चालु वर्षको बजेट खर्च भएन, आगामी बजेट तयारीमा पनि समस्या

|
तस्बिर स्रोत : गुगल ।

गोरखा : जारी कोरोना भाइरस महामारी नियन्त्रण गर्न लकडाउन लगाइएपछि गोरखाको सबै स्थानीय तहको भौतिक पूर्वाधार निर्माण रोकिएको छ। चालु आर्थिक वर्षको काम अघि बढ्न नसकेका र आगामी आर्थिक वर्षका लागि योजना छनौट प्रक्रिया पनि सुरू हुन नसकेको गाउँपालिकाहरुले जनाएका छन्।

‘तीनवटा सडक कालोपत्रे गर्नुपर्नेछ, गोरखा दरबार बनाउनुपर्नेछ, तीनवटा स्वास्थ्य संस्थाको भवन बन्नुपर्नेछ, एउटा खानेपानी योजना सम्पन्न गर्नुपर्नेछ’, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त भन्छन्, ‘तर कामदार छैनन्, निर्माण सामग्री पनि छैन, कार्यक्षेत्र निरीक्षण अनुगमन गर्न सवारी साधन पनि चलाउन पाइएको छैन, भुक्तानीका लागि चेक काट्न बैंक पनि खुलेको छैन।’ यो वर्षको कार्यक्रम नै अघि बढाउन नसकेको र आगामी वर्षका लागि बजेट तथा कार्यक्रम बनाउने काममा समेत धक्का पुगेको उनी बताउँछन्।

‘अहिलेसम्म माथिबाट बजेट सिलिङ आएको छैन, टोलभेला गरेर योजना संकलन गर्नुपर्ने बेला हो, तर लकडाउनले गर्दा टोलवासी भेला हुने अवस्था छैन, योजना छनौट हुन सकेको छैन,' पन्त भन्छन्‌, 'नदीजन्य सामग्री उत्खनन, संकलनका लागि ठेक्का भइसक्यो, राजस्व संकलन भइसक्यो, तर लकडाउनका कारण ठेकेदारहरुले उत्खनन, संकलन गर्न नपाउँदा समस्या उत्पन्न भएको छ।'

चालु वर्षको वित्तीय समानीकरण, समपुरक अनुदान, राजस्व बाँडफाँट, ससर्त अनुदान, विशेष अनुदानको बजेट पूरा आएको छैन, अब आउन पनि सक्छ-नआउन पनि सक्छ’, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ भन्छन्, ‘चैतमा आउनुपर्ने बजेट सिलिङ जेठ पहिलो हप्ता भइसक्दा पनि आएको छैन, जेठ १० गतेभित्र चालु वर्षको विकासका कार्यक्रम सम्पन्न गर्ने र असार १० गतेभित्र नयाँ आर्थिक वर्षको बजेट ल्याउने भन्ने संविधानमै लेखिएको छ, दिनानुदिन लकडाउन झन कडा हुँदै जाँदा कसरी सम्भव हुन्छ?’ समायोजनपछि कर्मचारीको दायरा बढाएको र प्रदेश सरकारले जनप्रतिनिधिहरुको सेवा सुविधा थप गरेको, तर राजस्व बाँडफाँटको बजेट पूरै नआउँदा चालु खर्च पुर्‍याउन नसकिएको उनले बताए। यसबारे संघीय र प्रदेश सरकार दुवैले चासो नदेखाएको उनले गुनासो गरे।

शहीद लखन गाउँपालिकाले पनि चालु वर्षमा कूल बजेटको ५० प्रतिशत भौतिक प्रगति गरेको जनाएको छ, तर सम्पन्न भएको आयोजनाको ‘फिल्ड भिजिट गरी चेक बनाउन, नयाँ आर्थिक वर्षको बजेट बनाउन नसकिएको जनाएको छ। 

गाउँपालिकाका लागि विनियोजित ४३ करोड रुपैयाँ लकडाउनका कारण खर्च गर्न नसकिने बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए। ‘कतिपय योजना ठेक्का भएर सम्झौता हुन सकेका छैनन्, कतिपय सम्झौता भएर कार्यान्वयन हुन सकेका छैनन्’, भण्डारीले भने, ‘प्रशासकीय भवन, बहुउद्देश्यीय सभा हाल, पन्द्रुङको वडा कार्यालय, सांसद कोषको पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका सडक निर्माणका कामहरु सम्झौता भएर थन्किएर बसेका छन्।’ तेस्रो चौमासिकसम्म बजेट आएको, तर अन्तिम चौमासिकको निश्चित नभएको उनले बताए।

यो वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन अलपत्र परेको र आउँदो वर्षको नीति, कार्यक्रम सम्बन्धी मार्गदर्शन, बजेट सिलिङ प्राप्त नहुँदा अलमलमा परेको पालुङटार नगरपालिकाकी उपमेयर पम्फा बसेल बताउँछिन्। ‘५० प्रतिशत कार्यक्रमहरु सम्पन्न भएका छन्, भुक्तानीको चरणमा छौं, तर बैंक खुलेका छैनन्‌, सबै काम अधकल्चो भएर बसेका छन्’, उनले भनिन्, ‘टेण्डर खुलेका कति योजनाहरु पनि निर्माण सामग्री अभावले अघि बढाउन सकिएन, सम्झौता चरणमा पुगेकाहरु पनि रोकिएका छन्‌।’ विकास बजेटका लागि छुट्याइएको एक करोड रुपैयाँ पनि रकमान्तर गरेर कोरोना विपद व्यवस्थापन कोषमा प्रयोग भएको उनले बताइन्। उनका अनुसार चालु वर्षभित्र बनाउने भनिएको रंगशाला, चिस्यान केन्द्र र चार वटा सडक कालोपत्रे गर्ने काम अलपत्र परेको छ।

दुर्गम गाउँ धार्चेमाको पनि अवस्था उस्तै छ। विभिन्न कामले घर गएका कर्मचारी पनि फर्कन नपाउँदा धेरै कार्यक्रमहरु रोकिएको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ बताउँछन्। कर्मचारी नहुँदा सम्पन्न भएका काम पनि मूल्यांकन हुन नपाएको र रोकिएको उनले बताए।

विकास निर्माणको काम धमाधम सम्पन्न गरिसक्ने बेला लकडाउनका कारण अधकल्चो भएको भीमसेनथापा गाउँपालिकाका प्रमुख ईश्वर पाण्डे बताउँछन्। ‘यतिबेला त चालु वर्षका काम धमाधम फर्स्यौट चरणमा हुन्थे, नयाँ आर्थिक वर्षका लागि योजना छनौटको चरणमा हुन्थ्यौं’, पाण्डेले भने, ‘तर दुई महिना पुग्न लाग्यो, लकडाउनका लकडाउन छ, सम्पन्न भएका योजनाको भुक्तानी दिन पाएनौं, सम्झौता भएका योजनालाई अघि बढाउन सकेका छैनौं, नयाँ योजना छनौट गर्न पनि पाइएन।’ चालु वर्षको बजेट रकमान्तर गरेर प्रकोप व्यवस्थापन कोषमा लानुपर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.