|

गुल्मी : गाउँका उत्पादन योग्य जमिन बाँझै छन्, युवाहरु रोजगार पाइएन, बेरोजगार भइयो भन्दै भौँतारिएको पाइन्छ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण र देशमा लकडाउन भएसँगै शहरका युवाहरु पनि यतिखेर गाउँमै आइपुगेका छन्‌।

बेरोजगारी र जमिन बाँझो हुने समस्यालाई मध्यनजर गर्दै गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ३ पिपलधाराका युवाहरु सहकारी नै गठन गरेर सामुहिक कृषि खेतीतर्फ लागेका छन्। उनीहरुले विगत १० वर्षदेखि बाँझो रहेको जग्गा सदुपयोग गर्दै खनेर कृषि कार्य सुरू गर्न थालेका हुन्।

पिपलधारा शुफ्लस्थित झाडी र बोट बिरुवा हुर्केर जङ्गल जस्तै भएको कुल २६० रोपनी जग्गामा अहिले झाडी सफाइको काम सकिन थालेको छ भने केही जग्गामा सुन्तला र कागती लगाउन खाडल तयार गर्ने, विभिन्न प्रजातिका बिरुवाहरु लगाउने, भैँसी र बाख्रा पालनको लागि खोर तयार गर्ने लगायतका कार्यहरु भइसकेका छन्।

पिपलधाराका युवाहरुले सिकर्मी डकर्मी बहुउद्देश्यीय सहकारी संस्था गठन गरी गाउँपालिकामा दर्ता गरेका छन्। अहिले सोहि सहकारीमार्फत उनीहरुले बाँझो जग्गा खनेर सुन्तला, कागती, मसलेदार खेती गर्ने तथा बाख्रा तथा भैँसी पाल्ने योजना बनाएका छन्।

२६० रोपनी जग्गालाई तीन भाग अर्थात तीन प्लटमा वर्गीकरण गरिएको छ। जसमध्ये दुई सय रोपनीमा छ हजार कागती लगाउने, ३० रोपनी जग्गामा तरकारी र मसलेदार खेती तथा बाँकी ३० रोपनी जग्गामा ओखर खेती गर्ने योजना रहेको सहकारीका अध्यक्ष ज्ञानबहादुर विश्वकर्माले जानकारी दिए। केहि रोपनी जग्गामा गोठ र खोर निर्माण गरी पाचँ भैँसी र ६० बाख्रा व्यवसायिक रुपमा पाल्न सुरू गरिएको छ। आगामी दिनमा फर्ममा १० भैँसी र एक सय बाख्रा पुर्‍याउने लक्ष्य रहेको अध्यक्ष विश्वकर्माले बताए।

दैनिक ४० जनालाई रोजगार

पिपलधाराकी स्थानीय ३५ वर्षीया विष्णी विकलाई आजकाल खासै फुर्सद हुँदैन। पहिले घरमै फुर्सदिलो हुने गरेकी उनलाई सहकारीले काम सुरू गरेदेखि उनी पनि मजदुरी गर्न जान थालेकी छिन्। उनले खाडल खन्ने, झाडी सफाई गर्नेलगायतका काम गर्छिन। काम गरेबापत नास्ता खाएर उनको हातमा दैनिक चारसय रुपैयाँ पर्छ।

उक्त रकमले घरखर्च चलाउन सहयोग हुने उनले बताइन्। ‘श्रीमान पनि दैनिक ज्यालादारीमा काम गर्नुहुन्छ, मैले पनि यहाँ काम सुरू गरेकी छु।’ उनले भनिन्, ‘घरखर्च चलाउन, छोराछोरीको पढाई खर्च लगायतका कार्यमा सहज होस् भनेर काममा आएकी हुँ।’ त्यसका साथै उनले गाउँमै काम पाएकोमा खुसी व्यक्त गरिन्। उनीजस्तै दैनिक ४० सयदेखि १५० जनासम्मलाई अहिले सहकारीले दैनिक रोजगारी प्रदान गर्दै आएको छ।

सहकारीद्वारा सहजीकरण

सहकारीले लिजमा लिएको जग्गामा कुल १७ जना जग्गाधनी छन्। १५ वर्षसम्म सहकारीले कुनै पनि रकम जग्गाधनीलाई नदिने र १५ वर्षपछि जस्ताको तस्तै जग्गाधनीलाई सहकारीले जग्गा हस्तान्तरण गर्ने सम्झौता भएको छ।

