|

काठमाडौं : प्रदेश १ मा कोरोना संक्रमित बिरामीको संख्या बढदै गएपछि थप नयाँ कोभिड अस्पताल बन्ने भएको छ। मोरङको सुन्दरहरैचा नगरपालिकामा अवस्थित गोठगाउँ मेडिकल कलेजलाई कोभिड अस्पताल बनाउने तयारी गरिरहेको प्रदेश १ को जनस्वास्थ्य महाशाखाको कार्यालयले जनाएको छ।

यससँगै प्रदेश १ मा तीनवटा अस्पताल हुने भएको छ। हाल दुईवटा कोभिड अस्पताल सञ्चालनमा रहेको छ। सुनसरीको धरानस्‍थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पताललाई कोरोना उपचार केन्द्र बनाइसकिएको छ। सबै अस्पतालमा १ सय आइसोलेसन बेड राखेर संक्रमितको उपचार भइरहेको छ।

गोठगाउँ मेडिकल कलेजमा क्वारेन्टाइन पनि राखिएको छ त्यसै स्थानलाई कोभिड उपचार केन्द्र बनाउने तयारी गरिरहेको  प्रदेश १ का जनस्वास्थ्य महाशाखाका प्रमुख सुरेश मेहताले जानकारी दिए। उनका अनुसार गोठगाउँमा १ सय बेडको आइसोलेसन निर्माण हुन्छ। स्वास्थ्य महाशाखाको कार्यालय, मुख्यमन्त्री कार्यालय र सामाजिक विकास मन्त्रालयले आज त्यसको निरीक्षण गर्ने भएको छ।

डा.मेहताले भने, ’कोभिड अस्पताल सम्भवत भोलि या पर्सिदेखि सञ्चालनमा आउँछ। मेडिकल कलेज पहिले निर्माण भइसकेको छ। निर्माण भएको भौतिक पूर्वाधारलाई त्यहाँ व्यवस्थापन मात्र गर्ने हो।‘

उपलब्ध भएका भौतिक पूर्वाधारलाई व्यवस्थापन गरेर सञ्चालनमा राख्न लागिएको उनले बताए। पूर्वी पहाडी भेगमा कोभिड अस्पताल छैनन्, झापादेखि पनि उपचारका लागि ल्याउनु परिरहेको छ तिनीहरूलाई नजिक पर्ने भएकोले तत्कालको  लागि निर्माण गर्न लागेको उनको भनाइ छ। संक्रमितको संख्या बढदै गएकोले पनि अस्पतालको आवश्यकता महसुस गरेर नयाँ अस्पताल थप्न लागेको डा मेहताले थाहाखबरलाई बताए।

प्रदेश १ मा स्वास्थ्य उपचारका लागि अस्पतालको कुनै पनि समस्या नरहेको उनको भनाइ छ। ‘नेपालको सातवटा प्रदेशमध्येमा प्रदेश १ मा बढी स्वास्थ्योपचार केन्द्र रहेको  छ,’ उनले भने। आवश्यकता पर्नेबित्तिकै निजी स्वास्थ्योपचार केन्द्रलाई पनि कोभिड अस्पतालको रूपमा सञ्चालनमा ल्याइने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.