|

डोल्पा : आर्थिक उपाजर्नको मूख्य स्रोत यार्सागुम्बा संकलन गर्न नपाएका कर्णालीका नागरिकका लागि राहत कोष स्थापना गर्न सांसदहरूले माग राखेका छन्‌।

कोरोना भाइरस संक्रमण फैलन नदिन भन्दै कर्णालीमा यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाइएको छ। यार्सा संकलन गर्न नपाएपछि कर्णालीबासीलाई आर्थिक संकट पर्ने भन्दै पूर्व तयारीका लागि तीनै तहको सरकारसँग सांसदहरुले राहत कोष स्थापना गर्न माग राखेका हुन्।

कर्णाली प्रदेश अन्तर्गत पर्ने डोल्पा,जुम्ला,हुम्ला,मुगु र रुकुम (पश्चिम)का नागरिकहरुको आर्थिक उपार्जनको मुख्य स्रोत नै यार्सागुम्बा हो। कर्णाली प्रदेशका जिल्लाहरुले यो वर्ष यार्सा संकलन पुर्ण रुपमा प्रतिबन्ध लगाएका छन्।

सिजनमा संकलन गरिएको यार्सागुम्बा बिक्रि गरेर वर्षभरका लागि खर्च जुटाउने पाँच जिल्लाका नागरिकहरु यो वर्ष आर्थिक संकटमा परेको कर्णाली प्रदेश सभा सांसद वीरबहादुर शाहीले बताए। 'अहिलेको विषम परिस्थितिमा यार्सागुम्बा संकलनमा रोक लगाएर नागरिकहरुलाई ठुलो जोखिमबाट बचाइएको छ, सँगै कर्णालीका पाँच जिल्लाबासीलाई ठूलो आर्थिक क्षति समेत भएको छ,' उनले भने, 'वर्षभरिका लागि खाद्यान्न जोहो गर्ने, बालबच्चा पढाउने, स्वास्थ्य उपचार गराउने, चाडपर्व मनाउने लगायतको मूख्य आधार नै यार्सागुम्बा हो, यो वर्ष यार्सागुम्बा संकलन गर्न नपाएपछि कर्णालीमा आर्थिक संकटको खतरा बढेको छ।'

यार्सा संकलनमा पनि देखियो लकडाउनको असर, स्थानीयलाई भोकमरीको चिन्ता

स्थानीय, प्रदेश र संघीय सरकारले सरकारले राहत कोष स्थापना गर्नुपर्ने, नेपाल खाद्य संस्थानले उपलब्ध गराउने खाद्यान्नमा पचास प्रतिशतसम्म छुट दिनुपर्ने र यार्सामै निर्भर कतिपय घरधुरीका लागि नि"शुल्क रुपमा खाद्यान्न उपलब्ध गराउनुपर्ने आफूहरूको माग रहेको सांसद शाहीले बताए। 

डोल्पाबाटै कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गरेकी सांसद बद्मीकुमारी बोहोराले यार्सागुम्बा संकलनमा रोक लागेपछि डोल्पा, जुम्ला, हुम्ला, मुगु र रुकुम(पश्चिम)का नागरिकहरु निकै मारमा परेको बताइन्‌। उनका अनुसार पाँच जिल्लामा निकट भविष्यमा निम्तिनसक्ने खाद्य लगायतको संकटको सामना गर्न कर्णाली प्रदेश सरकारले पनि नयाँ बजेटमा राहत कोषनै खडा गरेर पूर्वतयारी गर्नुपर्ने उनको भनाई छ।

कोरोना संक्रमण फैलनसक्ने भन्दै यस वर्ष जिल्ला विपद्‌ व्यवस्थापन समिति, डिभिजन वन र शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाएपछि डोल्पाली नागरिकहरु चिन्तित भएका छन्। बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि हजारौं सर्वसाधारण डोल्पाका उच्च हिमाली पाटनहरुमा पुग्ने गर्थे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.