|

काठमाडौंः यतिखेर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शीर्ष नेताहरूबीच शक्ति संघर्ष र टकराव जारी छ। गुटगत समीकरणका नयाँ सुत्र र गठबन्धन बनिरहेका छन्‌। यी सबैको कारक बनेका छन्‌ : पार्टी अध्यक्ष एवम्‌ प्रधानमन्त्री केपी शर्मा ओली।

असन्तुष्ट शीर्ष नेताहरूको आरोप छ : ओलीले सरकार र पार्टीमा एकलौटी गरे। निरन्तर विवादास्पद र अपारदर्शी काम गरेर पार्टीलाई कमजोर बनाए। पूर्व सहमति पालना गरेनन्‌। थेग्ने नसक्नेगरी नागरिकस्तरबाट आलोचना भयो। यसले कालान्तरमा पार्टीको भविष्यमाथि नै संकट पैदा गरिदिने भयो।

अर्कातर्फ ओलीले पार्टीकै शीर्ष नेताहरूबाट भइरहेको आलोचनालाई अस्वीकार गरिरहेका छन्‌। यही रस्साकस्सीका बीच फरक-फरक गुट चलाइरहेका दुई नेताबीच मिलाप देखिएको छ। नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल अहिले ओलीविरुद्धको आन्तरिक मोर्चामा एकसाथ लडिरहेका छन्‌। 

अध्यक्ष तथा प्रधानमन्त्री विवाद लम्ब्याएर खेल्न र पदमा रहिरहन चाहन्छन्। अर्का अध्यक्ष दाहाल नेता नेपालको डुंगाबाट शक्तिसंघर्षको समुन्द्र मन्थन गरेर प्रधानमन्त्री या बलियो पार्टी अध्यक्षको शक्ति स्थापित गरिहाल्न इच्छुक देखिन्छन्‌। वरिष्ठ नेता नेपाल पनि विधि-पद्धतिको कुरा गर्दै प्रचण्डको काँध चढेर फेरि एकपटक प्रधानमन्त्री हुन चाहन्छन्।

पार्टीभित्र देखिएको समस्या समाधानका निम्ति विकल्प खोज्नुभन्दा भनि नेताहरुबीच निजी दाउपेच जारी छ। प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल गुटको भूसमा भित्रभित्रै आगो सल्किँदैछ। एक गुटका निकट रहेकाहरू अर्को गुटमा पुगेका छन्‌। पूर्व मा‌‌ओवादी खेमाकै कतिपय नेताहरूले प्रचण्डको साथ छाडेजस्तो देखिएको छ।

नेपालको भूमीका

प्रधानमन्त्री ओलीले विवादास्पद अध्यादेश जारी गरेपछि छताछुल्ल भएको नेकपाभित्रको गुट विवादलाई किनारा लगाउन यतिखेर वरिष्ठ नेता नेपाल नै निर्णायक भूमीकामा छन्‌। कार्यकारी अध्यक्ष प्रचण्डसँग उनको घनिष्ठता बढेको छ र गठबन्धन कायम भएको छ।

तर आफ्नो गुटको असन्तुष्टि समाधान गरिदिए नेता नेपालले आफ्नो कित्ता तुरून्तै बदलिदिन सक्छन् भन्नेमा ओली पक्ष ढुक्क छ। ओलीनिकट एक नेता भन्छन्, 'वैशाख १५ गते नेता नेपालकै निवासमा हामी ओली पक्षधर र नेपाल पक्षधरबीच निर्णायक भनिएको वार्ता भएकै हो, सो वार्तामा भागबण्डाको कुरा मिलेपछि नेपालपक्षकै नेताहरूले सहमति भएको बतायो, तत्काललाई अध्यक्ष दाहाल एक्लिने स्थिति भयो, तर विवादमा अर्कै मोड आएपछि नेता नेपाल फेरि दाहालकहाँ नै पुग्नुभएको हो।' प्रचण्ड र नेपालबीचको गठबन्धन जुनसुकै बेला तोड्न सकिने भएकाले प्रधानमन्त्री ओली ढुक्क भएर बसेको उनीनिकट नेताहरू अनौपचारिक कुराकानीमा बताउने गर्छन्‌।

