|

ज्ञान जति बुझ्यो बुझेर सकिंदैन। सीप सिकेर सकिँदैन। ज्ञानको गहिराइ अहिलेसम्म कसैले भेटेको छैनI कतिपय मानिसलाई मैले धेरै जानिसकें भन्ने लाग्दछ तर त्यो त अल्पताले दिएको भ्रम मात्र होI

विद्यालय शिक्षादेखि लिएर, विश्वविद्यालयसम्म, गोष्ठी सेमिनारदेखि विदेशी तालिमसम्म, प्रवचन, भाषण र उद्घोषणदेखि लेखन र प्रस्तुतिसम्मका ज्ञान सीप सिकिन्छ सिकाइन्छ तर पूर्ण हुँदैन। साहित्य रचनात्मक कार्य, व्यावसायिक शिक्षा आदि इत्यादिको ज्ञान र सीप भए पनि ती कुनै स्रोतबाट सिकेर, जानकारीको आधारमा अभ्यस्त भएका ज्ञान हुन्I

व्यवहार र सिकाइको आधारमा विषयगत ज्ञान र वस्तुगत ज्ञान, कुन स्तरको, के जानियो, के सिकियो, कहाँबाट सिकियो त्यो थाहा हुन्छ। तर, कहाँसम्म जान्नुपर्ने हो त्यसको लागि बाहिरी ज्ञानभन्दा पनि भित्री ज्ञानले महत्व राख्दछI भौतिक र आध्यात्मिक दुवै ज्ञान मानिसले लिन सक्दछ र लिएको पनि छI जो भौतिक कुरालाई मात्र जान्ने कोशिस गर्दछ उसलाई आध्यात्मिकताको रूचि नहुन सक्दछI

ज्ञानले व्यक्तिमा आत्मिकभाव र करुणाको विकास गर्दछ। के गर्नुपर्ने, के गर्न नहुने, सही, गलत, न्याय, अन्यायको बोध गराउँछ। सत्य, असत्य, विश्वास, अविश्वास, भक्ति, श्रद्धा, भरोसा, प्रेम सबै ज्ञानका आयाम हुन्I कुन आयामले बढि प्राथमिकता पाएको छ त्यसै आधारमा मानिसको व्यक्तित्व र जीवनशैली निर्धारित भएको हुन्छ।

मस्तिष्कबाट प्राप्त ज्ञान

कुनै पनि परिस्थिति, व्यक्ति, पेसा या व्यवहारमा फाइदा, बफाइदा, हित, अहितलाई तर्क र अनुभवको आधारमा ग्रहण गरिएको ज्ञान मस्तिष्कबाट प्राप्त ज्ञान हुन्I अझ भनौँ हाम्रा इन्द्रियहरूले अनुभव गरेका ज्ञान जसलाई मस्तिष्कले स्वीकार गर्दछ र हामीलाई ठिक लाग्दछI मानिस चेतनशील प्राणी पनि हो त्यसैले इन्द्रियहरूमार्फत चेतना सक्रिय हुन्छI इन्द्रियले दिएको जानकारीअनुसार संशय, स्मृति, घृणा, प्रेम, स्वीकार अर्थात् सबै अनुभवका संश्लेषणात्मक एवं विश्लेषणात्मक रूप नै मस्तिष्करूपी ज्ञान हुन्I

मस्तिष्करूपी ज्ञानमा जे प्राप्त भएको हुन्छ त्यसमा तर्क दिने आधार हुन्छन्I यसमा अंकगणितले काम गर्दछI झुठो, साँचो, उचित, अनुचित, सैद्धान्तिक,  असैद्धान्तिक, वैधानिक, अवैधानिक जस्ता विचार, चिन्तन, दृढता र तिनको भिन्नता छुट्टयाउन सक्ने क्षमता मस्तिष्करूपी ज्ञानअन्तर्गत नै पर्दछन्I विभिन्न विषय र प्रसंगमा जानकारी संग्रह गर्नु, संग्रह गरेको जानकारीलाई बुद्धिमत्तापूर्ण प्रयोग गर्नुपनि मस्तिष्करूपी ज्ञान होI

समग्रमा भन्नुपर्दा संसारिक विषयवस्तुका सबै पक्षलाई जान्नु, सम्झिनु, परिचित हुनु, त्यसमा  प्रवीणता हुनु र विद्या प्राप्त गर्नु मस्तिष्करूपी ज्ञान हुन्। त्यस्तो ज्ञानले जीवनलाई बाँच्न सजिलो पार्छI तर, यी सबै ज्ञान नै पूर्ण ज्ञान भने होइनन्I मसँग बुद्धि छ, जानकारी छ, विद्या अर्थात् डिग्री छ, समझ छ, हरेक विषयवस्तुसँग परिचित छु भन्दैमा सबै जानेको हुँदैन। यी जानकारीले मात्र हाम्रो ज्ञान अपूर्ण नै रहन्छI यी चिजभन्दा पर पनि केही चिज छ जसलाई सबै मानिसले जान्नुपर्नेछI

