|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका २१ हजार ६ सय बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ। यस प्रदेशमा कोरोना परीक्षणका लागि फागुन १ गतेदेखि नमुना संकलन सुरु भएकोमा हालसम्म दुवै विधिबाट २१ हजार ६ सय ८३ जनाको कोरोना परीक्षण गरिएको हो। 

शनिबारसम्म पिसिआर विधिबाट ३ हजार ४ सय १४ जनाको र १८ हजार २ सय ६९ जनाको र्‍यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। ३ सय ३४ जनाको रिपोर्ट आउन बाँकी छ। पिसिआर प्रविधिबाट परीक्षण गरिएकामध्ये हालसम्म पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पुष्टि भएका पाँचै जना निको भएर घर गएका छन्। 

कोभिड–१९ लाई जित्दै अस्पतालबाट घर फर्किनेमा तीन पुरुष र दुई महिला छन्। घर फर्किने चार कैलालीका हुन् भने, अर्का एक कञ्चनपुरका हु्न्। आरडिटी गरिएकामध्ये ३२ जनामा पोजेटिभ देखिएको छ। जसमा ११ जनाको पिसिआर नेगेटिभ देखिएको जनाइएको छ। २१ जनाको पिसिआर परीक्षणको क्रममा रहेको निर्देशनालयले जनाएको छ।

कोरोना शंकास्पद १ सय ४६ बिरामी डिस्चार्ज

सुदूरपश्चिमका विभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका एक सय ४६ जना डिस्चार्ज भएका छन्। प्रदेशभरका १५ वटा अस्पतालबाट अहिलेसम्म एक सय ४६ बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालबाट अहिलेसम्म ५१ जना, डडेल्धुरा अस्पतालबाट १९, बयलपाटा अस्पताल अछाम र जिल्ला अस्पताल अछामबाट १७÷१७ जना डिस्चार्ज भएका छन्। यस्तै महाकाली अस्पतालबाट ९ जना कोरोनाका शंकास्पद बिरामी डिस्चार्ज भएका छन्। 

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार जिल्ला अस्पताल डोटीबाट ६, जिल्ला अस्पताल बैतडी र गोकुलेश्वर अस्पतालबाट ५–५, जिल्ला अस्पताल बाजुरा र भजनी स्वास्थ्य केन्द्राबाट ४–४, चौमला स्वास्थ्य केन्द्रबाट ३, टीकापुर र जोगबुढा अस्पतालबाट २–२, जिल्ला अस्पताल बझाङ र कोल्टी स्वास्थ्य केन्द्रबाट एक–एक जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन्। 

उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आइसोलेसमा राखिएको तर पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ।अहिलेसम्म सुदूरपश्चिका विभिन्न अस्पतालमा एक सय ६३ शैयाको आइसोलेसन स्थापना भइसकेको छ।

११ जना आइसोलेसनमा

निर्देशनालयका अनुसार कोरोना आशंकामा शनिबारसम्म ११ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ। जिल्ला अस्पताल बझाङमा ८, डडेल्धुरा, डोटी र बैतडी अस्पतालमा एक–एक जनालाई आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ। 

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा निर्माण भएका क्वारेन्टाइनमा एक हजार ४ सय ९३ जना बसिरहेका छन्। जसमा एक हजार ३ सय ६० पुरुष छन् भने एक सय ३३ महिला छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.