|
फाइल फोटो

काठमाडौं : नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मंगलबार बिहान काठमाडौं आइपुगेको छ। चीनबाट स्वास्थ्य सामग्री ल्याएर विमानस्थलमा अवतरण गरिसकेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी दयानन्द केसीले बताए।

उनका अनुसार स्वास्य सामग्री लिनका लागि सेनाका प्रतिनिधिहरू आइसकेका छैनन्। ‘कति सामग्री आएको अहिले थाहा हुँदैन भन्सार गरिसकेपछि मात्र थाहा हुन्छ,’ उनले भने।

कोभिड- १९ रोकथामको लागि भन्सार महसुल छुट गराउन स्वास्थ्य मन्त्रालयको सिफारिस लिएर आएमा छुट हुने केसीले बताए। मास्क, स्यानिटाइजर र पन्जाको भन्सार महसुल छुट हुने उनले जानकारी दिए।

अर्थ मन्त्रालयले कोभिड १९ को स्वास्थ्य सामग्री ल्याउँदा भन्सार महसुल दर छुट गर्ने निर्णय गरिसकेको छ। अर्थ मन्त्रालयको पत्रअनुसार सेनाले स्वास्थ्य मन्त्रालयको सिफारिस ल्याएमा भन्सार छुट दिने थाहाखबरलाई बताए।

नेपाल एयरलाइन्सको वाइडबडीमा ती सामानहरू ग्वाङ्जाओबाट नेपाल ल्याइएको हो। नेपाल एयरलाइन्सको जहाज सोमबार चीन गएको थियो।

सेनाले यसअघि नै स्थलमार्गबाट शनिबार १० कन्टेनर बढी सामान ल्याइसकेको छ। ग्वाङजाओको विमानस्थल व्यस्त भएपछि ती सामान स्थलमार्गबाट भित्र्याइएको थियो।

मन्त्रिपरिषद् बैठकले चैत १६ मा सेनालाई सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत स्वास्थ्य सामग्री र औषधि खरिद गरेर ल्याउन जिम्मा दिने निर्णय गरेको थियो।

नेपाली सेनाले कोरोना भाइरस महामारीसँग जुध्न आवश्यक सामान खरिदका लागि चीनसँग १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलरको सम्झौता गरेको थियो। यसबाट करिब ३ सय ४१ टन चिकित्सकिय सामान नेपाल ल्याइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.