|
तस्बिर सौजन्य : पत्रकार सिताराम गुरागाईं

ताप्लेजुङ : चीनको तिब्बत स्वायत्त क्षेत्रले ताप्लेजुङ जिल्लालाई दिने स्वास्थ्य सामग्री बुझ्न गएको सहायक प्रमुख जिल्ला अधिकारी सहितको टोली ओलाङ्चुङगोलामा रोकिएको छ।

तिब्बत सरकारले दिने सामग्रीको टुङ्गो लागि नसकेको र मौसममा समेत खराबी आएकाले सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडासहितको टोली गोलामै रोकिएको टोलीमा सहभागी पत्रकार सिताराम गुरागाईंले जानकारी दिए।

पत्रकार गुरागाईका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी सहित जिल्ला समन्वय समितिका अधिकृत गणेश अधिकारी र भरीयाको टोली गोलामै रोकिएका छन्। ‘ताप्लेजुङको टोली गोलामा छ, तिब्बतले दिने सामानको टुङ्गो लागेको छैन, तिब्बतका डिएसपीसँग कुरा गर्दा मिलाउँदै छौँ भनेको छ।’ पत्रकार गुरागाईंले भने ‘अबउसले खवर गरेपछि मात्रै हामी टिपताला जान्छौँऽ यहाँ पानी पनि परिरहेको छ।’ टिपताला ओलाङ्चुङ गोलाबाट २५ किलोमिटरको दुरीमा छ।

सामानका लागि सहजीकरण गरेका फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङका अनुसार टिपताला नाकामा अहिलेपनि हिउँ अत्याधिक रहेकाले समस्या भएको हो। ओलाङचुङगोला निवासी छेतेनले सामानका लागि सहजीकरण गरिरहेका छन्। ‘चीनबाट त त्यहाँको मेसिनले बाटो सफा गरेर ल्याउन सक्ला, तर यताबाट टिपताला पुग्नै मुस्किल हुन्छ,’ वालुङले भने, ‘उताबाट सामान के-के पठाउने भन्ने पनि निश्चित भएको छैन।’ यसअघि चीनले मे २१ तारेख (आज) का दिन द्विदेशीय सिमाना टिप्ताला भञ्ज्याङसम्म सामान ल्याइदिने जनाएको थियो।

चीनले दिने सामानमा आरडिटी कीट, पीपीई, थर्मल गन, एन-९५ मास्क, सर्जिकल मास्क र सेनिटाइजर रहेको बताइएको छ। सामान बुझ्नका लागि जिल्लाका सरकारी अधिकारी आइदिन चीनले गरेको आग्रह अनुसार जिल्ला प्रशासन कार्यालयले सहायक प्रजिअ नेतृत्वको टोली खटाएको हो।

चीनले यसअघि पनि सिमावर्ती ओलाङचुङगोला र याङमाका बासिन्दाका लागि स्वास्थ्य र खाद्य सामग्री सहयोग गरेको थियो। सहयोग गरिएको ती सामानसमेत टिप्ताला भञ्ज्याङमै रहेको छ। हिउँका कारण सामान गोलासम्म ल्याउन नसकिएकाले खाद्य सामग्री सिमानामै रहेको छेतेनले बताए। स्वास्थ्य सामग्री भने गोलाले ल्याइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.