|

काठमाडौं : नेपाली कामदार लिएर कोरिया जानका लागि चार्टर्ड गरिएको नेपाल वायुसेवा निगमको जहाजको दोस्रोपटक पनि उडान मिति सरेको छ। भोलिको लागि उडान तय भए पनि गैरआवासीय नेपाली संघको आग्रहमा मिति सारिएको नेपाल वायुसेवा निगमले जनाएको छ।

गैरआवासीय नेपाली संघको आग्रहमा भोलि कोरिया जाने उडानको मिति सारिएको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खडकाले बताइन्। उनका अनुसार कोरियाको लागि अर्को उडानको मिति तय भइसकको छैन। गैरआवासीय नेपाली संघले पुनः अनुरोध गरेमा मिति तय हुनेछ।

गैरआवासीय नेपाली संघले वैशाख ३० गते कोरियाको लागि नेपाल वायु सेवा निगमको जहाज चार्टड गरेर नेपाली कामदार कोरिया लान लागेको थियो। पहिलोपटक दक्षिण कोरियाको सिओलमा गत अप्रिल ३० तारिखमा चार्टर्ड उडान गर्ने भनिए पनि उडान सरेको थियो।

मन्त्रिपरिषदको वैशाख १४ गतेको निर्णयानुसार इपिएस प्रणालीअन्तर्गत कोरिया काम गर्ने अनुमति प्राप्त वैध प्रवेशाज्ञा (भिसा) भएका हाल बिदामा रहेका नेपाली स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरूको स्वास्थ्य परीक्षण गराइ उनीहरूकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय गरेको थियो। सोहीअनुरूप कोरिया उडान गर्न लागिएको थियो।

यसरी लकडाउन अवधिमा कतार एयरपछि सर्वाधिक अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्सले आठ उडान गरेको छ। कतार एयरले १० उडान गरेको थियो। निगमको पहिलोपटक चैत १६, २० र २४ गते निगमका वाइडबडी जहाजले चीनको ग्वान्जाओबाट स्वास्थ्यसामग्री ल्याएका थिए। त्यस्तै चैत २८ गते जापानको नारितामा चार्टर्ड उडान गरेको थियो। भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमले चार्टर्ड उडान गरेको थियो।

हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत चैत १० देखि वैशाख १९ सम्म ४० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.