केहि जग्गाधनीले सहकारीमार्फत आफ्नो जग्गामा आफै काम गरेका छन् भने केहिले अरुको जग्गा भाडामा लिएर पनि गरेका छन्। लक्ष्मी विकका श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा कतारमा छन्। लकडाउनले गर्दा श्रीमानले पनि काम गर्न पाएका छैनन्। उनीसँग भएको साढे पाचँ रोपनी जग्गामा उनी आफैँले सहकारीमार्फत कागती लगाउने योजना बनाएकी छिन्।

‘हाम्रो जग्गाबाट उत्पादित कृषिजन्य सामग्रीको नाफा केही प्रतिशत सहकारीमा राखेर बाँकी आफै लिन्छौँ,’ उनले भनिन्, ‘सहकारीले मल, बीउ लगायतका कुरामा सहजीकरण गरेको छ।’ त्यसका साथै उनले सहकारीमार्फत काम गर्दा काममा समेत उत्साह आउने कुरा बताइन्। तर आफ्नो जग्गामा सम्बन्धित जग्गाधनीले काम नगर्नेहरुको जग्गामा भने सहकारीका पाचँ जना सेयर सदस्यले ५० लाख रुपैयाँ बराबरको लगानी गरेर काम सुरू गरेका छन्।

बाँझो जग्गामा कफिदेखि कागतीसम्म

लकडाउन भएसँगै जिल्लाका अन्य ठाउँका बाँझो जग्गा खनिन थालेका छन्। त्यसरी खनिएका जग्गामा कागती, सुन्तला, कफि लगायतका बोट बिरुवा लगाउने योजना बनाइएको छ।

जिल्लाको मुसिकोट नगरपालिका आँपचौरमा बाँझो जग्गा खनेर २० हजार कफिका विरुवा लगाउने योजना छ। जसको लागि अहिले झाडी सफाइको कार्य चलिरहेको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए।

मालिका गाउँपालिका ६ अर्जैमा ३२ रोपनी बाँझो जग्गा खनेर नगदेबाली लगाउने योजना रहेको छ। उक्त जग्गामा लागि पनि अहिले झाडी सफाई गर्ने, मल तथा प्राविधिक जाँच गर्ने काम चलिरहेको वडाध्यक्ष शोभाखर गिरीले बताए।

उक्त जग्गा अर्जैस्थित रानीपोखरी कृषि बहुउदेश्यीय सहकारी संस्थाले १५ वर्ष भाडामा लिएर प्याज, लसुन, कागती, हलेदो लगायतका नगदेबाली लगाउने योजना बनाएको छ। अर्जैमै थप १२० रोपनी जग्गामा कागती खेती गर्नको लागि २८ सय खाडल तयार पारिएको वडाध्यक्ष गिरीले जानकारी दिए।

अनुदानका फरक नीति

जिल्लामा कृषि र कृषिजन्य सामग्रीको उत्पादनमा बृद्धि गर्न जिल्लाका स्थानीय तहले फरक–फरक नीति अपनाएका छन्।

धुर्कोट गाउँपालिकाले बाँझो जग्गा खन्नेलाई अनुदानको व्यवस्था गरेको छ। गाउँपालिकाले गरेको निर्णयअनुसार सुन्तला, कागती लगायतका अन्य फलफुल खेती गरेबापत प्रति रोपनी तीन हजार र अन्नबाली तथा तरकारी वा मसलेदार खेती गरेमा प्रति रोपनी चार हजार रुपैयाँ अनुदान उपलब्ध गराउने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए।

चन्द्रकोट गाउँपालिकाले बाँझो जग्गाको तथ्याङ्क लिने योजना बनाएको छ भने खेती गर्ने कृषकलाई पनि तीन भागमा विभाजन गर्ने भएको छ। व्यवसायिक, न्यूनतम र व्यक्तिगत खेतीको रुपमा विभाजन गर्ने र त्यसैका आधारमा अनुदानको व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष दोर्ण खत्रीले बताए।

मालिका गाउँपालिकाले कृषि कार्य गर्नेहरुको लागि प्रति कलस्टर ७२ हजार रुपैयाँका दरले अनुदानको व्यवस्था गरेको छ। त्यस्तै बीउ, कम्पोष्ट मल गाउँपालिकाले नि:शुल्क प्रदान गर्ने र अर्को वर्षबाट बिरुवा हेरचाहको लागि प्रति बिरुवा एक सय रुपैँया अनुदान प्रदान गर्ने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए।

मुसिकोट नगरपालिकाले जग्गा भाडामा लिएर कृषि खेती गर्नेहरुको लागि जग्गा भाडामा ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ। कृषि औजार, हाते ट्याक्टर, सानो मिल, बीउ, बिरुवा लगायतका सामग्रीमा ५० प्रतिशत अनुदान प्रदान गर्ने नगरप्रमुख सोमनाथ सापकोटाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.