|
फाइल फोटो

सिर्जना अधिकारी (लमजुङ) : जाडो मौसम छल्नका लागि बेंसीतिर झारिएका भेडीगोठहरु पुनः लेक तीर फर्काइन थालिएको छ। हिमाली भेगबाट चिसो छल्नका लागि गाउँ र बस्ती नजिकै डाँडाकाँडाहरुमा आइपुगेका भेडीगोठहरु गर्मी बढ्न थालेपछि लेक र खर्कमा फर्कन थालेका हुन्। 

वैशाख अन्तिम सातादेखिनै भेडीगोठहरु लेकतर्फ लाग्न थालेको भेटेरीनरी अस्पताल तथा पशुसेवा केन्द्र लमजुङका प्रमूख डा. रुपेश श्रेष्ठले बताए। यसपटक कतिपय गोठहरुमा रहेका भेडा बाख्रालाई पिपिआर भ्याक्सिन लगाएर लेकतर्फ लगिएको उनले जानकारी दिए।

उत्तरपश्चिम लमजुङका भेडीगोठहरु मनाङ र कास्कीको सिमानासम्म पुग्ने गर्दछन्। दूधपोखरी नजिकैको थुर्जु लेक र लमजुङ हिमालको काख लगायतका ठाउँहरु भेडीगोठका लागि प्रख्यात छन्।

पश्चिम लमजुङको घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, उत्तरी लमजुङको सिउरुङ, ताघ्रिङ, भूलभूले, र उत्तर पूर्वी लमजुङको ईलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी लगायतका ग्रामीण क्षेत्रका बासिन्दाहरुका भेडीगोठ रहेका छन्। 

भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र लमजुङका अनुसार जिल्लामा ८० भन्दा बढी भेडीगोठ रहेका छन्। ती भेडी गोठमा २० हजारभन्दा बढी भेडाबाख्राहरु रहेको कार्यालयले जनाएको छ। 

लमजुङ हिमालको काखमा रमाएर बसेका भेडीगोठालेहरु पर्यटकीय मौसमको शुरुवातसँगै गाउँ झर्ने र मौसम शुरु भएलगत्तै पुनः उच्च पहाडी भेगका खर्कहरुमा पुग्ने गर्छन्‌।

उच्च हिमाली भेगहरुमा राम्रो चरन क्षेत्र र घाँसे मैदान भएको कारण बर्खाको मौसममा भेडीगोठलाई लेक तथा खर्कहरूमा पुर्‍याउने गरिन्छ। भेडीगोड भएका कृषकहरुले आफ्नो घरखर्च कटाएर नै लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.