|

दार्चुला : व्याँस गाउँपालिका वडा नम्बर १ छाङ्रु र तिंकर गाउँका स्थानीयले झोपु र झुमासहित जिल्ला प्रशासन कार्यालय दार्चुलामा धर्ना दिएका छन्। 

दार्चुला सदरमुकाम खलंगाबाट व्याँस गाउँपालिका १ को ती दुई बस्तीमा पुग्ने बाटो नभएको र वस्तुभाउसँगै सदरमुकाममै बस्न परेको भन्दै उनीहरु वस्तुभाउसहित धर्नामा बसेका हुन्। व्याँससम्मको बाटो निर्माणका लागि दबाब दिन ज्ञापनपत्र बुझाउन आएका व्यासबासी करिब १ घण्टा धर्ना बसेका हुन्।

दुम्लिङदेखि बुँदीसम्म बाटो अवरुद्ध

व्याँस २ दुम्लिङदेखि वडा नम्बर १ बुँदीसम्मको घोरेटो बाटो ठाउँ ठाउँमा भत्किएको छ। गत वर्षसम्म भारतीय प्रशासनसँग अनुमति मागेर कुञ्चा सर्ने गरेका व्याँसवासी यो वर्ष लक डाउनका कारण समस्यामा परेका हुन्। 

‘विगतमा भारतीय बाटो प्रयोग गर्ने गरिन्थ्यो। यो वर्ष त्यो सम्भावना पनि छैन। नेपालतिरको बाटो खोल्नुको विकल्प नै छैन,’ स्थानीय तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति सभापति ललितसिंह बोहरा भन्छन्।

२०५६÷०५७ सम्म नेपाल कै घोरेटो बाटो प्रयोग गरेर कुञ्चा सर्ने गरेको भए पनि त्यसपछि बिस्तारै नेपाली बाटो प्रयोग हुन छोडेको, भारतले सडक बनाएको, सजिलोका लागि उतैको (भारतको) बाटो प्रयोग हुन थालेको उनी बताउँछन्।

दुम्लिङदेखि बुदीसम्मको बाटो केही ठाउँमा भत्किएको र केही ठाउँमा महाकालीले बगेकोले अहिले बाटो प्रयोग गर्न नसकिने अवस्था आएकाले स्थानीयलाई व्याँससम्म पुग्ग समस्या भएको वडा नम्बर १ का अध्यक्ष अशोकसिह बोहरा बताउँछन्।

खेती गर्न पनि समस्या

व्याँस गाउँपालिका वडा नम्बर १ का यी दुई गाउँमा छ महिना मात्रै (बैशाखदेखि असोजसम्म) स्थानीय बस्छन्। हिउँदमा १० फिटसम्म हिउँ पर्ने भएकाले छ महिना (मंसिरदेखि चैत्रसम्म) उनीहरु सदरमुकाम खलंगामा बस्छन्।

व्याँसमा छ महिना र खलंगामा छ महिना बस्दा स्थानीयहरु गाईवस्तुसहित ओहोरदोहोर गर्दछन्। स्थानीय भाषामा यसरी बसाँई सर्नुलाई कुञ्चा सर्ने भन्दछन्। यो वर्ष कुञ्चा सर्न मात्रै नभएर खेतीपाती गर्न समेत समस्या भएको धर्ना वस्न आएका ५० वर्षीय अञ्जली बोहराले भने। 

‘गहुँ लगाउने समय गैसक्यो, एक हप्ता ढिलो भएपछि अन्य अन्नबाली पनि लगाउने समय चुक्छ। अन्य क्षेत्रबाट खाद्यान्न लैजान सकिने अवस्था छैन। अबको बसाइँ समस्या हुने जस्तो छ,’ अञ्जलीले भनिन्।

वर्षमा एक तुल मात्रै खाद्यान्न उत्पादन हुने र त्यसले छ महिना धान्ने गरेको स्मरण गर्दै ७५ वर्षीय घनराज ऐतवाल यो वर्ष खेती गर्ने समय चुक्न लागेकाले सरकारले तत्काल बाटो खोलेर व्याँस पुग्ने व्यवस्था मिलाउनु पर्ने बताउँछन्।

‘अरू कुरा थाहा छैन कुञ्चा सार्न पाइयोस्’

भारतले कालापानी क्षेत्रमा सडक बनाएर उद्घाट गरेको घटना लिएर भारतको विरोध भइरहँदा कालापानी नजिकै (कबिर १२ किलोमिटर दक्षिणपूर्वमा) पर्ने व्याँसका स्थानीयले भारतको विरोध गर्नुभन्दा आफ्नो गाउँसम्म पुग्ने बाटो बनाउन आग्रह गरेका छन्। 

ज्ञापन पत्र बुझाउन आएका ३५ वर्षीय स्थानीय नरेन्द्र बोहरा भन्छन्, ‘गर्मी बढ्न थाल्यो। झोपु र झुमा मर्ने डर हुँदैछ। चाँडै बाटो बनाइदिनुप¥यो।’ ४ झोपुसहित व्याँस कुञ्चा सर्ने तयारीमा रहेका नरेन्द्र भारतले पुल नखोलेको र नेपालतिर पनि बाटो नभएकाले आफ्ना वस्तुभाउ मर्ने चिन्तामा छन्। 

तीन वर्षमा ९४ लाख विनियोजन तर बाटो छैन

दुम्लिङदेखि बुदीसम्मको बाटो मर्मत गर्न तीन वर्षयता ९४ लाख रुपैयाँ विनियोजन भएको देखिन्छ। आर्थिक वर्ष गाउँपालिकाले ०७४÷७५ मा २५ लाख, गत आर्थिक वर्ष गाउँपालिकाले २० लाख र प्रदेश सरकारको तर्फबाट विशेष अनुदानतर्फ २५ लाख र यो वर्ष गाउँपालिकाले विनियोजन गरेको २४ लाखसहित तीन वर्षयता यो बाटो मर्मतका लागि ९४ लाख विनियोजित भएको देखिन्छ।

तीन वर्ष मात्रै नभएर यो बाटो मर्मत गर्न बर्सेनि बजेट विनियोजन हुने गरेको भए पनि बाटो बलियो बन्न नसक्नु, महाकाली किनारको बाटो महाकालीले बगाउनु र पहिरो जाँदा बाटो अबरुद्ध हुने गरेको स्थानीय मानसिह कुवँर बताउँछन्।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.