कोभिड-१९ {अपडेट}

रूपन्देहीमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु

नेपालमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो

जेठ ८, २०७७

    बुटवल : गुल्मीका ४१ वर्षीय कोरोना संक्रमितको रुपन्देहीस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको छ। पछिल्लो मानवीय हताहतीसँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। 

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि गरेका गुल्मी मदाने गाउँपालिका-६ का ती पुरुषको उपचारकै क्रममा बिहीबार बिहान ७ बजेर १० मिनेट जाँदा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले थाहाखबरसँग बताए। ‘आज बिहान ७ बजेर १० मिनेटमा उनको मृत्यु भएको हो, शव व्यवस्थापनका लागि तयारी चलिरहेको छ,’ डा. चौधरीले भने। 

    यद्यपी, स्वास्थ्य निर्देशनालयले हरेक दिन गर्ने नियमित पत्रकार सम्मेलनमार्फत मृत्युको पुष्टि हुन बाँकी नै छ। अस्पतालले भने केही बेरमा नै आधिकारिक जानकारीसहित विज्ञप्ती जारी गर्ने बताएको छ। 

    बिहीबार विहान मृत्युवरण गरेका संक्रमित जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका थिए। सुरूमा आईसीयूमा उपचाररत उनलाई कोरोना पुष्टि भएपछि अस्पतालकै भेन्टिलेटरमा राखिएको थियो। 

    क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एकहप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको चिकित्सकहरुले बताएका छन्। ज्वरो आएपछि गाउँकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा जाँच गराएका उनी त्यहाँ सञ्चो नभएपछि मोटरसाइकल चलाएरै अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा पुगेका थिए। त्यहाँ स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई मणिग्रामको क्रिमसन अस्पताल रिफर गरिएको थियो। 

    यसअघि बुधबार नै सामाजिक विकास मन्त्री सुदर्शन बराल र तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई उद्धृत गर्दै थाहाखबरसहित केही सञ्चारमाध्यमहरुमा संक्रमितको मृत्यु भएको भन्ने समाचारहरु प्रकाशित भएका थिए। उक्त कुरालाई खण्डन गर्दै अस्पताल प्रशासनले बुधबार मध्यान्हमा अस्पतालले विज्ञप्ती जारी गर्दै बिरामीको मृत्यु नभएको, तर अवस्था गम्भीर रहेको बताएको थियो। 

    बिहीबार अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य महाशाखा प्रमुख डा. चौधरीले थाहाखबरसँग पुष्टी गरेका हुन्। संक्रमितको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। 

    यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो।

जीवराज चालिसे

चालिसे थाहा खबरका रुपन्देही समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]