आफैंले पास बनाएर सेकुवा खान ३० किलोमिटर पर गएका थिए

|

हेटौंडा : देशमा लकडाउनमा छ। सबै सरकार यतिबेला लकडाउन बलियो पार्दै कोरोना संक्रमण रोक्ने प्रयासमा छन्। तर बागमती प्रदेश सरकारका एक जना सचिव भने शनिबार परिवारसहित सरकारी गाडी लिएर काफल खान भन्दै मकवानपुरको उत्तरी क्षेत्र दामन घुम्न निस्केको भेटिए।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्ट लकडाउनमा आफैंले पास बनाएर परिवारसहित घुम्न निस्केका हुन्।काफल किन्दै गर्दा सञ्चारकर्मीहरुलाई देखेपछि तर्केका उनले आफू चुनियाँबाट कैलाश गाउँपालिका जाने सडक अनुगमन गर्न गएको दाबी गरे। 

त्रिभुवन राजपथको सडकखण्डको चुनियाँबाट कैलाश गाउँपालिकाको सदरमुकाम जोड्न प्रदेश सरकारले यो आर्थिक वर्षमा बजेट दिएको छ। उक्त सडकको अनुगमनमा जानुको सट्टा सचिव भट्ट परिवारसहित ३० किलोमिटरभन्दा धेरै टाढा उत्तरी क्षेत्रमा दामनसम्म पुगेर आए।

सचिव भट्टले सुरुमा आफू अनुमगनमा निस्केको दाबी गरे पनि पछि परिवारसहित हेटौंडामा बसेकोले ‘लकडाउनमा कति बस्ने हेटौंडामा’ भन्दै परिवारलाई सँगै लिएर गएको स्विकारे। 

मकवानपुरका सिमभञ्ज्याङमा केही स्थानीयलाई काफल टिप्न लाएर दामन आसपाससम्म पुगेर भीमफेदी २ मा आराम गर्न रोकिएका थिए उनी। अनुगमन गर्न गएको सडकभन्दा ३ किलोमिटरमाथि रहेको एक स्थानीय होटल लोकल कुखुराको सेकुवा बनाउन अर्डरसमेत उनले दिएका थिए। 

लकडाउनको बेला बन्द हुनुपर्ने होटल प्रदेश सरकारकै सचिव आएका कारणले खोलेको उक्त होटल सञ्चालकले बताए। प्रदेश सरकारका सचिवहरुले जिल्लाभित्र जान आफैंले पास बनाउने गरेका पनि पाइएको छ। 

सचिव भट्टले बनाएको पासबारे जिल्ला प्रशासन कार्यालयले भने अनभिज्ञता देखाएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले आफूलाई यसबारे जानकारी नभएको बताए। 

प्रदेशका सचिवहरुले आफैंले पास बनाउने गरेका पनि उनले खुलाए। संकटको बेलामा सरकारका जिम्मेवार पदमा रहेका कर्मचारी शनिबार सरकारी गाडीमा सपरिवार लिएर हिँड्नु कत्तिको उचित हुन्छ ? पश्न तेर्सिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.