भागेर हुँदैन, कोरोनासँग लड्नैपर्छ

|

दाङ : दाङको तुलसीपुर १७ बेलझुण्डी दाङमा प्रदेश ५ सरकारले कोरोना संक्रमण भएका बिरामीहरूको उपचारको लागि एक सय बेडको  कोरोना विशेष अस्पताल स्थापना गरेको छ। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर विधीबाट स्वाब संलकन गर्ने र  रिपोर्ट पोजेटिभ आएमा ती बिरामीहरूलाई कोरोना विशेष अस्पतालमा उपचार गर्ने व्‍यवस्था गरिएको छ।

अहिले उक्त अस्पातलमा दाङका २ जना, बाँकेका ८ जना र कपिलवस्तुका ६ जना गरी अस्पतालमा उपचार हुँदैछ। कोरोनाका कारण विश्वमा धेरै स्वास्थ्यकर्मीहरूले बिरामीको उपचार गर्दागर्दै कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। साथै नेपालका केही स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना विशेष अस्पातलमा जिल्ला बाहिरबाट बिरामीहरू ल्याउँदा समय विरोध भएको थियो।

आफ्नो ज्यानको बाजी राखेर दिनराती नभनी नागरिकको सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरूलाई विभिन्न समयमा आत्माग्लानी हुने कार्य भइरहेको खण्डमा कोरोना विशेष अस्पताल बेलझुण्डीका प्रमुख डा. सर्वेश शर्मासँग थाहाखबर दाङ सहकर्मी विकास डाँगीले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश :

अस्पतालको संरचना कस्तो छ। उपकरणहरू प्राप्त छन् त?

केन्द्रीय आयुर्वेद विद्यापीठको (केन्द्र आयुर्वेद मेडिकल क्याम्पस)को भवनमा एक सय बेडको आइसोलेसन अस्पताल स्थापना स्थापना भएको हो। कोरोना विशेष अस्पताल भएकाले ७ वटा आईसियु, ३ वटा भेन्टिलेटर सहित एक सय बेडको हो। एक सय बेडको भएता पनि बिरामीको चापअनुसार ३० बेड, ६० बेड र एक सय बेडमा जाने अवधारणा रहेको छ।

३० बेड भरिए भएपछि ६० बेडमा जाने त्यो पनि भरिए एक सय बेडमा जाने हो। अहिले ३० बेडको संरचनालाई पुग्नेगरी स्टापहरू अस्पतालमा छन्। त्यसैगरी अस्पतालमा उपचारको क्रममा कुनैको मृत्यु भएमा शव व्‍यवस्थापन गर्नेका लागि एउटा  शववाहनको व्‍यवस्था गर्ने निर्णयसमेत भएको छ।

अस्पतालमा अहिले कति जना बिरामीहरू छन्। उनीहरूको अवस्था कस्तो छ?

दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अहिले दाङ गढवाका २ जना, बाँकेका ८ जना र कपिलवस्तुका ६ जना गरी १६ जना बिरामीहरू छन्। उनीहरूको अवस्था अहिलेसम्म सामान्य नै छ। कुनैलाई कुनै लक्षण देखिएको छैन। दाङका २ जना, बाँकेका ८ जना र कपिलवस्तुका ३ जनालाई शुक्रबार राति ल्याएको हो,भने फेरि कपिलवस्तुका ३ जनालाई शनिबार दिउँसो ल्याएको हो। 

संक्रमित बिरामीहरूको उपचार कसरी गर्दै हुनुहुन्छ?

 अस्पतालमा भर्ना भएका बिरामीहरूको अवस्था स्वस्थ छ। उनीहरूको २/२ घण्टाको फरकमा चेकजाँच हुन्छ। उनीहरूलाई कोरोना लक्षण अहिलेसम्म देखिएको छैन, यदि कसैलाई ज्वरो आएमा, पखाला लागेमा त्यही अनुसारको उपचार हुन्छ।

उनीहरूको हरेका ४ दिनमा स्वाब संकलन गरी चेकजाँच गर्ने गर्दछौँ। त्यो रिपोर्ट नेगेटिभ आए फेरि एक दिन राखेर फेरि स्वाब चेक गर्ने  र रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गर्नेछौँ। साथै  कुनै पनि लक्षण नदेखिएका बिरामीहरूलाई तनावमुक्त र शारीरिक ब्यायामको लागी योगा कलास दिन लागिएको छ। साथै उनीहरूलाई आयुर्वेदिक औषधीहरूसमेत दिने गरेका छौँ।

 अस्पतालमा कति जना स्टापहरू छन्?

अस्पतालमा २ जना मेडिकल अफिसर डाक्टर, २ जना विशेषज्ञ डाक्टर, १० जना स्टाप नर्स र प्रत्यक्ष/अप्रत्यक्ष रुपमा अस्पतालमा सेवा गर्ने ४०/४५ जनाको टिम छ।

अस्पतालमा खटिएका स्वास्थयकर्मीहरूलाई सुरक्षा सामग्री कस्तो?

