घर फर्किन पाउनुपर्ने माग गर्दै पटक पटक प्रदर्शन गर्दै आएका थिए

|

दाङ : जिल्लाका विभिन्न इँट्टाभट्टामा काम गर्दै आएका करिब साँढे १२ सय भारतीय मजदुरलाई स्वदेश फर्काउन नेपालगन्जको जमुनाहा नाकामा पुर्‍याइएको छ।

दाङका मनकामना, राप्ती, बबई, अम्मर, शिवशक्ति, जलजला, गोल्डेन, शुभम्, सोनी, जेके, प्रविनलगायत इँट्टाभट्टामा काम गर्ने १ हजार २ सय ३३ जना मजदुरलाई पहिलो चरणमा पठाइएको हो। 

दाङमा इँट्टा उद्योगमा ५ हजार बढी मजदुर कार्यरत छन्। इँट्टा उद्योगमा काम गर्ने भारतीय मजदुरले घर फर्किन पाउनुपर्ने माग गर्दै पटक पटक प्रदर्शन गर्दै आएका थिए।

भारतीय सुरक्षा अधिकारीसँग कुरा भए पनि उनीहरूको घर फर्किन पाउनुपर्ने मागअनुसार बाँकेस्थित नेपाल–भारत सीमा नाकामा लगेर छोडिएको हो। उनीहरूलाई बुधबार राति २१ वटा बसमा लगेर छोडिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

गएराति मात्रै १ हजार २ सय ३३ जना भारतीय नागरिकलाई सीमा नाकासम्म पुर्‍याइएको छ। सीमा क्षेत्रका भारतीय सुरक्षा अधिकारीसँग कुरा गर्न प्रदेश ५ का प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक रवीन्द्रप्रसाद धानुक दाङबाट नेपालगन्ज गएका थिए। 

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक धानुकले भारतीय अधिकारीसँग कुरा गरेपछि भारतीय मजदुरलाई फिर्ता गर्ने निर्णय भएको हो। 

केही दिनअघि मजदुरहरुले घर फर्किन पाउनुपर्ने माग गर्दै घोराही क्षेत्रमा प्रदर्शन गरेका थिए। त्यसैगरी बुधबार साँझ भारतमा अलपत्र परेका दाङका ३ सय८० जनालाई जिल्ला ल्याएको छ। 

उनीहरुलाई सम्बन्धित स्थानीय सरकारको क्वारेन्टाइनमा राखिएको छ। जमुनाहा नाकामा आएका उनीहरुलाई सम्बन्धित स्थानीयतहको समन्वय दाङ ल्याएको थियो। साथै बिहीबार पनि भारतमा अलपत्र परेकाहरुलाई दाङ ल्याइँदै छ। अहिले भारतमा दाङका ७ हजार बढी मजदुर अलपत्र रहेका दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.