सिन्धुपाल्चोकमा कोरोना त्रास !

|

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट पहिलो मृत्यु भएपछि सिन्धुपाल्चोकको जनजीवन त्रासपूर्ण बनेको छ। बाह्रबिसे नगरपालिका ९ राम्चेकोे २९ वर्षीय सुत्केरीको शुक्रबार राति मृत्यु भएको हो। उनलाई धुलिखेल अस्पताल ल्याइँदै गर्दा मृत्यु भएको थियो। 

बाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले भने, ‘महिलाको मृत्यु भएपछि स्थानीयमा कोरोना त्रास फैलिएकोे छ। त्यसैले हामीले महिलाका आफन्त र सम्पर्कमा आएका सबैको स्वाब परीक्षण जारी राखेका छौँ’, उनले भने। 

२०७१ सालको जुरे पहिरोले लपेटेको स्थानीयलाई भोटेकोसी बाढी, ०७२ सालको विनाशसकारी भूकम्पबाट तंग्रने क्रममा रहेको सिन्धुपाल्चोकमा कोरोना त्रास थपिएको नगरप्रमुख शेर्पा बताउँछन्। 

स्वास्थ्य परीक्षणको दायरा वृद्धि : मन्त्री दुलाल 

बागमती प्रदेशको स्वास्थ्य विज्ञसहितको टोलीले आइतबार मृतक महिलाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब परीक्षण गरिएकोे बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले जानकारी दिए। ‘हामीले आइतबार ५६ जनाको स्वाब संकलन गरेका छौँ। त्यही क्षेत्र महिलाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन आज पनि जारी रहन्छ’, उनले थाहाखबरसँग भने। बागमती प्रदेशले कोरोना रोकथाम तथा न्यूनीकरणका लागि स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको समेत जनाए। 

महिलाको परिवारको रिपोर्ट नेगेटिभ

कोरोनाको कारणले मृत्यु भएकी महिलाको आफन्तको रिपोर्ट नेगेटिभ आएको बाह्रविसे नगरपालिका प्रमुख शेर्पाले जानकारी दिए। ‘मृतक महिलाको श्रीमान, आमा, नन्द र बच्चाको पीआरटी रिपोर्ट नेगेटिभ आएको जानकारी आएको छ’, उनले भने। ‘शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरेर स्वास्थ्य प्रयोगशाला टेकुमा पठाएका छौँ। त्यसको रिपार्ट मंगलबारसम्म आउने बताइएको छ’, प्रमुख शेर्पाले भने, ‘अहिलेसम्म हामीले ५६ जनाको स्वाब संकलन गरेका छौँ। आज पनि त्यसलाई  निरन्तरता नै दिइनेछ।’

कोरोना संक्रमित महिलाको गाउँ, माइतीगाउँ, बाह्रबिसे स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सुरक्षाकर्मीको समेत स्वास्थ्य परीक्षण हुने उनले बताए। 

सुरक्षा व्यवस्था कडा

कोरोना संक्रमणले महिलाको मृत्यु भएपछि सिन्धुपाल्चोकमा लकडाउनमा कडा पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए। मृतक महिलाको गाउँ बाह्रबिसे ९, बलेफी गाउँपालिका ७ र ८ मा सिल गरेर सेनासमेत परिचालन उनको भनाइ छ। 

महिलाको गाउँ र माइती गाउँका स्थानीयलाई घरबाहिर ननिस्कन आग्रह गरिएको बलेफी गाउँपालिका ८ का वडाध्यक्ष चरिबहादुर तामाङले जानकारी दिए। ‘कोरोनाको संक्रमण फैलन सक्ने भएकाले स्थानीयलाई वडा बाहिर ननिस्कनसमेत रोक लगाएका छौँ’, उनले भने। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.