अस्पतालमा खटिएका स्वास्थ्यकर्मीहरूलाई सुरक्षित राख्नको लागि नेपाल सरकारले दिएको एन ९५ मास्क, करिब ढेड सयवटा पिपीई अहिले अस्पातलमा छन्। यदि त्यसले पनि पुगेन भनी सरकारसँग माग्ने निर्णय भएको छ। अहिलेसम्म प्राप्त नै छ। तर एक सय बेड भरिएमा थप माग्नुपर्ने हुन्छ। तर तत्काललाई स्वास्थ्यकर्मीहरूको लागि सुरक्षा सामग्री छ।

अस्पातलमा बाहिरबाट बिरामी ल्याउँदा विवाद भएको थियो नि?

प्रदेशमा ३ वटा कोरोना विशेष अस्पताल छन्। तीमध्ये सरकारले यस अस्पताललाई ‘क’ क्याटेगरीमा बनाएको छ। नेपालगञ्ज र बुटवलमा विरामीहरू भरिएका कारण त्यहाँका बिरामीहरू यहाँ उपचारको लागी आएका हुन्। 

उपचार सबैले पाउनुपर्छ, बाहिरबाट बिरामीहरू ल्याउँदैमा कोरोना सर्ने र नल्याउँदैमा नसर्ने भन्ने हुँदैन। संविधानमा पनि उल्लेख गरिएको छ, उपचार पाउने सबैको अधिकार हो। बाहिरबाट बिरामी ल्याउँदा सुरक्षित ढंगबाट ल्याइन्छ, फेरि हावाबाट संक्रमण हुँदैन, अस्पतालमा बिरामी आएक स्वास्थ्यकर्मीबाहेक अरू कोही जान पाउँदैन। हामीले वादविवाद गर्नुभन्दा पनि सबै मिलेर कोभिडविरुद्धको लड्न जरुरी छ।

तपाईहरू स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणका बिरामी उपचार गर्दा मनमा कस्तो लाग्छ?

मनमा डर त्रास हुन्छ, तर स्वास्थ्यकर्मी भइसकेपछि डराएर बिरामीको उपचार गर्दिनँ भन्न मिलेन। हाम्रो सुरक्षाको लागि सरकारले दिएको सामाग्रीहरू लगाएर गरिरहेका छौँ।  अस्पतालबाट नै सर्न सक्छ भन्ने पनि छैन, तर आफ्नो सुरक्षा सामाग्रीहरू लगाएर उपचार गर्दैछौँ। 

तपाईहरूलाई घरपरिवारबाट कस्तो प्रतिक्रिया आउँछ?

घर परिवारबाट तपाईंहरूको परिवारको जस्तै आउँछ। सकेसम्म सुरक्षित बस्न आग्रह गर्दछन्। पढेलेखेका भएता पनि उनीहरूलाई डर त्रास हुने गर्दछ।  अन्यभन्दा पनि स्वास्थ्यकर्मीलाई घर परिवार र बच्चाहरूलाई त्रास हुन्छ। बच्चाहरूले समेत सुरक्षित रहन आग्रह गर्दछन्। तर आफूले सुरक्षित तरिकाले काम गर्नुपर्दछ।

अस्पताल वरपरका स्थानयले कोरोना फैलिन्छ कि भन्ने त्रासमा छन् त?

अस्पतालबाट रोग फैलिँदैन, यदि अस्पतालबाट नै रोग फैलिए नेपालका सबै अस्पताल बन्द गरे हुन्छ।  अस्पतालहरूमा विरामीको उपचार गर्ने ठाउँ हो।  हामीले पनि ज्यान जोखिम राखेर विरामीहरूको उपचार गर्दै आएको छौँ।  अस्पतालबाट संक्रमण फैलिन्छ भन्दै हिँड्नु उचित होइन। अहिले सबैले मिलेर कोरोना विरुद्धको लडाइँ जित्नुछ। त्यसैले अस्पताल वरपरका मात्र नभई दाङबासी पनि त्रसित हुनु पर्दैन। बरु आम नागरिकहरूले लकडाउनको र सामाजिक दुरीको पालना गर्नु पर्दछ।

अन्तमा के भन्नु हुन्छ ?

कोरोनासँग भागेर हुँदैन, यसलाई जित्नको लागि लड्नु नै पर्दछ। सामाजिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने, धेरै भिडभाडमा नजाने, बिहान बिहान धेरै भिडभाड हुने भएकाले सामाजिक दुरी कायम गरेर मात्र काम गर्ने। सकेसम्म त घरबाहिर नआउने लकडाउनको पूर्णरूपमा पालना गरे हामी यस लडाइँलाई जित्न सक्छौँ। त्यसैले सम्पूर्ण दाङवासीलाई लकडाउन र सामाजिक दूरी पालना गर्न आग्रह गर्दछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.