पर्सा : वीरगन्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पतालले आइसियू विभाग बन्द गरेको जनाएको छ। नारायणी अस्पतालमा आउने कोरोना बाहेकका बिरामीको समेत उपचार गर्ने अस्पतालले प्रतिबद्धता जनाएको थियो।
अस्पतालका निर्देशक प्रा.डा प्रमोद कुमार सर्राफले एक सूचना जारी गर्दै यसबारे सूचना दिएका हुन्। शुक्रबारबाटै तीन दिनसम्म आइसियू विभागमा कुनै नयाँ बिरामीलाई सेवा नसकिने सर्राफद्वारा जारी सूचनामा उल्लेख छ।
हरेक ३/३ महिनामा आइसियू विभागमा फ्युमिगेसन(कीटनाशक नियन्त्रण विधि) गर्ने गरिएकाले बन्द गरिएको जनाइएको छ। फ्युमिगेसन गरेको तीन महिना बितिसकेकाले ३ दिनसम्म आइसियू विभाग नै बन्द गर्ने जनाइएको छ। आइसियू विभाग शुक्रबारबाट एक्कासि बन्द हुँदा अस्पतालले पहिले सूचना जारी नगर्नुलाई स्थानीयले भने आशंका गरिरहेका छन्।
कोरोनाको कारण नारायणी अस्पतालमा नियमित सेवा लिइरहेका बिरामीसमेत गएको वैशाख २ गतेबाट नेसनलमा जाने स्थिति बनेको थियो। यो अवधिमा नारायणीबाट गएका बिरामीसँग नेसनलले दुरुस्त सेवा नदिँदा सवा महिनाको बीचमा ६ जना बिरामीको मृत्यु भएको स्थानीयको आरोप छ। बिहीबार मात्र एक २४ वर्षीय बिरामी डाइलाइसिसका क्रममा मृत्यु भएका पीडितले जनाएका छन् । मृतक कृष्ण ठाकुर रहेको खुलेको छ ।
डाइलाइसिस क्रममा बिरामी आइसियूमै भर्ना गर्नुपर्ने अवस्था आउने र त्यहीँ मृत्यु हुने गरेको पीडितले दाबी गरेका छन् । यो बहानाबाट बच्न पनि नेसनलले आइसियू कक्ष नै बन्द गरेको हुन सक्ने स्थानीयको आशंका छ।
तर कलेजको व्यवस्थापन पक्षले भने यो कुरा स्विकारेको छैन। ‘हाम्रो नियमित तालिकाअनुसार फ्युमिगेसनका लागि आइसियू कक्ष बन्द गरिएको हो।’ अस्पतालका निर्देशक प्रा.डा.सर्राफले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।