टकराव चर्कै छ

प्रधानमन्त्री ओलीसँगको असन्तुष्टिको कारणले वरिष्ठ नेता नेपाल र अध्यक्ष दाहालबीच निकटता बढिरहेको छ। पार्टीभित्र विवाद चुलिँदै गर्दा यसबीचमा प्रधानमन्त्री आोलीविरुद्ध एकजुट भएका अध्यक्ष दाहाल र नेता नेपाल समूहले ओलीको राजीनामा नै माग्न भ्याइसकेका छन्‌। 

यद्यपी, आफूविरुद्ध घेराबन्दी भइरहँदा प्रधानमन्त्री ओेलीले अध्यक्ष दाहाल र नेता नेपाल पक्षसँग बेग्लाबेग्लै छलफलसमेत चलाइरहेका छन्। तर, प्रधानमन्त्री ओलीको काम गराइमा असन्तुष्ट भनिएका नेता नेपालले ओली पक्षबाट आएका प्रस्तावलाई सहजै स्वीकार नगरेको उनीनिकटका नेताहरू दाबी गर्छन्‌। 

ओलीले नेता नेपाललाई आफू निकट ल्याउनको लागि मन्त्रिपरिषद् पुर्नगठन, मुख्यमन्त्री हेरफेर लगाएको प्रस्ताव दिइसकेका छन्। तर, पार्टीलाई विधि र सिद्धान्तमा चलाउनुपर्ने माग गरिरहेका नेता नेपालले ओलीलाई एक पदबाट राजीनामा गर्न दवाव दिइरहेका छन्‌।

वामदेवको ढुलमुल

धानमन्त्री ओलीले सचिवालयमा दाहाल-नेपाल समूहको रणनीति विफल हुने प्रस्ताव गरेपछि नेकपाको समीकरण समेत फेरबदल भयो। दाहाल-नेपाल समूहले सचिवालयमा आफ्नो राजीनामा माग्दै गर्दा ओलीले तेस्रो अध्यक्षमा नेता नेपाल र प्रधानमन्त्रीमा उपाध्यक्ष गौतमलाई ल्याउने प्रस्ताव फ्याँके।

जुन प्रस्तावलाई नेता नेपालले अस्वीकार गरे। तर, उपाध्यक्ष गौतमले आफ्नो पक्षमा आएको प्रस्ताव स्वीकार गरेपछि पार्टीभित्रको शक्ति समिकरणमा केही फेरबदल ल्याइदियो। ओलीविरुद्ध प्रखर भनिएका वामदेवले कहिले 'यो कित्ता' त कहिले 'उ कित्ता' गरेपछि उनको राजनीतिक भविष्य लगभग अरुका कृपामा भर पर्ने अवस्थामा पुगेको छ।  

रुष्ट दाहाल-नेपाल 

पार्टीभित्र विवाद सिर्जना भएपछि दाहाल-नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाउन माग गर्‍यो। तर, प्रधानमन्त्री ओलीले त्यसलाई अस्वीकार गरे। 

पार्टीलाई विधि, पद्धती र सिद्धान्तमा चलाउनुपर्ने माग गर्दै नेता नेपालले स्थायी कमिटीको बैठक राख्नुपर्नेमा जोड दिइरहे। प्रधानमन्त्री ओलीले विवादास्पद अध्यादेश फिर्ता गरेपछि बैठकको अर्थ नभएको भन्दै छल्न खोजे। 

चौतर्फी विरोधपछि ओली सचिवालयको बैठक राख्न राजी भए। स्थायी कमिटीको बैठक यही वैशाख २५ गतेलाई तोकियो। त्यही बैठकको विषय टुङ्गो लाउन राखिएको सचिवालय बैठकमा अध्यक्ष दाहाल र नेपाल समूहले 'एक व्यक्ति एक पद'को माग राखेपछि प्रधानमन्त्री ओली बैठकबाट निस्किए। बैठक स्थगित भयो। 

दाहालको शंका

‘विवाद समाधानका लागि पार्टीभित्र आफैँमा शक्तिशालि रहेका नेता नेपालले पछिल्लो समय अध्यक्ष दाहालसँग हिमचिम बढाएको देखिन्छ।

