|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा रोकिएको कोरोना भाइरस परीक्षण किट आइपुगेपछि शनिबारदेखि पुनः सुरु भएको छ। संघीय सरकारले पठाएको तीन सय ८४ किट शुक्रबार राति नै धनगढी आएपछि कोरोना परीक्षण शनिबार बिहानदेखि सुरु भएको हो।

किट आइपुगे पनि  सुदूरपश्चिममा कोरोना परीक्षणले तीव्रता पाउन सकेको छैन। सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा प्रदेशका तीन जनाको मात्रै परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार तीनै जनाको रिपोर्ट नेगेटिभ आएको छ।

यस्तै पछिल्लो २४ घन्टामा तीन जनाको नै थ्रोट स्वाबको नमूना संकलन भएको छ भने पछिल्ला पाँच दिनमा संकलन गरिएको ५५ जनाको थ्रोट स्वाबको नमुना परीक्षण गर्न बाँकी रहेको निर्देशनालयले जनाएको छ। 

उनीहरुको शनिबार राति धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पिसिआर मेसिनमार्फत कोरोना परीक्षण हुनेछ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले शनिबार साँझदेखि कोरोाना परीक्षणलाई तीव्रता दिइएको जनाए।

पिसिआर किटको मौज्दाता रहेको र आरएनए एक्पेक्सन किट संघीय सरकारले पठाएसंगै परीक्षणमा कुनै समस्या नआउने उनले बताए। स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा दुई सय २९ जनाको र्‍यापिड टेस्ट गरिएको छ। शनिबार परीक्षण गरिएका कसैमा पनि एन्टिबडी नदेखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

पिसिआर विधिबाट अहिलेसम्म प्रदेशका दुई हजार ९ सय २६ जनाको कोरोना परीक्षण गरिएको छ। पाँच जनामा संक्रमण देखिएकोमा अहिले सबै कोरोनालाई जितेर घर फर्किसकेका छन्। धनगढीमा स्थापना भएको प्रयोगशालामार्फत अहिलेसम्म ६ सय १० जनाको परीक्षण भएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत सुदूरपश्चिम प्रदेशका दुई हजार तीन सय १६ जनाको परीक्षण भएको छ। 

सुदूरपश्चिम प्रदेशमा १४ हजार ९ सय १० जनाको र्‍यापिड टेस्ट पनि गरिएको छ। यस्तै आज सम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाको आशंकामा आईसोलेसनमा भर्ना गरिएका एक सय २७ जनालाई डिस्चार्ज गरिएको छ। प्रदेशका नौँ वटै जिल्लामा तीन हजार तीन सय ३३ जनालाई क्वारेन्टाइनमा राखिएको निर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.