प्रज्ञारूपी ज्ञान

हाम्रो बुद्धिभन्दा पनि पर, बुद्धिभन्दा पनि भित्र, अन्तर्मनबाट निस्कने ज्ञान नै प्रज्ञा होI आत्मसाक्षात्करबाट प्राप्त ज्ञान प्रज्ञा होI बाहिरका घटनाले कुनै अभाव, प्रभाव, उत्तेजना, सुख, दु:खको महसुस नगराई केवल साक्षीमा रहन मद्धत पुगेको छ भने त्यो प्रज्ञारूपी ज्ञान होI

इन्टेलेक बुद्धिरूपी ज्ञान हो भने इन्टेलिजेन्स प्रज्ञारूपी ज्ञान होI बुद्धि सजग भएपछि विवेक जागृत हुन्छ भने विवेक परिपक्व भएपछि प्रज्ञा जागृत हुन्छ। कहाँ बुद्धिको सीमा पूरा भएर प्रज्ञाको आयाम शुरू हुन्छ हामीले कहिल्यै ख्याल गरेका छौं ? हामी कुन स्तरको ज्ञानमा छौं र के को प्रयोग गर्छौं तब मात्र थाहा लाग्छ हामीले पूर्ण ज्ञान प्राप्त गरेका छौं कि छैनौँ ?

ज्ञान विकृत जानकारी र अतिरञ्‍जनाबाट पनि प्राप्त हुन सक्दछ तर प्रज्ञा भने ध्यान, समाधि र सुमिरनको अभ्यासले मात्र बोध हुन्छI जतिबेला हामीमा दिव्यता, स्व-प्रकाश र आत्मा आलोकको अनुभूति हुन्छ तब जानौं हामीमा प्रज्ञाको विकास भएको छI प्रज्ञा परिपक्व भएपछि उत्तम ज्ञान अर्थात् तत्व ज्ञानको अभ्युदय हुन्छI

तत्व ज्ञान

संसारको अल्प ज्ञान मात्र जान्ने होइन, सृष्टिको सार तत्व जान्नु तत्व ज्ञान होI भगवान् कृष्ण तत्व ज्ञानको विषयमा मीठो गरी भन्नुहुन्छ, 'जीवनमा सबै व्यक्ति श्रेष्ठ बन्न चाहन्छन्I प्रयास गरेपछि श्रेष्ठ बनिन्छ पनि तर श्रेष्ठ बन्नु अन्तिम लक्ष्य होइन, श्रेष्ठ भन्दा माथि उत्तम बन्नुपर्छI' भौतिक र व्यावहारिक ज्ञान मात्र होइन जीवात्मा, परमात्मा, अस्तित्वको रहस्यसमेत जान्न सक्नु उत्तम ज्ञान होI

श्रेष्ठतम् व्यक्तिमा अझै पनि प्रतिस्‍पर्धा बाँकी रहन्छ भने उत्तम अर्थात् तत्व ज्ञान प्राप्त व्यक्तिमा केवल बोध र साक्षी बाँकी रहन्छI

तत्व ज्ञानलाई अरू प्रष्ट पार्दै ओशो बताउनुहुन्छ, 'न्युटनले बगैंचामा बसेर रूखबाट स्याउ भुइँमा खसेको देखे, उनमा जिज्ञासा जाग्यो, रूखको स्याउ कसको ऊर्जाले गर्दा भुइँमा खस्यो होला?' न्युटनभन्दा अघि पनि त कसैले रूखबाट स्याउ भुइँमा खसेको त देखेको थियो होला!

तर, कसैमा यो ज्ञान आएन किन र कसरी भनेर रहस्य खोजेन ! न्युटनले गहिराईमा गएर सोचे, जान्ने जिज्ञासा राखे र पत्तालगाए पृथ्वीको गुरुत्वाकर्षणको नियमI

ओशो थप्नुहुन्छ- मैले भन्नुपर्दा न्युटनको यो ज्ञान पनि अझै अधुरो छ अर्थात् न्युटनपछि पनि कसैले त्योभन्दा अर्को रहस्य पत्ता लगाउने ज्ञानमा पुग्न सकेनन्I

न्युटनले रूखमा फलेको स्याउलाई पृथ्वीले आफूतिर आकर्षण गरेको रहस्य त पत्ता लगाए तर माटोमुनि रोपेको स्याउको बिउ उम्रेर, वृक्ष बनेर माथि कसरी पुग्यो र माथि फल कसरी लाग्यो होला भन्ने चाहिँ जान्न खोजेनन्। माटोमुनि रोपेको बिउ वृक्ष बनेर आकाशमा पुग्ने र आकाशमा फल  कसरी लाग्छ ? भन्‍ने विषयमाथि अध्ययन अनुसन्धान गर्ने कसले होला ?

