सांसदले उपत्यकामा मान्छे छिराएको गुनासो

|

काठमाडौं : काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य ६ नाकामा निगरानी बढाएपछि प्रवेश गर्नेको संख्या पनि घटेको छ। नागढुंगा,फर्पिङ र जगाती नाकाबाट सवारी साधन र मानिसको ओहोरदोहोर हुने गर्छ।

कोरोना संक्रमण फैलने त्रासले लकडाउन गरेपछि पनि उपत्यका प्रवेशमा मानिसको कमी भएको थिएन। गृह मन्त्रालयले जिल्ला प्रशासनलाई  नियन्त्रण गर्ने आदेश दिएपछि सवारी साधन  र मानिसको प्रवेशमा कमी आएको हो।

काठमाडौं उपत्यकाको दुई जिल्लामा कोरोना संक्रमण देखिएपछि काठमाडौंको हरेक नाकामा चेकजाँचमा कडाइ गरेपछि मानिसको संख्या कमी आएको हो।मालवाहक सवारीसाधन,खाद्यान्न तथा एम्बुलेन्सलाई नाकाबाट निर्वाध रुपमा प्रवेश गर्न दिइरहेको छ।

खाद्यान्‍नका साधन र एम्बुलेन्स मात्रै 

खाद्यान्‍नको ढुवानीमा २ जना र एम्बुलेन्समा ४ व्यक्तिलाई प्रवेश गराइरहेको इलाका प्रहरी कार्यालय फर्पिङका प्रहरी निरीक्षक अनु लामाले जानकारी दिइन्। उनका अनुसार २४ घण्टामा ११ वटा सवारी साधन र २२ जनाले प्रवेश अनुमति पाएका छन्।

'पास भएका कुनै पनि सवारी साधन यस नाकाबाट छिरेका छैनन्,' लामाले थाहाखबरसँग भनिन्,' यस नाकाबाट बढी मात्रामा खाद्यान्नको ढुवानी हुने गर्छ।' यस नाकाबाट पैदलयात्री प्रवेश नगरेको लामाले जानकारी दिइन्।

दुई-चार दिनअगाडि दैनिक जसो १ सय भन्दा बढी मानिसहरु प्रवेश गर्ने गरेको  पनि प्रहरी निरीक्षक लामाले बताइन। ४० भन्दा बढी मालवाहक सवारी साधन प्रवेश गर्थे। अहिले भने पैदलयात्री प्रवेशमा कडाइ गरेकोले कुनै पनि व्यक्ति यस नाकामा नछिरेको उनको भनाई छ।

'वैकल्पिक मार्ग यस क्षेत्रमा ३ वटा छन्,' उनले भनिन,'भित्री मार्गमा कडाइका साथ सुरक्षाकर्मीले गस्ती गरिरहेका छन्। स्थानीय जनप्रतिनिधिसँग वडा प्रवेशमा कडाइ गर्नलाई छलफल भइरहेको छ।'

दक्षिणकाली नगरपालिकाका प्रमुखसँग नाका कडाइ र वडामा आवतजावत बन्द गर्ने बिषयमा छलफल भइसकेको बताउँदै निर्णय गर्न बाँकी रहेको उनले बताइन्।

माया र मानवीयताको हेरे हुँदैन : भक्तपुर महानगरीय प्रहरी

गृहमन्त्रालयले स्वीकृति दिएकाबाहेक अन्य सवारी साधनलाई प्रवेश गर्न नदिएको भक्तपुर महानगरीय प्रहरी परिसरका उपरीक्षक सविन प्रधानले बताए। एम्बुलेन्स र अस्पताल जाने मानिसलाई मात्र छोडिरहेको एसपी प्रधानले जानकारी दिए।

'उपत्यकामा संक्रमण फैलिसकेका कारण दयामायाका आधारमा यस नाकाबाट कुनै पनि मानिसलाई प्रवेश गर्न दिइएको छैन,' प्रधानले भने। हप्ता दिनको तुलनामा मानिसको प्रवेशमा एकदमै कडाइ गरिएको र मानिसको प्रवेशमा पनि कमी आएको मानिसको प्रवेशमा शुन्य भइसकेको उनले जानकारी दिए।

काभ्रेबाट केही सरकारी कार्यालयका र वित्तीय संस्थाका कर्मचारी मात्र प्रवेश गरिरहेको उनले जानकारी दिए। तराईका जिल्लाबाट कोहीपनि प्रवेश नगरेको उनको दाबी छ। 

पास भएका सवारी साधन मात्रै थानकोट प्रहरी प्रभाग

नागढुंगाबाट पासबिनाका कुनै पनि सवारी साधनलाई प्रवेश नदिएको थानकोट प्रहरी प्रभागका प्रहरी निरीक्षक हेमन्त थापाले बताए। आपतकालीन र अतिआवश्यकबाहेकका सवारी साधन मात्रै प्रवेश गर्न दिएको थापाले जानकारी दिए।

अन्य दिनको तुलनामा सवारी प्रवेशमा कमी आएको उनको दाबी छ। पास नभएका केही सवारी साधनलाई फर्काइएको उनले जानकारी दिए

'मिडियामा आएजस्तो यस नाकाबाट कोही पनि त्यसरी धेरै मानिस छिरेका छैनन्', उनले थाहाखबरसँग भने,' मानिसको प्रवेशमा शून्य जस्तो भएको छ। मालवाहक सवारी साधनमा २ जना चालक र सहचालकलाई मात्र प्रवेश गर्न दिइएको छ।'

सांसदसँग दैनिक पाँचजना आउँदै

उपत्यकाका तीनवटा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर उपत्यका प्रवेश नाकामा कडाइ गरिएको काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शिवराज वैद्यले बताए। काठमाडौं र भक्तपुरमा संक्रमण फैलिएपछि प्रवेश नाकामा कडाइ गरिएको वैद्यले जनाए।

संसद चलिरहेकोले बाहिरी जिल्लाबाट सांसदसँग चारदेखि पाँचजना मानिस भित्रिरहेको उनको दाबी छ। 'जनप्रतिनिधिको आडमा काठमाडौं उपत्यका प्रवेश गरिरहेका छन्। त्यसो नगर्न जनप्रतिनिधिलाई आग्रह गर्छु,' वैद्यले भने।

'जङ्गलको बाटो प्रयोग गरेर आइरहेका छन। त्यस्तो बाटोमा पनि निगरानी गरिनुपर्छ,' उनले भने,' सुरक्षा व्यवस्था र नाकामा प्रवेशमा कडाइ गरिएको छ।'

उपत्यका प्रवेश गरेका मानिसहरुलाई घरधनीले पिसिआर परीक्षणका लागि दबाब दिएको समाचार आएको छ। त्यसरी दबाब दिँदा नराम्रो सन्देश जाने वैद्यले बताए। बाहिरबाट आएका भ ए पनि त्यस्ता व्यक्तिलाई सम्झाइ बुझाइ परीक्षण गर्न पठाउनु पर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.