|

लमजुङ : लमजुङ सदरमुकाम बेसीशहरमा कोरोना संक्रमित व्यक्तिको मृत्युपछि शव व्यवस्थापनको नमूना अभ्यास भएको छ। कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएको अवस्थामा पूर्व तयारी स्वरुप नेपाली सेनाले लमजुङ जिल्ला सामूदायिक अस्पताल परिसरमा त्यस्तो अभ्यास प्रदर्शन गरेको हो। 

जिल्लास्थित नेपाली सेनाको श्रीजङ गणले जिल्ला प्रहरी कार्यालय र लमजुङ जिल्ला सामूदायिक अस्पतालसँग समन्वय गरी शव व्यवस्थापनको नमूना अभ्यास गरेको छ। कोरोना संक्रमित व्यक्तिको मृत्युपछि पनि कोरोना संक्रमणको जोखिम हुने भन्दै त्यस्तो बेलामा अपनाइने उच्च सतर्कता विधिलाई नमूना प्रयोग गरी जिल्लाका सरोकारवालाहरुलाई देखाइएको हो।

सुरक्षा व्यवस्थापन बाहेक सेना तथा प्रहरीले गरेका आन्तरिक तयारीका बारेमा सरोकारवालाहरुलाई जानकारी गराउन नमूना अभ्यास गरिएको श्रीजङ गणका गणपती प्रमूख सेनानी जयराम थापाले बताए। 

नमूना अभ्यासका क्रममा अस्पतालमा नमूना आइसोलेसन कक्ष, नमूना शव बनाउनुको साथै प्रहरीले गर्ने शव मुचुल्कालगायतका सुरक्षा घेराको नमूना अभ्यास गरेको थियो। यसैगरी नेपाली सेनाले उच्च सुरक्षा सतर्कता अपनाउँदै शवको व्यवस्थापनका लागि नमूना विधिको प्रयोग गरेको थियो। 

गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडी, जिल्ला समन्वय समिति प्रमूख लोकराज पाण्डे, प्रमूख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्का, जिल्लास्थित सुरक्षा निकायका प्रमूखहरु, अस्पताल प्रमूख हेमन्त श्रेष्ठ लगायत जिल्लाका सञ्चारकर्मी एवम्‌ अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले नमूना अभ्यास अवलोकन गरेका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.