|

ताप्लेजुङ : गाउँमा भएको झगडा मिलाएर कार्यालय फर्कँदै गर्दा ताप्लेजुङ खेवाङ प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) बालकुमार राईको बाटैमा मृत्यु भएको छ।

सुरुम्खिमको बुरुम्खिममा भएको झगडा मिलाएर फर्कँदै गर्दा  तावाखोला नजिक आइपुगेपछि राईलाई असहज महशुस भएको थियो। स्थानीयको घरमा पुगेका उनले वान्ता गरेको र लगत्तै निधन भएको जानकारी प्राप्त भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।

सदरमुकाम फुङ्लिङबाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलतर्फ प्रस्थान गरेको प्रजिअ निरौलाले जानकारी दिएका छन्‌। भोजपुरको लेकखर्क घर भई अहिले झापाको दमक बस्दै आएका ४२ वर्षीय राई केहि महिना अघि मात्र प्रहरी ईञ्चार्ज भएर खेवाङ पुगेका थिए।

बुधबार काठ र दाउराका लागि रुख ढाल्ने क्रममा फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बुको मयायमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सन्तबीर तबेबुङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिए। रुख काट्ने क्रममा रुखलाई बञ्चरोले हान्दा उछिट्टिएर सन्तबीरको पेटमा लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  

उता सिरिजङ्घा गाउँपालिका वडा नं ८ याम्फुदिनका एक युवक हराएको १८ दिनपछि मृत अवस्थामा फेला परेका छन्। प्रहरी निरीक्षक खड्काका अनुसार याम्फुदिनका २५ वर्षीय ग्याबु शेर्पा मृत भेटिएका हुन्।

बैशाख २१ गते दिउँसो घरबाट हिडेंका उनी घर फर्की नआएपछि उनका आफन्तले प्रहरीलाई जाहेरी दिएका थिए। उनको शव खोला किनारमा फेला परेको थियो। उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ।

यता मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवा लप्सीबोटेका २१ वर्षीय युवक केशव खवास मिक्वाखोला र मेरिङ्देन गाउँपालिकाको बीच भाग भई बग्ने मेवाखालामा बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.