पहिलो चरणमा आरडिटी परीक्षण हुँदै
पहिलो चरणमा आरडिटी परीक्षण हुँदै
सुर्खेत : भारतका विभिन्न ठाँउबाट १ हजार ९ सय ३० जना बिहीबार कर्णाली प्रदेश भित्रिएका छन्। बुधबार रातिदेखि उनीहरु कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबई आइपुगेका हुन्।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीका त्यसरी भित्रिनेहरु अनुसार दैलेखका ८ सय २९, सुर्खेतका ४ सय ९६, सल्यानका ४ सय ५८, जाजरकोटका ८१, कालिकोटका ५४ र जुम्लाका ११ जना छन्।
उनीहरुलाई पहिलो चरणमा आरडिटी परीक्षण गरी सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा अनिवार्य रुपमा बस्ने व्यवस्था मिलाइएको मन्त्री भण्डारीले जानकारी दिए।
भारतबाट आएकाहरुको बबई, सुर्खेत र दैलेख र सुर्खेतको सिमानामा गरी तीन ठाउँमा पहिलो चरणमा आरडिटी परीक्षण हुने बताइएको छ।
कोरोना परीक्षणका लागि बबईमा आवश्यक उपकरण र किटसहित १६ जना स्वास्थ्यकर्मी खटाइएको छ। आरडिटी रिपोर्ट पोजेटिभ आए सुर्खेतमै राखी उपचार गरिने मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेश सरकारले सुर्खेतको भेरीगंगा नगरपालिकामा स्थापना गर्न खोजेको परीक्षण सेन्टर भने अलपत्र अवस्थामा परेको छ। कर्णाली प्रदेश छिर्ने मुख्य नाका बबईमा परीक्षण स्थल बनाउने ठाउँ नभएपछि प्रदेश सरकारले भेरीगंगाका मदानेचौरमा सेन्टर बनाउने तयारी थालेको थियो।
तर स्थानीयको विरोधपछि भने यो योजना अलपत्र अवस्थामा छ। यसबारे छलफल भइहरहेको मन्त्री भण्डारीले जनाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।