहिलो प्राथमिकतामा राखेका छौँ।'

दुबई र कुवेतमा गरेर तत्काल १० हजार कामदार नेपाल आउने तयारी अवस्थामा रहेको उनले जानकारी दिए। कतिपयले हवाई टिकट काटिसकेर बसेका छन्। कतिले घर आउनलाई काम छोडेर बसेको पनि उनले बताए।

पर्यटकीय भिसामा गएका धेरै नेपालीहरु अलपत्र परेको उनले जानकारी दिए। दूतावाससँग समन्वय गरेर नेपाली कामदारलाई सुरक्षित राख्‍ने पनि पहल गरिरहेको उनले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.