|

काभ्रे : धुलिखेल अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएकी महिलाका नवजात शिशु र आफन्तहरू स्वस्थ भएर घर फर्किएका छन्। धुलिखेल सामुदायिक अस्पतालको आइसोलेसन कक्षमा रहेका मृतक महिलाका नवजात शिशु, श्रीमान र आफन्त शुक्रबार अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन्।

सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिका-९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएपछि शिशु लगायतका आफन्तलाई आइसोलेसनमा राखिएको थियो। तर, उनीहरुको दुईपटकसम्म परीक्षण गर्दा पनि कोरोना संक्रमण नदेखिएपछि शुक्रबार डिस्चार्ज गरिएको अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजुले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिए।

 निर्देशक डा. माकजुका अनुसार शिशुमा हल्का जण्डिस र शरीरमा स–साना बिमिराको समस्या देखापरेकोमा अस्पतालका बालरोग विशेषज्ञहरूको उपचार पाएपछि त्यो पनि निको भइसकेको छ। त्यस्तै, मृतक महिलाको शिशु र आफन्तहरुको कोरोना परीक्षण नेगेटिभ देखिएको र अहिले सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

 एक हप्ता थप क्वारेन्टाइनमा राख्नुपर्ने

 अस्पतालबाट डिस्चार्ज भएका मृतकका शिशु र आफन्तलाई थप एक हप्ता सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राखिनेछ। महिलाको जेठ १ गते राति कोरोनाको कारण उपचारका क्रममा मृत्यु भएको थियो।

बाँकेका २१ जनाले जिते कोरोना, फूलमाला र खादा ओढाएर अस्पतालबाट बिदाइ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.