|

जाजरकोट : भेरी नगरपालिकाले सुत्करी तथा गर्भवतीलाई सेवा प्रवाह गर्नका लागि गाउँ-गाउँमा स्वास्थ्यकर्मी परिचालन गरेको छ।

भेरी नगरले आमा तथा शिशुको स्वास्थ्य सुरक्षा गर्न चार ठाउँमा रहेका बर्थिङ्ग सेन्टरमा सुरक्षित रुपमा सुत्केरी गराउन सुरू गरेको हो। नगरभित्रका जगतीपुर, कुदु, बाहुनथाना र भुर स्थित स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर रहेका छन्। यी ठाउँमा गर्भजाँच तथा सुत्केरी हुन आउने महिलाहरुलाई केन्द्रविन्दु मानेर भेरी नगरपालिकाले चारजना स्वास्थ्यकर्मीलाई परिचालन गरेको छ।

यहाँका महिला स्वयमसेविका र आमा समुहलाई समेत गर्भवतीको स्वास्थ्य अवस्था र गर्भजाँच गर्दा अपनाउनु पर्ने कुराहरुका विषयमा स्वास्थ्यकर्मीहरुले घरमै गएर सचेतना फैलाउने काम गरिरहेको भेरी नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख निरा थापाले जानकारी दिए। नगरपालिकाको वडा २ बाहुनथानमा पशुपती पुन मगर, वडा १० को भुरमा कैशिला चन्द, वडा ११ को जगतीपुरमा भावना चन्द र वडा १३ को कुदुमा पवित्रा गिरीलाई नगरले गाउँ-गाउँमा गर्भवती तथा सुत्केरीलाई सेवा प्रवाह गर्नका लागि खटाएको छ।

सदरमुकामस्थित स्वास्थ्य सेवा कार्यालयले अधिकांश ठाउँमा सेवा दिने गरेको छ। गुदु स्वास्थ्य चौकीमा यो वर्ष मात्र ५२ जना सुत्केरी भएको पाइएको छ। त्यस्तै बाहुनथाना स्वास्थ्य चौकी प्रमुख बेदबहादुर सिंहका अनुसार अहिलेसम्म २६ जनाले सुरक्षित सुत्केरी लिन आएका छन्। भेरी नगरपालिकाका उपनगरप्रमुख भावना भण्डारीका अनुसार नजिक भएका वडामासमेत सेवा प्रवाह गर्नका लागि नगरले स्वास्थ्यकर्मी परिचालन गरेको छ।

प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको भन्दै भण्डारीले भने, 'हामीले टाढाबाट स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने गर्भवतीलाई सवारी भाडा तिरेर भएपनि स्वास्थ्य संस्थामा ल्याएर सुरक्षित सुत्केरी गर्ने व्यवस्था मिलाएका छौँ। जिल्लामा उपचार सम्भव नभएका गर्भवतीलाई समेत रकम तिरेर बाहिर जिल्लामा सिफारिस गरिएको छ।'

अघिल्लो वर्ष भन्दा यो वर्षको १० महीनाको अन्तरालमा सुरक्षित सुत्केरी हुने महिलाहरुको संख्या ह्वातै बढेको स्वास्थ्य संस्थाले बताएका छन्। त्यस्तै गर्भवतीहरु नियमित गर्भजाँच गराउनेको संख्या समेत बढेको छ। चार पटकसम्म गर्भजाँच गरेर सुरक्षित सुत्केरी हुन आउनेको संख्या बढेसँगै बालमृत्युदरमा समेत कमी आएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ। गर्भवतीलाई नियमित पोसिलो खाना, स्याहार, हेरचाह गर्नका लागि परिवारको सहयोग राम्रो पाएको अधिकांश स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाहरुले बताएका छन्।

गाउँ-गाउँमा असुरक्षित सुत्केरी हुनेको संख्या बढेपछि नगरपालिकाले सुरक्षित सुत्केरी दर बढाउन विभिन्‍न प्याकेजहरु सहित कार्यक्रमहरु गर्दै आएको छ। कृषि शाखामार्फत विभिन्‍न ठाउँमा कृषिजन्य बस्तुको उत्पादन तथा पकेट क्षेत्र घोषणा गरेपछि ताजा फलफूल सेवन गर्नेको दर समेत बढेको पाइएको छ। नवजात शिशु स्वस्थ हुनका लागि आमा स्वस्थ हुनुपर्ने भन्दै नगरपालिकाले गर्भवती अवस्था देखि नै विशेष खानपिनमा, हेरचाह गर्न घरमुलीलाई प्रशिक्षण दिँदै आएको छ।

गर्भवती अवस्था चाहिने स्वहार, पौष्ट्रिक तत्वयूक्त खाना, आराम र गर्भजाँच गर्ने कार्यलाई कडाई पुर्वक सञ्चालन गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए। उनले भने, 'सुनौला हजार दिन भित्रका आमा र शिशुका लागि काम भईरहेका छन्। १३ वटै वडाहरुमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ।' प्रत्येक गाउँमा गएर गर्भवती महिलालाई भिडियो एक्सरे सेवा, पाठेघरको क्यान्सर, आङ खस्ने समस्याका बारेमा समेत जाँच गर्ने काम भएको समेत उनले बताए। 

समस्या देखिएका महिलाहरुलाई थप उपचारका लागि बाहिर जिल्लामा सिफारिस गरिएको नगरप्रमुख घर्तीले जानकारी दिए। अहिले कोरोना भाइरसका कारण सेवा दिन असहज भएको समेत उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.