'तर यस्तै विवाद रहिरहेमा तत्कालीन नेकपा एमालेहरु एक हुने अवस्था आउन पनि सक्छ’  पूर्व माओवादी खेमाका एक नेताले भने, ‘त्यस्तो अवस्थामा दाहाल एक्लिने अवस्था सिर्जना हुनसक्छ। त्यसैले नेता नेपालसँगको सहकार्यलाई दाहालले पूर्ण रुपमा आत्मसाथ गर्नुभएको छ जस्तो मलाई लाग्दैन।’

'शंका गर्ने ठाउँ छैन'

पार्टीभित्र देखिएको समस्या समाधानको बाटो खोज्दै नेता नेपालले पार्टीलाई एकताबद्ध गर्न खोजेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बताउँछन्। 

‘अहिले पार्टीमा समस्या देखिएको छ। यही समस्यालाई समाधानको बाटो खोज्दै उहाँले पार्टीलाई विधि र पद्धतीअनुसार चलाउनको लागि पार्टीमा एकताबद्ध गर्न खोज्नुभएको छ’ उनले थाहाखबरसँग भने, ‘त्यही विषयलाई लिएर उहाँले अहिले स्थायी कमिटीको बैठकलाई जोड दिनुभएको हो। माधव नेपालले विधि, सिद्धान्त र पद्धतिप्रति राख्नु भएको अडानमा शंका गर्ने ठाउँ छैन। ’

दाहालमाथि नै खनिन सक्छन्‌ नेपाल

दाहालले नेता नेपाललाई आफूनिकट पारेर पार्टी र सरकारमा आफ्नो बर्चस्व कायम गर्न चाहन्छन्। तर नेता नेपालले अहिले ओलीमाथि विधि, पद्धति र सिद्धान्तका कुराले पेलिरहँदा भोली अध्यक्ष दाहालमाथि पनि यो तीर खस्न सक्छ।

दाहालले एकलौटी गरेको भन्दै पूर्वमाओवादी पार्टी नै पटक-पटक विभाजन भएको विगत छ। दाहालले एकलौटी ढंगले तीस वर्षसम्म पार्टी नेतृत्वमा अविछिन्न रहे। एमालेसँग पार्टी एकता भएपश्चात मात्रै उनी दोस्रो वरियतामा बस्नुपरेको हो। 

यसर्थ, नेतृत्वका सवालमा दाहालको चरित्र नेपालसँग भन्दा ओलीसँग मिल्दोजुल्दो देखिन्छ। नेपालकै साथ लिएर भोली आफ्नै नेतृत्वमा पार्टी हाँक्नुपरे उनै नेपाल दाहालमाथि भारी पर्न सक्छन्‌। 

नेपालको साथ लिँदा दाहाललाई आफ्नै शैलीले पार्टी चलाउन सकस नै पर्नेछ। त्यसैले नेपालभन्दा दाहाललाई ओली नै सहज हुने उनी निकट नेताहरू नै बताउँछन्‌। दाहालनिकट एक नेता भन्छन्‌, 'यही सहजताका कारण दाहालले सकेसम्म ओलीलाई नै फकाएर पार्टीभित्र पकड बनाउन चाहनुभएजस्तो बुझिन्छ, यद्यपि; उहाँले मुखै नफोरेसम्म हामीले त पर्खेन र हेर्ने नै हो, यतिखेर चाहिँ दाहाल र नेपाल दुवैलाई एक-अर्कोको साथ अत्यावश्यक छ।'

नेपाल पनि ढुक्क छैनन्‌

नेता नेपाललाई पनि दाहाल मौकामा जता पनि लाग्न सक्ने ठान्छन्। चुनाव हारेका नेता नेपाललाई पहिलो संविधानसभामा आफैंले पहल गरी भित्र्याएको र पछि उनैबाट धोकाधडी भएको तीतो विगत सायद दाहालले भुलेका छैनन्‌। 

दाहालप्रति नेता नेपाल पनि त्यति ढुक्क देखिँदैनन्‌। त्यसैले उनले दाहालसँगै अध्यक्ष ओलीसँगको संवाद यथावत राखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.