|

गोरखा : यसअघि ६५३ जनालाई सित्तैमा राहत वितरण गरेको गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले अब राहत पाउनेलाई काममा लगाउने भएको छ। 

दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने विपन्नहरू कोरोना महामारीका कारण लगाइएको लकडाउनका कारण समस्यामा परेपछि देशका अन्य स्थानीय तहमा झैं बारपाक-सुलिकोटमा पनि धमाधम राहत बाँडिएको थियो।

तर, राहत पाउनैपर्ने अवस्थाका मानिसहरू छुटेपछि र पहिलो चरणमा पाएकाहरूलाई फेरि बाँड्नका लागि गाउँपालिकाले दोस्रो चरणमा काम गर्नेलाई मात्र राहत दिने निर्णय गरेको हो। गाउँपालिकाले दोस्रो चरणमा पनि यसअघि नै राहत पाइसकेकालाई काम र पारिश्रमिक उपलब्ध गराउने भएको छ।

राहत पाउने नागरिकहरुमा परनिर्भरता घटाउँदै श्रम गरेर मात्रै जीवन निर्वाह गर्नुपर्ने सन्देश दिन गाउँपालिकाले ‘काममा आधारित राहत’ कार्यक्रम लागु गरेको अध्यक्ष विष्णु भट्टले जानकारी दिए। उनका अनुसार वैशाख २४ गते सम्पन्न गाउँ कार्यपालिकाको बैठकले ‘काममा आधारित राहत’ कार्यक्रमको कार्यविधि अनुमोदन गरी लागु गरेको छ। भट्टले भने, 'राहत पाइन्छ भनेपछि गाउँलेमा श्रम नगर्ने, मागेर पाइन्छ भन्ने बानी विकास हुने भएकाले श्रम गर्नेलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याएका हौं।’ 

अध्यक्ष भट्टका अनुसार अब राहत चाहनेले नाला बनाउने र सफा गर्ने, सिँडी तथा कुलो बनाउने काम गर्नुपर्नेछ। प्रतिघण्टा एकसय रुपैयाँका दरले दैनिक आठ घण्टा काम गर्नेलाई आठ सय रुपैयाँ राहत दिइने उनले बताए। कम समय काम गर्नेलाई कम र बढी समय काम गर्नेलाई बढी ज्याला दिने भएपछि उनीहरुमा काम गर्ने बानी विकास हुने अध्यक्ष भट्टको दाबी छ।

काममा आधारित राहत कार्यक्रमका लागि गाउँपालिकाले हाल प्रत्येक वडालाई तीन लाख रुपैयाँका दरले २४ लाख रुपैयाँ रकम छुट्याएको छ। कार्यक्रम उत्साहजनक देखिए बजेट थप गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताएका छन्‌।

कार्यक्रम कार्यान्वयनको जिम्मा वडाअध्यक्षहरुलाई दिएको गाउँपालिकाले जनाएको छ। ‘कामको योजना बनाउने, कामदार छनौट गर्ने, कामको मूल्याङ्कन गर्ने, कामदारको निगरानी गर्ने, भुक्तानी गर्ने सबै जिम्मा वडा कार्यालयलाई दिने निर्णय भएको छ’, भण्डारीले भने, ‘श्रमिक छनौट गर्दा पहिलो चरणमा राहत पाएकाहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने, वडा अध्यक्षले एउटा समूहमा पाँचजना मात्र रहने गरी समूह विभाजन गरी काम लगाउनु पर्ने लगायतका व्यवस्था कार्यविधिमा छ।’ पहिलो चरणमा गाउँपालिका भरिमा ६३५ जनाले राहत पाएका थिए। यसमा थपघट हुनसक्ने उनले बताए।

अहिले वडा नं. ६ को डाँडागाउँमा भेल कटाउने काम सुरू भइसकेको गाउँपालिकाले जनाएको छ। त्यस्तै वडा नं. ५ को लाकुरीबोटमा सिंढी बनाउने काम पनि सुरू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए।

गाउँपालिकाले उपभोक्ता समितिमार्फत गरिने काममा मेसिनको प्रयोगलाई निरुत्साहन गर्ने र धेरै ज्याला दिएर भएपनि मानिस नै प्रयोग गरी काम गर्ने नियम लागू गरेको अध्यक्ष भट्टले बताएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.