दुई महिनादेखिको बिलौना कसैले सुनेन
दुई महिनादेखिको बिलौना कसैले सुनेन
काठमाडौं : बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले नेपाल सरकारले स्वदेश फर्काउन पहल नगरेको बताएका छन्।
बंगलादेशमा रहेका नेपाली विद्यार्थीले दुई महिनादेखि आफूहरुले स्वदेश फर्काइदिन माग गरे पनि नेपाल सरकारले कुनै पहल नगरेकाे गुनासाे गरेका छन्। ढाकामा एमबिबिएस पढ्दै गरेका नवीन यादवका अनुसार विद्यार्थीहरुले आफूहरुको माग सरकारले बेवास्ता गरेको भन्दै शुक्रबारदेखि अनशनसमेत सुरु गरेका छन।
'बंगलादेश लगायत विश्वका अन्य धेरै मुलुकले नेपालबाट नेपाली ध्वजावाहक विमानमा आफ्नो देश पुगेका छन्। ती जहाजहरु नेपाली नागरिकलाई भने उपलब्ध हुन नसक्दा हामी दुखी छौं,' यादव भन्छन, 'देशले चिकित्सा विषय पढ्न परदेशिएका हामीलाई परदेशी सम्झिएको छ।हामी आफ्नै देशका लागि पराई भएका छौ।'
लगभग ८ सय चिकित्सा शिक्षा पढिरहेका विद्यार्थीहरु बंगलादेशमा अलपत्र छन। बंगलादेशमा रहेका श्रीलंका,भारत, माल्दिभ्स र पाकिस्तानमा रहेका विद्यार्थी स्वदेश फर्काउने काम सम्बन्धित देशले गरिसकेको छ। त्यहाँ रहेका नेपाली विद्यार्थीले बंगलादेशस्थित नेपाली राजदूतावासलगायत नेपाल सरकारले उद्धारका लागि पत्र लेखे पनि आजसम्म कुनै सुनुवाइ भएको छैन। यादव भन्छन, 'यहाँबाट नेपाल जम्मा हवाई दूरी १ घन्टा छ। तर, सरकारले हामीलाई कुनै अभिभावकत्व दिन सकेन। हाम्रा समस्यालाई समाधाम गर्न योजना समेत औपचारिक रुपमा बुझाउन सकेन।'
बंगलादेशमा यो समाचार तयार पार्दा सम्म १८ हजार८ सय भन्दा बढी नागरिक कोरोना भाइरस संक्रमित पाइएको छ। यस्तै कोरोनाबाट ज्यान जानेको संख्या २८३ पुगेको छ। प्रधानमन्त्री शेख असिनाले सेप्टेम्बरसम्म लकडाउन हुने चेतावनी दिएकी छिन। लकडाउन घोषणा गरेपनी मुस्लिम समुदायको महान चाड रमदान र आउदै गरेको इदले सरकारले तोके जस्तो लकडाउनको पुर्ण पालना हुन सकेको छैन। जसले गर्दा कोरोना संकट थप जटिल हुँदै गएको यादवले बताए।
जनघनत्व बढी भएको राजधानी ढाकामा कोरोनाको जोखिम उच्च छ। त्यहाँ अलपत्र परेका नेपाली विद्यार्थीहरुलाई पनि बढ्दै गएको जोखिमले मानसिक तथा आर्थीक रुपले जटिलता थपिएको छ। 'भित्र बसौं भोकभोकै मरिएला भन्ने डर छ। खाद्यान्नको लागि बजार जाउँ कोरोना लाग्ने जोखिम छ। हामी आफ्नै कलेजको होस्टलमा बसेको पनि दुई महिना हुन लागिसक्यो। हामीसँग अब नेपाल फर्किने विकल्पबाहेक अरु केही छैनु,' यादवले भने।
कोरोना संकटको अहिलेको लडाई कोरोना र स्वास्थ्यकर्मी बिचको हो। नेपालमा पनि कोरोना जोखिम बढ्दै गएको छ। चिकित्सा शिक्षा पढ्न गएका नेपाली विद्यार्थीलाई नेपाल ल्याउन सरकारले पहल चाल्नुपर्छ। यादव भन्छन् , 'हामीले यहाँ सिकेको ज्ञानले नेपालमा रहेको कोरोना संकटलाई न्यूनीकरण गर्न मद्दत पुग्न सक्छ। यो विषयमा पनि सरकारले ध्यानाकर्षण गर्न चाहन्छौ।'
आफूहरु बस्ने होस्टलमा पनि विद्यार्थीहरुलाई कलेजले नेपाल फिर्ता कहिले हुने भनेर प्रश्न गरिरहेको यादव बताउँछन्। त्यहाँ रहेका अधिकांश विद्यार्थीलाई अहिले आर्थिक अभाव छ। त्यसमाथि होस्टलले आफूमाथि देश फर्किने कहिले भनेर प्रश्न गर्दा आफूहरु लज्जित हुनुपरेको यादवले बताए।
होस्टलका लागि पनि नेपाली विद्यार्थीहरु बोझ हुन थालेका छन्। 'एकातिर होस्टलले आफू र देशमाथि प्रश्न गर्छ। अर्कोतर्फ देशले हामीलाई आफ्नो नागरिक सम्झेको छैन। कोरोनाभन्दा पहिले देशले गरेको गैरजिम्मेवारी प्रवृत्तिले हाम्रो ज्यान लिने सम्भावना बढी छ।'
२ महिना सेल्फ क्वारेन्टाइनमा बसिसकेका छ्न् उनीहरु। विद्यार्थीहरुले सरकारसँग मागेको केवल चार्टर गर्ने विमान मात्र हो। 'हामीलाई थाहा छ, देश गरिब छ। हामीलाई विमान चार्टर गर्दा लाग्ने रकम पनि आफैं तिर्न तयार छौं। सरकारले विमान पठाएर हाम्रो उद्धार गरिदिए पुग्छु, यादवले भने, 'नेपालमा पुगेर हामी घर बस्ने होइनौ, सरकारले तोकेको निस्चित समयावधिसम्म क्वारेन्टाइनमा बसेर हामीले पढेको ज्ञान प्रयोग गरेर कोरोना संकट विरुद्ध लड्छौं भनेर भनिरहेका छौं। तर, दुखको कुरा हाम्रो साथमा संकट बेला राज्य भएन।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।