किट आएपनि परीक्षणले गति लिएन

|

डडेल्धुरा : सुदूरपश्‍चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुस्त गतिमा भइरहेको छ। संघीय सरकारले यहाँ किट पठाएको भएपनि परीक्षणले तीव्रता पाउन सकेको छैन। 

पछिल्लो २४ घण्टामा धनगढीस्थित पशुपन्छी अन्वेषण केन्द्रमा स्थापना गरिएको प्रयोगशालामा पिसिआर विधिबाट ३१ जनामा मात्र कोरोना परीक्षण गरिएको छ। आरटी–पिसिआर विधिबाट परीक्षण गरिएका ३१ जनाकै रिर्पोट नेगेटिभ आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। 

निर्देशनालयका अनुसार बितेको २४ घन्टामा तीन एक जनाको मात्र थ्रोट स्वाबको नमुना संकलन भएको छ भने यसअघि नमुना संकलन थ्रोट स्वाबको नमुना संकलन गरिएका २५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

पछिल्लो २४ घन्टामा एक सय ५८ जनाको र्‍यापिड टेस्ट गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। आइतबार परीक्षण गरिएका कसैमा पनि एन्टिबडी नदेखिएको जनाइएको छ। 

हालसम्म सुदूरपश्चिममा पिसिआर विधिबाट दुई हजार नौ सय ५७ जनाको कोरोना परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये पाँच जनामा संक्रमण देखिएकोमा अहिले सबै कोरोनालाई जितेर घर गइसकेका छन्।

कोभिड–१९ लाई जित्दै अस्पतालबाट घर फर्किनेमा तीन पुरुष र दुई महिला छन्। घर फर्किने चार कैलालीका हुन् भने, अर्का एक कञ्चनपुरका हु्न्। 

धनगढीमा स्थापना भएको प्रयोगशाला मार्फत अहिलेसम्म छ सय ४१ जनाको परीक्षण भएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत सुदूरपश्चिम प्रदेशका दुई हजार तीन सय १६ जनाको परीक्षण भएको छ। सुदूरपश्चिम प्रदेशमा १५ हजार ५८ जनाको र्‍यापिड टेस्ट पनि गरिएको छ।

आइतबारसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएका एक सय २९ जनालाई डिस्चार्ज गरिएको छ। सुदूरपश्चिमका नौं वटै जिल्लामा तीन हजार तीन सय १ जनालाई क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.