मिचिएका भूभाग तत्काल फिर्ता गर्न आग्रह

|

इलाम : सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको नक्सा सार्वजनिक गरेकै दिने सत्ताधारी नेकपाकाे विद्यार्थी संगठन अनेरास्ववियू जिल्ला कमिटी इलामले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रगतले लेखिएको पत्र पठाएको छ।

अनेरास्ववियूका नौ जना विद्यार्थी नेताहरुले नेपालको मिचिएको सीमा फिर्ताको माग गर्दै उक्त पत्र इमेलमार्फत मोदी, नेपालस्थित भारतीय दूतावास र अन्य कूटनीतिक नियोगमा पठाएका हुन्।

कोरोना भाइरसका कारण रगतले लेखिएको पत्र तत्काल इमेल मात्र गरिएको अनेरास्ववियू इलामका जिल्ला सदस्य मिलन खत्रीले बताए। उनले भने, ‘प्रशासनमार्फत राजदूतलाई पठाउने तयारी गरिएको थियो,' तर अहिले इमेल गरेका छौं, पछि सक्कलप्रति अनेरास्ववियू केन्द्रीय कमिटीमार्फत पठाउछौं।’

पत्र अनेरास्ववियूका केन्द्रीय सदस्य रविन्द्र सुवेदी, जिल्ला संयोजक प्रवेश पराजुली, जिल्ला कमिटी सदस्यहरु मिलन खत्री, नारायण श्रेष्ठ, डिकेन्द्र दाहाल, सचिन रायमाझी, सुशान्त चापागाई, मनिषा अधिकारी र अर्जुन योङहाङको रगतले लेखिएको छ। भारतीय प्रधानमन्त्री मोदीको इमेल ठेगाना [email protected], भारतीय दूतावासको इमेल [email protected] र भारतको परराष्ट्र मन्त्रालय एवम् अन्य कूटनीतिक नियोगको इमेलमा पठाइएको खत्रीले जानकारी दिए।  

पत्रमा लेखिएको छ: 

‘महामहिम श्री नरेन्द्र मोदी, प्रधानमन्त्री भारत सरकार

प्रधानमन्त्री ज्यू ! हामी नेपाल र भारत बिचको सम्बन्ध अझै प्रगाढ होस् भन्ने चाहन्छौं। तर भारतले पटक-पटक नेपालको सीमा मिच्नु विस्तारवादी नीति प्रष्ट हुन्छ। तर्सथ नेपालको भारतले मिचेका कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्त, महेशपुर, सन्दकपुर, पशुपतिनगर, लगायतका भु-भाग तत्काल फिर्ता गरियोस्‌। यो नेपाली युवाको तातो रगतले लेखिएको पत्र हो। आशा छ : तपाइ हिंसामा विश्वास गर्नुहुन्न।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.