|

बाँके : बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका एक सङ्क्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ। नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ सङ्क्रमितमध्ये कोरोना पुष्टि भएसँगै गए राति फरार भएका एक जनालाई बिहान ३ बजे फेला पारी नेपालगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए। 

सङ्क्रमित पुष्टि भएपछि आइसोलेशन केन्द्रमा व्यवस्थापनका लागि नेपालगञ्जबाट एम्बुलेन्ससहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली नरैनापुर पुग्दा स्थानीयवासीले अवरोध गरेपछि शुक्रबार पुष्टि भएका सङ्क्रमित क्वारेन्टिनबाट बाहिर निस्किएका थिए। १२ जना सङ्क्रमितलाई गए राति करीब १२ बजे नेपालगञ्ज ल्याएर फरार सङ्क्रमित खोज्न खटिएको सुरक्षा टोलीले गाउँमै लुकेर बसेका अवस्थामा उनलाई बिहान  फेला पारेको प्रहरी उपरीक्षक वलीले बताए। 

उनले स्थानीयवासी र अन्य सरोकार भएकाहरुले असहयोग गर्दा नरैनापुरबाट सङ्क्रमितलाई ल्याउन पटकपटक अवरोध देखिए पनि आफूहरुले धैर्यपूर्वक काम गरिरहेको बताए। नरैनापुरको अर्को विद्यालयमा रहेका क्वारेन्टिनमा एकसहित शुक्रबार मात्रै नरैनापुरमा १३ र राप्तीसोनारीमा एक गरी बाँकेमा १४ सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। 

कोरोना महामारीको कठिन परिस्थितिमा स्वास्थ्य र सुरक्षाकर्मी तथा एम्बुलेन्स चालक जोखिममा परेर सङ्क्रमित पत्ता लगाउदै व्यवस्थापन गर्न खोज्दा बिरामीलाई क्वारेन्टिनबाट आइसोलेशन केन्द्र र अस्पतालसम्म ल्याउन सबैको साथ नपाउनु चिन्ताको विषय भएको उनको भनाइ छ। सदरमुकाम नेपालगञ्जबाट करबी ३५ किलोमिटर दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुर मात्रै ८७  सङ्क्रमित पुगेका छन्। 

कोरोना विजेतालाई गाउँमा स्वागत 

एक्काइस सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरेर  घर फर्किँदा नेपालगञ्जको जोलाहनपूर्वा टोलमा खुशियाली छाएको छ। बाइसौँ दिनमा कोरोना परास्त गरी खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालबाट शुक्रबार घर पुग्दा नेपालगञ्जको पहिलो कोरोना खतरा क्षेत्र बन्न पुगेको जोलाहनपूर्वावासीले हर्षका साथ स्वागत सम्मान गरेका थिए। 

टोलका सबैजना एकसाथ घर फर्किँदा टोलवासीमा कोरोनाको त्रास हटेर खुशीको वातावरण सिर्जना भएको स्थानीयवासी नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वउपप्रमुख समसुद्दिन सिद्दिकीले बताए। एकैसाथ धेरै सङ्क्रमित हुँदा निराश र त्रासमा रहेका घरपरिवार र टोलवासी बिरामी निको भएर घर फर्किँदा रमजान पर्वको पूर्वसन्ध्यामा खुशी साटासाटसमेत गर्ने वातावरण बनेको उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.