फलेको स्याउ भुइँमा खस्नु गुरुत्वाकर्षणको नियम थियो भने भुइँको बिउबाट विरुवा बनी हुर्कंदै माथि गएर रूखमा फल लाग्नु अनि त्यो फलमा स्वाद, रस, रङ्ग भरिनु के हो त? अवश्य यो अस्तित्वको आकर्षणको नियम होI त्यसैले तलको आकर्षणको मात्रै ज्ञान हुनु अपूर्ण ज्ञान हो, माथिबाट पनि कसैले खिचिरहेको हुन्छ त्यो पनि जान्नु तत्व ज्ञान होI

बिउबाट वृक्ष बन्ने ओशोको ज्ञान

तत्व ज्ञानलाई अझै प्रष्ट पार्न र मानिसलाई जागृत गराउन ओशो भन्नुहुन्छ-“जसरी कुनै  बिउ माटो मुनिबाट फुटेर बाहिर निस्की अंकुरित हुन्छ र आकाशतिर बढ्छ त्यसैगरी मानिसको ज्ञान पनि अंकुरित भएर आकाशरूपी उच्च चेतनामा यात्रा गर्न जान्यो भने अहंकार तिहोहित हुन्छ र तत्व ज्ञानमा उपलब्ध हुन्छI

बिउ फुटेर, माटो तोडेर बाहिर अंकुरित हुनु भनेको बिजरूपी अहंकारबाट वृक्षरूपी चेतनातिर अग्रसर हुनु हो। एउटा बिउ वृक्षमा रूपान्तरण हुने कला जस्तै मानिस पनि आफ्नो सांसारिक ज्ञान र अहंकारबाट रूपान्तरण हुन सकेमा मात्र तत्व बोधमा उपलब्ध हुनसक्छ। माटोमुनि रोपिएका सबै बिउ उम्रेर वृक्ष हुन्छन् भन्ने छैन, कतिपय बिउले आफ्नो अहंकार त्याग्न सक्दैनन् र अंकुरित हुनुको साटो माटोमुनि नै कुहिन पुग्छन्।

वृक्ष बन्नु भनेको पत्थररूपी बिउबाट फुटेर नरम विरूवा बन्नु हो अनि त्यहि विरूवालाई अस्तित्वले माथितिर आकर्षित गर्दछ र विशाल वृक्ष बन्दछI त्यसैगरी, मानिस पनि आफ्नो सांसारिक दम्भ, सफलता, जानकारी, बुद्धिमता जस्ता प्रतिस्पर्धाका पत्थर र अहंकारलाई तोड्न नसक्दासम्म तत्व ज्ञानमा उपलब्ध हुन सक्दैनI

जबसम्म मानिसमा अन्तर जिज्ञासा र अस्तित्वको रहस्य बारेमा चिन्तन बनी रहन्छ तब उसलाई स्व-बोध र आत्मज्ञानको अनुभूति हुन थाल्दछI आजसम्म केही प्रतिशत मानिस मात्र तत्वबोधमा उपलब्ध हुन सकेका छन् त्यसको कारण उनीहरूले सांसारिक ज्ञान मात्र आर्जन गरेनन् अस्तित्वगत ज्ञानलाई पनि जान्ने कोशिस गरेI सतही ज्ञान र जानकारीमा मात्र अल्झेनन् त्यो भन्दा गहिराईमा जाने प्रयास गरेI

संसारमा रहेर पनि सन्यस्त बन्न सकिन्छ भन्ने विश्वास राखेI मानिस सांसारिक सुखभोग र सफलता, असफलतामा मात्र अल्झिने प्राणी मात्र होइन ऊ भित्र अध्यात्मको विशाल खजाना छ भन्ने ज्ञान प्राप्त गरेI

आध्यात्मिक ज्ञानको खोजले जीवनलाई निर्भयता, निश्चिन्तता, स्वाधीनता, प्रियता र पूर्णतामा लैजान्छI अभाव, अपूर्णता, अपेक्षा तिरोहित हुँदै जान्छन् र मानिसमा तृप्तताको गुणवत्ता विकास हुन थाल्दछI एउटा नैसर्गिक सफलता मिलेको अनुभूति हुन्छI

त्यसैले अझैपनि प्रत्येक व्यक्तिले सोच्न र बोध गर्न आवश्यक छ कि मैले जानेको यो सांसारिक एवं जानकारीमुलक ज्ञान नै पर्याप्त छ त? म पूर्ण ज्ञानमा उपलब्ध हुनमा कठिनाई मैले नै सृजना गरेको त होइन?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.