१३ जना आइसोलेसनमा

|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका २२ हजार ८ सय बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ। 

यस प्रदेशमा कोरोना परीक्षणका लागि फागुन १ गतेदेखि नमुना संकलन सुरु भएकोमा हालसम्म दुवै विधिबाट याे संख्यामा परीक्षण गरिएको हो। मंगलबारसम्म पिसिआर विधिबाट ३ हजार ७ सय ४५ जनाको र १९ हजार ५९ जनाको र्‍यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। 

२ सय ३८ जनाको रिपोर्ट आउन बाँकी छ। मंगलबार पिसिआर विधिबाट १ सय २ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ। 

मंगलबार एक सय ९९ जनाको आरडिटी परीक्षण गरिएको छ। पिसिआर प्रविधिबाट परीक्षण गरिएकामध्ये हालसम्म पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पुष्टि भएका पाँचै जना निको भएर घर गएका छन्। कोभिड–१९ लाई जित्दै अस्पतालबाट घर फर्किनेमा तीन पुरुष र दुई महिला छन्। घर फर्किने चार कैलालीका हुन् भने अर्का एक कञ्चनपुरका हुन्। 

हालसम्म आरडिटी गरिएकामध्ये ३६ जनामा पोजेटिभ देखिएको छ। जसमा २४ जनाको पिसिआर नेगेटिभ देखिएको जनाइएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार १२ जनाको पिसिआर परीक्षणको क्रममा रहेको छ।

कोरोना शंकास्पद १ सय ५७ बिरामी डिस्चार्ज 

सुदूरपश्चिमका विभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका एक सय ५७ जना डिस्चार्ज भएका छन्। प्रदेशभरका १५ वटा अस्पतालबाट अहिलेसम्म एक सय ५७ बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालबाट हालसम्म ५३ जना, डडेल्धुरा अस्पतालबाट २०, बयलपाटा अस्पतालबाट १७ र जिल्ला अस्पताल अछामबाट १४ जना, जिल्ला अस्पताल बझाङबाट ११ तथा महाकाली अस्पतालबाट ९ जना कोरोनाका शंकास्पद बिरामी डिस्चार्ज भएका छन्। 

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार जिल्ला अस्पताल डोटीबाट ७, जिल्ला अस्पताल बैतडी र गोकुलेश्वर अस्पतालबाट ५–५, जिल्ला अस्पताल बाजुरा र भजनी स्वास्थ्य केन्द्राबाट ४–४, चौमला स्वास्थ्य केन्द्रबाट ३, टीकापुर र जोगबुढा अस्पतालबाट २–२ जना र कोल्टी स्वास्थ्य केन्द्रबाट एक जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन्।

उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आइसोलेसमा राखिएको तर पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ।अहिलेसम्म सुदूरपश्चिका विभिन्न अस्पतालमा एक सय ६३ शैयाको आइसोलेसन स्थापना भइसकेको छ।

१३ जना आइसोलेसनमा

निर्देशनालयका अनुसार कोरोना आशंकामा मंगलबारसम्म १३ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ। टीकापुर अस्पतालमा ४, सेती प्रादेशिक अस्पतालमा ३, जिल्ला अस्पताल बाजुरामा ३ जना, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङमा र बयलपाटा अस्पताल अछाममा एक–एक जनालाई आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ।  

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा निर्माण भएका क्वारेन्टाइनमा एक हजार ६ सय ७९ जना बसिरहेका छन्। जसमा एक हजार ४ सय ५४ पुरुष छन् भने दुई सय २५ महिला छन्।

सुदूरपश्चिममा रहेका स्वास्थ्य कार्यालय र यहाँका पालिकाहरूमा ३ हजार ९ सय ६६ आरडिटी किट मौज्दात रहेको निर्देशनालयले जनाएको छ। सुदूरपश्चिममा एक हजार ६ सय ४९ भिटिएम मौज्दात छन्। सुदूरपश्चिममा एक हजार ७ सय ७५ भिटिएम किट मौज्दात छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.