|

पर्सा : नारायणी अस्पतालमा नअटेर सिद्धार्थ स्कुलमा राखिएका कोरोना संक्रमितलाई गण्डक अस्पतालमा सारिएको छ। संक्रमित बिरामीलाई उपचार गरिरहेको पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा नअटेपछि २५ जना कोरोना संक्रमित सिद्धार्थ माविमा राखिएको थियो। 

यो अस्पतालको पनि स्वास्थ्य व्यवस्थापनको सबै पक्ष नारायणी अस्पतालले नै हेर्नेगरी बिशेष (अस्थायी) कोरोना अस्पताल बनाइएको छ। गण्डक अस्पतालको नाम पनि अब कोरोना संक्रमितको उपचार हुन्जेल अस्थायी रुपमा नारायणी अस्पतालकै नामले संचालन हुने भएको छ।  

पर्साको वीरगन्जमा २ दर्जन निजी अस्पताल छन्। तर कोरोना संक्रमितलाई उपचार गर्न गण्डक अस्पतालले मात्र स्थानीय सरकारसँग लिखित मन्जुरी जनाएको छ।गएको वैशाख ६ गते गण्डक अस्पतालले मन्जुरी जनाएको थियो। पछि केन्द्रको स्वीकृति र प्राविधिक कुरा मिलेपछि बल्ल नारायणी अस्पतालकै नामले गण्डक अस्पताल संचालनमा आएको हो। 

तत्काललाई यो अस्पतालको नाम नारायणी अस्पताल बिशेष कोरोना (अस्थायी) अस्पताल भएको छ।

एकै पटक २५ संक्रमित भर्ना

पहिलो चरणमा नै गण्डक अस्पतालमा २५ जना संक्रमित भर्ना गरिएको छ। थपिएका कोरोना संक्रमितलाई पनि अब गण्डक अस्पतालमा नै पठाइने नारायणी अस्पतालका चिकित्सकले बताएका छन्। अस्पतालमा ७० जनासम्म संक्रमितको उपचार गर्न सकिने गरी तयारी गरिएको गण्डक अस्पतालका संचालक रहवर अन्सारीले बताए। 

नारायणीलाई जनरल अस्पताल बनाउन दबाब 

पर्सा, बारा, रौतहट सर्लाही र भारतको पनि सीमा क्षेत्रका धेरै बिरामी आइपुग्ने नारायणी अस्पताललाई साविकझैं जनरल अस्पताल नै बनाउनुपर्ने चौतर्फी दबाब बढेको छ। 

नेपाली कांग्रेस पर्साले केही दिनअघि लकडाउनका समयमा पनि यो अस्पताललाई जनरल अस्पताल बनाउनुपर्ने मागसहित सडक संघर्ष नै गरेको थियो। जनता समाजवादी पार्टीका स्थानीय केही नेता यही विषयलाई लिएर अझै प्रत्येक दिन घरमै धर्ना बस्दै आएका छन्। 

स्थानीयको चौतर्फी दबाबपछि यहाँ उपचाररत ७१ जना बिरामी डिस्चार्ज भएलगत्तै नारायणी अस्पताललाई जनरल अस्पताल नै बनाउने तयारी भइरहेको छ। सोही कारण पनि केन्द्र सरकारसँग नेकपाका स्थानीय नेताहरुले पनि अस्थायी रुपमा अरु अस्पताललाई नै कोभिड अस्पताल बनाउन लबिङ गरिरहेका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.