|

विराटनगर : उदयपुरका थप एक जनामा शनिबार साँझ कोरोना संक्रमण भएको भेटिएको छ।  कोसी अञ्चल अस्पताल विराटनगरमा स्वाब परीक्षणका क्रममा ४३ वर्षीया एक महिलामा संक्रमण पाइएको हो। उनी उदयपुर त्रियुगा नगरपालिका ३ भुल्केकी रहेकी बताइएकाे छ।

योसँगै नेपालमा संक्रमितको कुल संख्या १ सय १० जना पुगेको छ। यद्यपि यो समाचार तयार पार्दासम्म स्वास्थ्य मन्त्रालयले भने पुष्टि गरिसकेको छैन।

संक्रमित महिलाको परिवारका सदस्य यस अगाडि संक्रमित भएको वा नभएको विषयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमार्फत पहिचान भइरहेको कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा संगिता मिश्रले बताइन्। 

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले संक्रमित पुष्टि भएको र व्यक्तिको विस्तृत विवरण बुझ्ने काम भइरहेको बताए । उनले भर्खरै सूचना प्राप्त भएसँगै सम्बन्धित क्षेत्रमा पुगेर पहिचान गरी संक्रमितलाई परिवार र समुदाय भन्दा अलग राख्ने तयारी गरिरहेको बताए। 

शनिबार बिहान उदयपुरको भुल्केमा १८, ४५ र ६५ वर्षिय महिलामा संक्रमण देखिएको थियो । शनिबार संक्रमण पुष्टि भएकाहरु यसअघि संक्रमण देखिएका व्यक्तिको परिवारका सदस्य रहेको बताइएको छ। संक्रमितलाई विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको छ। प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.