'तत्काल उद्धार नभए भोकै मर्ने अवस्था छ'

|

दाङ : भारतको गोवामा हजारौँ नेपालीहरु लामो समयदेखी लकडाउन हुँदा अलपत्र परेको बताएका छन्। गोवाको विभिन्न ठाउँमा करिब ५० हजार नेपालीहरु रहेको र काम बन्द हुँदा अधिकांश विचल्लीमा परेको उनीहरूले बताएका छन्‌।

लकडाउनका कारण गोवामा रहेका नेपालीहरूले निकै समस्या खेपिरहेका बुटवलका अमृत मगरले बताए। उनका अनुसार लकडाउन भएदेखि काम नपाउँदा खाना र बस्नकै लागि समस्या परिरहेको छ। 'हामीले विभिन्न निकायमा भनेका छौँ, तर कसैले सुनेको छैन्,’ उनले भने, 'तत्काल उद्धार नभए हामी भोकै मर्नुपर्ने अवस्था आउनसक्छ। चाँडोभन्दा चाँडो नेपाल फर्काउने व्यवस्था होओस्‌।’

सुदूर पश्चिम कैलालीस्थित भजनी नगरपालिका ४ का खडक साउदले काम गर्ने होटल बन्द हुँदा भोक भोकै बस्नु परेको बताएका छन्‌। उनले गोवामा धेरै नेपालीहरु अहिले लकडाउनका कारण समस्यामा परेको भन्दै आफूहरुको उद्धार गर्न आग्रह गरेका छन्। दाङ बबई गाउँपालिका ५ का हस्त ब रसाईले भारतमा लकडाउन भएपछि विचल्लीमा परेको जानकारी दिएका छन्‌।

'लकडाउन भएपछि होटल, क्यासिनो बन्द भयो, होटल मालिकले तलब दिन नसक्ने भन्दै सबैलाई घर जाउँ भनि पठायो,' उनले भने, 'न त घर आउन पाएको छौँ, न त यहाँ बसेर खाना खाने पैसा छ, कोठा भाडामा बसौँ भने पैसा छैन्, बसे पनि के खाने? अहिले गोवामा कोरोना संक्रमितका विरामीहरु नभएकाले आफूहरु कोरोनाबाट सुरक्षित भएता पनि खाना नपाएर मरिन्छ भन्ने परि लागेको छ।’

त्यसैगरी मकवानपुर हेटौंडाका सन्त बहादुर पुनले गोवा आएका ४/५ महिना मात्र भएको भन्दै लकडाउनका कारण अलपत्र हुँदा कसैले नहेरेको बताए। उनले भने, 'यहाँ सिजनमा ६ महिना काम गर्ने हो, त्यस पछि घर गएर खेतीपाती गर्नुपर्छ। तर लकडाउनको कारण लामो समयदेखी कामविहिन हुँदा धेरै समस्या भोग्नु परेको छ।'

दैलेखका गणेश परियारले पनि लकडाउन भएदेखी बसेर खाना लागेको ४०/४५ दिन भएको भन्दै गोवामा भएका नेपालीहरुको उद्धार गर्न आग्रह गरेका छन्। दैलेखका भिम आलेमगरले गोवा आएको भोलिपल्टदेखी नै लकडाउन भएको बताए। 

गोवामा दाङका मात्रै करिब आठदेखि १० हजार नेपालीहरु रहेको गोवा नेपाली समाजका अगुवा सुनील रावतले बताए। 'भारतमा लकडाउन सुरू भएपनि त्यहाँ काम गर्ने सबै होटल, क्यासिनो तथा अन्य कम्पनीहरु बन्द भएपछि नेपालीहरु अहिले विचल्लीमा छन्,’ उनले भने, 'केही ठुला कम्पनी बाहेक सबै बन्द छन्, अधिकांश काम बन्द हुँदा त्यहाँ रहेका नेपालीहरू बेरोजगार भएका छन्।' केहीलाई मात्र काम गर्ने कम्पनी र होटलहरुले खाना र बस्नको लागी व्यवस्था गरेपनि अधिंकाश नेपालीहरु समस्यामा परेको उनको भनाई छ।

गोवामा अलपत्र नेपालीहरूले उद्धारका लागि आग्रह गर्दा त्यहाँको सरकारले नेपाल सरकारसँग समन्वय गरेर पठाउने आश्वासन दिँदै आएको छ। आफूले नेपाली राजदुतावासमा पनि सम्पर्क गरिरहेको र केही समयपछि सबैभन्दा पहिले गोवामा रहेका नेपालीहरुलाई उद्धार गर्ने आश्वासन पाएको रावतले बताए। अहिले तत्काल करिब ८/१० हजार जति नेपालीहरु स्वदेश फर्कन तयार रहेको र तीमध्ये दाङका मात्रै पाँच सयभन्दा बढी रहेको बताइएको छ। ‍

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.